प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विश्वास छ भन्ने कुराको पुष्टि नभए मार्गप्रशस्त गर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकका क्रममा छलफलमा उठेका प्रश्नहरुको जवाफ दिंदै प्रधानमन्त्री ओलीले भने, ‘संसदको विश्वास छ भन्ने कुराको पुष्टि हुँदैन भने संसदले फैसला गरोस् मैले सरकारको नेतृत्व गर्ने कुरामा संसदको आदेशसँगै मार्ग प्रशस्त हुन्छ । यो जालझेल तिग्डम होइन ।’ 

प्रधानमन्त्री ओलीले स्थायित्वका लागि संसदमा आएको बताए । संसदमा ओलीले सहमतिका लागि प्रस्ताव राख्दै भने, ‘सबैभन्दा ठूलो पार्टीको हैसियतले  संवाद सहमति र समझदारी र एकताका साथले अगाडि बढौं, हिजोका कुरा छाडेर अघि बढौं । हामी विल्कुलै टाढाटाढाका ध्रुवमा हुँदा एक ठाउँमा पनि भएकै हौं । एउटै व्यवस्थाभित्र छौं । हामी होडबाजीमा नजाऔं । खुट्टा तान्ने कुरा नगरौं ।’ 

देशको विकास शान्ति सुव्यवस्था सुशासन राष्ट्रिय एकताका साथ देशलाई समृद्ध बनाउने र नागरिकलाई सुखी बनाउने दिशामा अगाडि बढ्न प्रधानमन्त्री ओलीले आग्रह गरे । 

संसदमा उठेका प्रश्नको जवाफ दिने क्रमम प्रधान मन्त्री ओलीले भने, ‘विश्वासको मत माग्ने क्रममा राखिएका विचारले सबै दलमा स्पष्टता आयो भन्ने ठानेको थिएँ । लामै समय मस्काएर धोइएन भने जति सफा पानीले पखाले पनि जाँदैन । झुठ बोलेर, उत्तेजनात्मक कुरा गरेर देश यस्तो अवस्थामा भएका बेला वैमनश्यतातिर, कलहतिर लाने परिस्थिति होइन ।’ 

प्रधानमन्त्री ओलीले कतिपय सन्दर्भमा आफूले बोलेका कुरालाई अतिरञ्जित रुपमा उत्तेजनात्मक तरिकाले व्याख्या गरिएको प्रति दुःख व्यक्त गरे । उनले भने, ‘कतिपयका कुरा सुन्दा अचम्म लाग्यो । नेपालको राजनीति माखेसाङ्लो जस्तो जटिल भयो भनेको थिएँ । त्यसलाई उत्तेजनाको राजनीति बनाइयो ।’ 

प्रम ओलीले सत्यतथ्यमा आधारित जनतालाई सही सूचना दिनुपर्ने बताए । ओलीले भने, ‘जालझेल झुठ र प्रपञ्चको राजनीति गर्नु हुँदैन । कोही पूर्व–पश्चिम र पहाड मधेसको ठेकेदार हुन सक्दैन । हिजोका विभेदका गीत गाउने होइन, असमानता र भेदभावको अन्त्य गर्न सरकार लागेको छ । मिथ्या आरोपको खेती गर्ने होइन ।’ 

प्रधानमन्त्री ओलीले समृद्धितर्फको अभियान मजाकको विषय नभएको बताए । उनले यो टुक्का मिलाउने अभियान होइन भने । उनले संवैधानिक ढंगले संविधानको कार्यान्वयन गर्दा र संशोधन गर्दा नमिचिने बताए ।

विश्वासको मत दिन आग्रह

प्रधान मन्त्री ओलीले प्रतिनिधि सभाको बैठकका क्रममा छलफलमा उठेका प्रश्नहरुको जवाफ दिंदै आफूलाई विश्वासको मत दिन पुनः आग्रह गरे । विश्वासको मत नपाउला भन्ने नलागेको बताउँदै ओलीले भने, ‘मलाई त्यस्तो लाग्दैन तर कुरा सुन्दा हो कि जस्तो लाग्यो । आवश्यकता एकातिर र संसदीय गणितका बीच फरक हुन्छ । चुनाव हुँदा लोकतन्त्र संविधान खतरा पर्दैन ।’ 

