सामूहिक बालात्कारको शिकार बनेकी सन्थाल समुदायकी एकल महिलाले उपचार पाएकी छैनन् । 

झापा कनकाई नगरपालिका ३ की ३१ वर्षीया महिलामाथि फागुन १० गते राति सोही नगरपालिकाका दुईजनाले सामुहिक बलात्कार गरेका थिए ।   

पीडित महिलाको रक्तश्राव भइरहेको संरक्षक कृष्णकुमार श्रेष्ठले जानकारी दिए । घटनापछि स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपश्चात् घर ल्याइएको उनको भनाइ छ । 

अस्पतालले घर लैजानु भनेपछि ल्याएको तर, पीडितको रक्तश्राव नरोकिएको श्रीमतीलाई उदृत गर्दै श्रेष्ठले जानकारी दिए । उपचार खर्च दिन नमिल्ने प्रहरीले जनाएपछि घरमा नै आयुर्वेदिक उपचार गरिरहे पनि ठीक नभएको श्रेष्ठको भनाइ छ । 

पीडित महिलालाई न्याय दिनुको सट्टा खर्च गरेर थुनामा रहेकालाई निकाल्नुपर्छ भन्दै आएका श्रेष्ठले सुनाए । ‘मुद्दा सेलाइसक्यो अब केही हुँदैन’ भन्दै केही समूहले दबाव दिइरहेको उनको भनाइ छ । घटना भएपछि प्रहरीलाई जानकारी गराएको र हाल के हुँदैछ भन्ने विषयमा जानकारीमा नआएको कनकाई ५ की वडा सदस्य जानुका शिवाकोटीले बताइन् । 

महिलाको ओठ सुनिएको, शरीरभरी निलडाम रहेको साथै शरीर पूरै हिलो अवस्थामा फेला पारिएको उनले जानकारी दिइन् । 

महिलामाथि भएको घटना आफूलाई जानकारीमा नआएको मानव अधिकारका लागि महिला एकल महिला झापा अध्यक्ष रेखा अधिकारीले बताइन् । संलग्नलाई कारबाही र पीडित महिलाले न्याय पाउनु पर्ने उनले जनाइन् । उपचारमा समस्या भएको विषयमा तत्काल उद्धार गरी मेची अञ्चल अस्पताल भद्रपुरमा ल्याइने उनले बताइन् । 

झापा कनकाई नगरपालिका– ४ का २८ वर्षीय प्रदीप चौधरी र ५८ वर्षीय कान्छा भनिने शर्मानन्द भुजेलले बलात्कार गरेर शक्त घाइते बनाएको अवस्थामा प्रहरीले पक्राउ गरी जबरजस्ती करणी र कुटपिटमा मुद्दा चलाएको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिए । 

सुरुङ्गा बजारस्थित टप्पुमा डेरा गरी बस्ने महिलासँग चिनजानका पुरुष भुजेलले रातको समयमा ढोका खोल्न लगाई दुबै जनाले मुखमा रक्सीको बोतले कोचेर पालैपालो बलात्कार गरेको पीडित महिलालाई उदृत गर्दै प्रहरीले जनाएको थियो ।

बलात्कार गरेर फरार भएपछि  पीडित महिला स्थानीय काशीनाथ श्रेष्ठको घरमा शरण लिन पुगेकी थिइन् । केही वर्षअघि मात्रै आफ्नो श्रीमान् गुमाएकी उनीसँग एक ७ वर्षीय छोरा मात्रै छन् । ती छोरासमेत अरुकै घरमा बसेर पठनपाठन गर्दै आइरहेका छन् ।