विद्युत् सर्ट भई धनकुटा नगरपालिका–७ मदनचोकस्थित हाम्रो बहुमुखी पाठशालामा आइतबार राति आगलागी भएको छ । 

आगलागीमा पाठशालाका सम्पूर्ण सामग्री जलेर ध्वस्त भएको छ । आगलागीबाट करिब ३५ लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

करिब रातको १–२ बजेको समयमा पाठशालाको क्याण्टिनबाट आगलागी सुरु भएको अनुमान गरिएको छ । पाठशालामा आगो कसरी लाग्यो भन्ने विषयमा अझै अन्यौल छ ।

विद्युत् सर्ट भएको अनुमान गरिए पनि हालसम्म यथेष्ट प्रमाण फेला पर्न सकेको छैन । आगो लागेसँगै ग्यास सिलिण्डर पड्किएपछि थप आगो लागेको स्थानीयले बताए । प्रत्यक्षदर्शी कञ्चनजङ्घा होटलका सञ्चालक गोरखबहादुर कट्वालले भने, ‘आफू सुतिरहेको बेलामा अचानक ठूलो आवाज आयो, के भएछ भनेर बाहिर निस्किएर हेर्दा हाम्रो बहुमुखी पाठशालामा हुरहुरी आगो बलिरहेको थियो ।’ उनले आफूले देख्नेबित्तिकै प्रहरी र दमकललाई फोन गरी जानकारी गराएको बताए । 

आगलागीबाट बहुमुखी पाठशालामा साउण्ड सिष्टम १० लाख, धनकुटा फिजिकल फिट्नेसले बहुमुखी पाठशालालाई प्रदान गरेको जिमका सामग्री ८ लाख, फाइबरको टपरी बनाउने मेसिन ६ लाख बराबरको जलेर खरानी भएको छ ।

त्यसैगरी बहुमुखी पाठशालामा नृत्यको लागि कलाकारहरूले प्रयोग गर्ने विभिन्न जातजातिको गरगहना, भेषाभूषा पनि जलेर नष्ट भएको जनाइएको छ । पाठशालमा रहेको जेनेरेटर, इन्भर्टर, हारमोनियम २ वटा, मादल, तबला, दराज २, शोकेस–२ थानलगायत वाद्यवादनको विभिन्न सामग्री जलेर नष्ट हुँदा साढे ३ लाखभन्दा बढी क्षति भएको पाठशालाका अध्यक्ष सरोज भुजेलले बताए ।

क्याण्टिनमा रहेको भाँडावर्तन, ग्यास चुला–२ थान, सिलिण्डर ३ थान पड्किएको, फर्निचर, पाठशालाको हलमा नृत्यको लागि राखिएको ऐना, तातोपानी तताउने मेसिन, ह्याचरी मेसिन १ लाख ५० हजार बराबरको जलेर नष्ट भएको छ । बहुमुखी पाठशालाको क्याण्टिनको काउण्टरमा राखिएको नगद ४५ हजारसमेत जलेर नष्ट भएको सञ्चालक धना श्रेष्ठले बताइन् । 

ह्याचरीमा रहेका जापानी वेल्डम जातको कुखुरा ४ वटा, बट्टाई ७५ वटा जलेर नष्ट भएको धनाको श्रीमान् सोभित श्रेष्ठले बताए । उनले ३ वर्षअघि सिएनबी धनकुटाले निर्माण गरेको घर ३ लाखमा खरिद गरेर बहुमुखी पाठशाला खोलिएको बताए । बहुमुखी पाठशाला खोलिएको जग्गा भने नर्वदेश्वर शिवालयको भएको र लिजमा लिएर सञ्चालन गरिएको सोभितले बताए । उनले आफूहरूको पाठशालामा रहेका लाखौं मूल्य पर्ने सरसामान जलेर नष्ट भएको बताए ।

आगलागी भएको स्थान नर्वदेश्वर शिवालय क्षेत्रमा रहेको र बस्ती कम भएको कारण धनकुटा बजारमा आगो सल्किने जोखिम कम भएको थियो । समयमा आगो नियन्त्रण हुन नसक्दा कञ्चनजङ्घा होटल, नेपाल पत्रकार महासङ्घ, उत्तम श्रेष्ठको घरलाई बढी जोखिम आइपर्ने अवस्था थियो ।

यदि आगलागी धनकुटाको व्यस्त बजारमा हुनु हो भने सिङ्गो धनकुटा बजार आगलागीको जोखिममा पर्ने अवस्थामा थियो । आगलागीपछि सोमबार बिहान प्रदेश सांसद् निरेन राई, प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठ, प्रहरी प्रमुख एसपीब गोविन्द अधिकारी, धनपा–७ का वडाध्यक्ष जङ्गबहादुर आठपहरियालगायतले स्थलगत निरीक्षण गरिसकेका छन् ।