भद्रपुर । जन्मदिने आमाले घर छाडेको डेढ वर्ष भयो । आमा हिडेपछि १२ र ७ वर्षका नाबालिका बावुको सहारामा बसेका थिए । तर आफ्नै बाबुले ती अबोध बालिकामध्ये ठुली छोरीलाई पटक– पटक करणी गरे ।

छोरीले सहन सकुञ्जेल कसैलाई भनिनन् जब पटक– पटकको यौन हिंसाका कारण उनलाई रक्तश्राव हुन थाल्यो त्यसपछि बाबुले गरेको अनैतिक कार्य आफ्नै साथीलाई सुनाइन् । साथीले आमालाई सुनाएपछि घट्ना सार्वजनिक भयो ।

घट्ना गएको असार ३१ गते राति साढे ९ बजे पुनः भयो । आफ्नै नाबालिका छोरीलाई एक महिना यताबाट पटक–पटक करणी गरेको छिमेकीले जानकारी पाए । घट्नाको जानकारीका आधारमा सुनसरी धरान उपमहानगरपालिका–१३ घर भई हाल झापाको साविक गरामनी गाविस हाल बिर्तामोड नगरपालिका ८ मा डेरा गरी वस्ने अन्दाजी ३५ वर्षिय लिम्बू थरका बावुलाई इलाका प्रहरी कार्यालय विर्तामोडले घट्ना भएकै राति नियन्त्रणमा लियो ।

बाबुलाई प्रहरीले लगेपछि पीडित बालिकासहित उनकी ७ वर्षिया बहिनी बेसाहरा बने । छिमेकी लगायत प्रहरी प्रशासनले आफन्तको खोजि गर्दा जिम्मा लिने कोही नभएपछि पीडित बालिकासहित दुवैलाई एकल महिलाद्धारा सञ्चालित भद्रपुर १० मा रहेको छहारी घरमा राखियो । छहारी घरकी संयोजक रेखा अधिकारीको प्रत्यक्ष निगरानीमा ती बालिकाको लालन पालन शुरु भयो । आरोपित विरुद्ध मुद्दा दर्ता गराइएको समूहकी अध्यक्ष अधिकारीले बताइन् । आमा पहिले नै घर छाडेर हिंडेकी र पीडितको ७ वर्षिया बहिनी मात्र रहेकाले कोही नभएपछि समूहको तर्फबाट मुद्दा दर्ता गराइएको उनले बताइन् । एक दिनको कुरा हो, कोठामा रहेको भेन्टीलेसनबाट निस्किएर उनीहरु भागेछन् । भाग्दै गरेको अवस्थामा नजिकै रहेको चन्द्रगढी विमानस्थलबाट फेला पारेर छहारीमा ल्याएको अधिकारी बताउँछिन् । ‘वैनीले भागुुम् भनि अनि भागेको तर, यहाँको आमाले भेटाइहाल्नु भयो ।’ ती ७ वर्षिया बालिकाले सुनाइन् ।

छहारी घरमा बसेको ६४ दिनपछि बुधबार इटहरी स्थित एसओेएस बालग्रामले उनीहरुलाई अभिभावकत्व ग्रहण गरेको छ । इटहरीबाट आएको सो संस्थालाई नियमअनुसार हस्तान्तरण गरिएको अधिकारी बताउँछिन् । छहारीमा राखेर उनीहरुको जन्म दर्ता र स्कुलको चारित्रिक प्रमाण पत्र समेत बनाइएको उनले बताइन् । बसाई अवधिभरको खाना खर्च विर्तामोड नगरपालिकाले लिएको थियो । बिर्तामोड नगरपालिका र ईलाका प्रहरी कार्यालय बिर्तामोडको सिफारिसका आधारमा बालग्रामलाइ दिने निर्णय भएपछि त्यसो गरिएको उनले बताइन् । बालग्रामलाई जानकारी लगायत सहजकर्ताको भूमिका एविसी नेपालले गरेको थियो ।

यता आरोपितलाइ भने पुर्पछका लागि झापा कारागारमा राखिएको जिल्लाका डिएसपी राकेश थापाले बताए ।