इटहरी । दोस्रो लहरको कोरोना महामारीमा कालोबजारी गर्ने इटहरीका औषधि पसललाई जरिबाना तिराइएको छ । 

महामारीमा सर्वसाधारणलाई ठगी गर्ने विविता सर्जिकल हाउस र होम्ताङ आयुर्वेदिक औषधालय पोलिक्लिनिक कारबाहीमा परेका हुन् । इटहरीका अधिकांश औषधि पसलमा आफू खुसी मूल्यमा सेनिटाइजर र मास्क बिक्री गर्ने गरेको सूचनाको आधारमा अनुगमनको क्रममा जरिबाना तिराइएको हो ।

अनुगमनमा निस्केको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय सुनसरी, इटहरी उपमहानगर र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले दुईवटा पसललाई कारबाही गरेको हो ।

बजार मूल्यभन्दा बढी मूल्यमा सेनिटाइजर बिक्री गरेको भन्दै कारबाही गरिएको अनुगमन समितिले जनाएको छ । ‘महामारीमा कमाउधन्दामा लागेका ती दुई औषधि पसलले बजारको मूल्यभन्दा दोब्बर मूल्यमा सेनिटाइजर बेचेको पाइयो’–उपभोक्ता संरक्षण कार्यालयका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले भने ।

महामारीमा कालोबजारी गरेको हाम्रो ठहरसहित उनीहरूलाई जरिबाना तिराएको पोखरेलको भनाइ छ । मास्क तथा सेनिटाइजरमा अत्यधिक मूल्य वृद्धि गरेर बिक्री वितरण भइरहेको अनुगमन समितिले जनाएको छ । 

विवितालाई नगद दुई लाख रुपैयाँ जरिबाना गराइएको छ । उक्त पसलले भारतमा उत्पादन भएको सेनिटाइजर १ सय प्रतिशत भन्दा बढी नाफा राखेर बिक्री गरेको पाइयो ।

भारतीय बजारबाट ३९.३० रुपैयाँमा खरिद गरेको सेनिटाइजर ८० रुपैयाँमा बिक्री गरेको अनुगमनको क्रममा भेटिएको अनुगमन समितिले जनाएको छ ।

यस्तै कम्पनीको नाम एउटा भए पनि फरक–फरक नाम राखेर बिल विजक गर्ने गरेको भन्दै होम्ताङ औषधालय पोलिक्लिनिकलाई २० हजार रुपैयाँ जरिबाना गरिएको छ ।

अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय सुनसरीका अधिकृत त्रिलोचन न्यौपानेले यसअघि पनि औषधि पसलमा मास्क र सेनिटाइजरको अनुगमन गरिएको बताए ।

‘सेनिटाइजरमा ब्रह्मलुट भएको पाइयो’ न्पौपानेले भने, ‘हामीले यसअघि पनि इटहरीमा अनुगमन गर्दा बजार मूल्यभन्दा बढी मूल्यमा सेनिटाइजर बिक्री भएको पाएका थियौं ।’ 

बजारमा अस्वभाविक रूपमा मूल्य वृद्धि गरेर स्वास्थ्य सामग्री बिक्री गर्दै आएको भन्दै निरन्तर बजार अनुगमन गरिने इटहरी उपमहानगरपालिकाले जनाएको छ ।

महामारीमा मनपरी गर्नेहरूलाई कडा कारबाही गरिने इटहरी उपमहानगरपालिकाले जनाएको हो । महामारीमा बढी मूल्य नलिन उपमहानगरले निर्देशन दिएको छ । यता होम्ताङ आयुर्वेद औषधालयका सञ्चालक महेश थापाले भने बिलमा रहेको नाम र बोर्डमा रहेको नाम फरक परेकोले कारबाहीमा परेको स्वीकार गरे ।

‘पोलिक्लिनिक भनेर बिलमा लेखिएको छ, बोर्डमा औषधालय परेकोमा जरिवाना तिराइएको हो’ उनले भने, ‘हामीले कर छल्ने वा बढी मूल्यमा औषधि बेच्ने काम गरेका छैनौं ।’