सर्वोच्च अदालतको निर्णयले नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै यथावत् रहने अवस्था सिर्जना गरिदिएपछि धरानमा समेत दुई पार्टीले आआफ्नै पार्टी कार्यालय स्थापना गरेका छन् ।
नेकपा एमाले धरानले नयाँ साइनबोर्ड राखेको छ ।
एकीकरणपछि नेकपा बनेको पार्टीले धरान १ छाताचोकस्थित साविक एमालेको पार्टी कार्यालयलाई प्रयोग गरेको थियो । आइतबार सर्वोच्च अदालतको निर्णयले नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै यथावत् रहने अवस्था सिर्जना गरिदिएपछि माओवादी केन्द्र अलग्गिएको छ ।
एमाले पार्टी कार्यालयको बोर्डको अनावरण ओली पक्षका केन्द्रीय सदस्यद्वय मुरारी सुवेदी र मोतीराज सुनुवारले गरे । माओवादी केन्द्रले समेत साविक धरान १४ स्थित पेरिस खोल्सीमा बोर्ड राखेर कार्यालय सञ्चालन गरेको छ ।
यसअघि छाताचोकस्थित पार्टी कार्यालयमा प्रचण्ड–माधव पक्षबाट बिदा लिएर आएको एमालेले साइनबोर्ड राखेको थियो । साइनबोर्ड अशुद्ध भएपछि ओली पक्षले बोर्डलाई परिवर्तन गरेको थियो । औपचारिक कार्यक्रम आयोजना गरी साइनबोर्ड राखेको पार्टीले महिला, मजदुर, युवा, विद्यार्थीलाई सहभागिताका लागि अनुरोध गरेको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य मुरारी सुबेदीले पार्टीका संगठनहरु विस्तार हुँदै गएको र त्यसैमा सबै नेता कार्यकर्तालाई अटाउने र स्वागत गर्ने बताए । उनले नेकपा एमालेले तीव्र रुपमा संगठन विस्तारका काम अघि बढाएकाले पार्टीलाई बलियो बनाउन सबैले भूमिका खेल्नु पर्ने बताए ।