प्रम ओलीले भीरका उँधोतिर हाम्फाल्ने अनि गुरुत्वाकर्षण लाई दोष लाउने परिपाटी ठीक नभएको बताउँदै संसदको स्थायित्वका लागि संसद बचाउन अनुरोध गरे । 

सरकारले काम गरेन नभन्नुस्

प्रधानमन्त्री ओलीले विरोधका लागि विरोध नगर्न आग्रह गरे । उनले सरकारले थोरै काम गर्यो । अझ थाप गर्नुपर्छ भन्ने सल्लाह दिनु उपयुक्त भए पनि सरकारले कामै गरेन भन्नु गलत भएको बताए । उनले विपक्षीको भनाइलाई व्यंग्य गर्दै भने, ‘पाप धर्मको खयाल हरायो मान्छेहरुको ।’

प्रम ओलीले २ पटकमा सरकारले २० लाख डोज खोप खरिद गरेको बताए । उनले ४ डलरका दरले सरकारले खोप किनेको बताए । ‘अरु किनेको छैन सार्वजनिक भएको कुरा हो । कमिसन खोरका बारे जानकारी भएन । जानकारी गराइदिनु कारबाही गर्छु,’ प्रम ओलीले भने, ‘अहिले ३ हजार प्सल आइसियु बेड छन्, हाइडिपेन्डेन्सी युनिट २ हजार मध्ये १८०० बेड स्थापना भएको छ । ११ सय भेन्टिलेटर छन् । २७ हजार प्लस बेड छन् । पालिका स्तरमा १५०० बेड छन् । जम्मा २७ हजार ५ सय बेड छन् । सरकारी बेड १६ हजार छन् । ८ हजार बेडमा मात्र बिरामी अस्पतालमा छन् । नयाँ बेड स्थापना गरिंदैछ । वीर अस्पतालमा ५ सय र  आर्मी क्याम महांकालमा ५ सय बेड तयार हुँदैछन्,’ प्रम ओलीले भने, ‘कोभिडका सम्बन्धमा सरकारले केही गरेन नभन्नुस्, सरकारले ध्यान देओस् भन्नुस तर सरकारले केही गरेन नभन्नुस् ।’

ओलीले धरहरा तयार नभई टुप्पोमा कसरी पुगें भन्दै प्रश्न गरे । धरहरातिर इंगित् गर्दै प्रतिपक्षले कतिपय संरचना निर्माण नभई उद्घाटन गरेको बताएपछि उत्तर दिंदै प्रम ओलीले भने, ‘२० तलामा पुगेर फूल वृष्टि गरेको थिएँ । धरहरा बनेको छैन भन्ने लाग्ने माननीय ज्यूलाई लाग्छ भने भोलि नै धरहरा पुग्नुस् ।’

उनले कार पार्किङ, गार्डेनलगायतको निर्माण हुँदै गरेको बताए । भने, ‘धरहरा तयार भइरहेको छ । किन दुःख मनाउ ?’ धरहराकै सन्दर्भमा प्रम ओलीले माधव नेपाललाई इंकित गर्दै उहाँलाई धरहरा देखाउनै नहुने हो र ?’

छातीमा हाते राखेर आफैंलाई सोध्नुस् भन्ने विपक्षीको प्रश्नको जवाफ दिंदै प्रम ओलीले भने, ‘हाड र छालाको स्पर्शमात्र होइन इमानको छातीमा हात राखेर तपाईंहरुले पनि आफैंलाई सोध्नुस् ।’ छातीमा हात राखेर ओलीले विश्वासको मत अस्थिरताका लागि होइन नमागेको बताए । सरकारको विरोध गरेको तर विकल्प नदिएको ओलीले बताए । 

‘इनफ इज इनफ भए लौ त इनफ’ प्रम ओलीले भने, कुराले चिउरा भिज्दैन ।’ उनले थपे, ‘हामीले स्थायित्व सहयात्रा र सहकार्य चाहेको हो भने, संवाद र सहमतिबाट गर्ने, सहमति भएन भने संविधानको बाटो खोज्नु पर्छ ।’