सर्वोच्च अदालतको निर्णयले नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै यथावत् रहने अवस्था सिर्जना गरिदिएपछि साविकका आआफ्नै पार्टी कार्यालय स्थापना हुन थालेका छन् ।
सुनसरीको इनरुवास्थित नेकपाको पार्टी कार्यालयबाट माओवादी केन्द्र बाहिरिए पछि नेकपा एमालेको कार्यालय स्थापना भएको छ ।
सर्वोच्च अदालतको फैसलाबारे छलफल गर्न पेरिस डाँडामा बसेको प्रचण्ड माधव समूहको बैठकले साविक एमाले र साविक माओवादी केन्द्र अलग भएर जाने निर्णय गरेपछि यसको कार्यान्वयन जिल्ला तहमा पनि देखिएको छ । केन्द्रको फैसला नेकपाको सुनसरी जिल्ला नेतृत्वले सदर गरेको छ ।
फैसलाअनुसार माओवादी केन्द्रले साविक एमालेका सुनसरी अध्यक्ष रमेश बस्नेतलाई जिम्मेवारी सुम्पेर पार्टी कार्यालयबाट बिदा लिएको छ । सो पार्टी कार्यालय विगतमा नेकपा एमालेको कार्यालय रहेको थियो ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र २०७५ जेठ ३ गते एकीकरण भएर नेकपा गठन भएको थियो । सुनसरीमा २०७६ जेठ ६ गते जिल्ला कमिटी गठन भएपछि साविक एमालेको पार्टी कार्यालय नै नेकपाको भएको थियो ।
नेकपा माओवादी केन्द्र र नेकपा एमाले अलग अलग हुने निर्णय अनुसार पद बहालि र जिम्मेवारी आदानप्रदान सुनसरीमा समपन्न गरियो
Posted by Ramesh Basnet on Monday, March 8, 2021
आजबाट पुर्ववत अवश्थामा नेकपा एमालेकाे साईन बाेर्ड राखी आपसमा विदाई हुने काम भयाे
Posted by Ramesh Basnet on Monday, March 8, 2021
इटहरी एमाले स्थापना
राष्ट्रिय युवा संघ नेपाल इटहरी उपमहानगर कमिटीले इटहरी ६ स्थित पार्टी कार्यालयको बोर्ड परिवर्तन गरेको छ । पार्टी कार्यालयमा रहेको नेकपाको बोर्ड हटाएर युवाहरुले नेकपा(एमाले)को बोर्ड राखेका छन् । पार्टीको काम, कारबाही अबदेखि सोही कार्यालयबाट हुने पनि युवा संघले विज्ञप्तिमार्फत् जनाएको छ ।
संघका इटहरी अध्यक्ष कमल दाहालले विज्ञप्ती जारी गर्दै बोर्ड राख्ने, कार्यालय खोल्ने, राष्ट्रिय युवा संघ नेपालको नगर कार्यालयसमेत सञ्चालनमा ल्याइएको जानकारी दिए ।
धरान एमाले स्थापना
सर्वोच्चकाे फैसला र पार्टी स्थायी कमिटीकाे निर्णय अनुसार नेकपा धरानकाे कार्यालय समितिकाे अन्तिम बैठक.... नेपाली...
Posted by Chotlung Chotlung on Monday, March 8, 2021
साविक नेकपा एमालेले धरानस्थित पार्टी कार्यालयमा नयाँ बोर्ड राखेको छ ।
अदालतको फैसला र नेकपाको अन्तिम बैठकको निर्णय पछि दुवै पक्षले आफ्नो पार्टीको संरचना निर्माणको काम सुरु गरेका छन् ।
एमालेले साविकको पार्टी कार्यालयमा आफ्नो साइनबोर्ड राख्ने अभियानको निरन्तरताअनुसार बोर्ड राखेको धरान एमालेले जनाएको छ ।
सोमबार साँझ बसेको प्रचण्ड माधव पक्षको स्थायी कमिटी बैठकले एकीकरण भएर नेकपा हुनुअघिकै साविक दुई पार्टीकोरुपमा अलग्गिने निर्णय गरेको थियो ।
प्रचण्ड पक्षले सर्वोच्च अदालतको फैसला अनुपयुक्त रहेको र यसप्रति गम्भीर असहमति हुँदाहुँदै पनि कार्यान्वयनको प्रक्रियामा जाने बताएको थियो ।
सर्वोच्चले आइतबार ऋषि कट्टेलको नेकपालाई अधिकारिता दिंदै सत्तारुढ दल नेकपा बदर गरिदिएको थियो । योसँगै अदालतले साविक एमाले र साविक माओवादी केन्द्र कायम रहने पनि फैसला सुनाएको थियो ।
नेकपामा रहँदा माधव नेपाल, झलनाथ खनाललगायत नेताहरु प्रचण्डको साथमा रहँदै पार्टी अध्यक्षबाट केपी शर्मा ओलीसहितका नेताहरुलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको घोषणा गरेका थिए । अब नेपाल, खनाललगायत नेताहरुले एमालेभित्रै रहेर ओलीसँग संघर्ष गर्नुपर्ने स्थिति बनेको छ ।
साइनबोर्ड राख्न हानाथाप
आजै (मंगलबार) बिहान माओवादी केन्द्रले साविक एमालेका सुनसरी अध्यक्ष रमेश बस्नेतलाई जिम्मेवारी सुम्पेर पार्टी कार्यालयबाट बिदा लिएको थियो ।
माओवादी केन्द्रले बिदा लिएपछि साविक नेकपाका अध्यक्ष रहेका रमेश बस्नेत (माधव नेपाल पक्ष) ले इनरुवास्थित पार्टी कार्यालयमा साइनबोर्ड राखेको थियो ।
तर प्रधानमन्त्री ओली पक्षका नेकपाका केन्द्रीय सदस्यसमेत रहेका जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले उक्त साइनबोर्ड हटाएर आफूले नेकपा एमालेको नयाँ साइनबोर्ड राखेको छ ।
विगतमा नेकपा एमालेको कार्यालय रहेको थियो । रमेश बस्नेत माधव प्रचण्ड गुटमा लागेपछि नेकपा ओली पक्षका अध्यक्ष रेवतीरमण भण्डारी चयन भएका थिए ।
रमेश बस्नेतकाे टाेलीले जिल्ला पार्टी कार्यालयमा राखेकाे एमाले नाम सहितकाे ब्यानर रेवतिरमण भण्डारी नेतृत्वकाे टाेली पुगेर हटाउदै आफुले राखेकाे छ ।
Posted by Amar Kafle on Monday, March 8, 2021
धरानमा ओली पक्षको साइनबोर्ड
नेकपा एमाले ओली पक्षले आजै (मंगलबार) नेकपा एमालेको पार्टी कार्यालयमा आधिकारिक रुपमा साइनबोर्ड राख्ने कार्यक्रम राखेको छ ।
छाताचोकस्थित पार्टी कार्यालयमा प्रचण्ड–माधव पक्षबाट बिदा लिएर आएको एमालेले यस अघि नै साइनबोर्ड राखिसकेको छ । ओली पक्षका अध्यक्ष हर्कजंग एभेङले मंगलबार ३ बजे नेकपा लेखिएको बोर्डलाई परिवर्तन गर्ने कार्यक्रम राखेको जानकारी दिए । उनले सम्पूर्ण महिला, मजदुर, युवा, विद्यार्थीलाई सहभागिता जनाउन अनुरोध गरेका छन् ।