भोजपुर/ भोजपुरमा नेपाल पत्रकार महासंघको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । चैत्र २५ गते हुने निर्वाचनका लागि महासंघको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
महासंघ भोजपुर शाखाको बैठकले निर्वाचनका लागि जिल्लामा क्रियाशिल बरिष्ठ पत्रकार निरोज कोइराला मुख्य निर्वाचन अधिकृत रहने गरी तिन सदस्य निर्वाचन समिति गठन गरेको छ । समितिको निर्वाचन अधिकृतमा सुशील लामिछाने र कविता राई रहेको जिल्ला सचिव बुद्ध तामाङले जानकारी दिए ।
कार्यालय स्थापना भए सँगै निर्वाचनका लागि आवश्यक तयारी समेत शुरु गरिएको मुख्य निर्वाचन अधिकृत कोइरालाले बताए । महासंघको भोजपुर शाखामा ४६ जना पत्रकारको मतदाता सुची रहेको छ ।
जिल्ला तहका लागि आगामी चैत्र २२ गते मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरिएको महासंघका जिल्ला उपाध्यक्ष एक्सन राईले बताए । महासंघको आसन्न निर्वाचनमा जिल्लाका पत्रकार दुई खेमामा विभाजित भएका छन ।
निर्वाचनका लागि नेकपा एमालेको माधव पक्षको प्रेस चौतारी , नेकपा माओवादी केन्द्रको प्रेस सेन्टर नेपाल र नेपाली कांग्रेसको नेपाल प्रेस युनियन बिच गठबन्धन भएको छ । यता एमालेको ओली पक्षको प्रेस चौतारी र जनता समाजवादी पार्टीको प्रेस मञ्च बिच गठबन्धन भएको छ ।
अध्यक्ष पदका लागि महासंघका बर्तमान उपाध्यक्ष एक्सन राई र चित्राङगत चौलागाई बिच प्रतिस्पर्धा हुने चर्चा चलेको छ । राई माधव पक्षको चौतारी , प्रेस सेन्टर र युनियनको साझा उमेरदवार हुन भने चौलागाई ओली पक्षको चौतारी र प्रेस मञ्चको उमेरदवार बन्ने निश्चित भएको श्रोतले जनाएको छ ।