पानवारी । प्रहरीको निष्क्रियताका कारण आफन्तैबाट बलात्कृत युवती न्याय पाउनबाट विमुख बनेकी छन् । हाडनाता करणीका आरोपीलाई प्रहरीले नियन्त्रणमा नलिँदा पीडित परिवार न्याय पाउनबाट विमुख बनेको हो । आरोपीलाई तत्काल पक्राउ गर्न माग गर्र्दै महिला सञ्जालले आवाज उठाउन थालेको छ । पीडित परिवारको आवाजलाई प्रहरीले सुनुवाइ नगरेपछि सञ्जालको धरान नगरकमिटीले आइतबार इलाका प्रशासन कार्यालयमा पुगेर बलात्कारी पक्राउ गर्न माग गरेको छ । इप्रका धरानका प्रमुख चोलेन्द्र निरौलालाई सञ्जालले ज्ञापन पत्र बुझाउँदै आरोपीलाई तत्काल पक्राउ गर्दै कारबाही गर्न माग गरे । बलात्कारका आरोपित धरान–५ साउनेस्थित मदर इङ्लिस स्कुलका सञ्चालक तथा प्रिन्सिपल समेत हुन् । नाता पर्ने आरोपीलाई पक्राउको माग गर्दै पीडित परिवारले यसअघि नै इप्रका धरानमा उजुरी दिएको छ । तर आरोपित पक्राउ पर्न नसक्दा उनीहरु थप पीडित बनेका छन् । डर, त्रास देखाउँदै अाराेपीले जबर्जस्ती करणी गर्दै आएको उजुरीमा उल्लेख छ । पीडित किशोरी हाल मानसिक रूपमा विक्षिप्त छिन् । उनको उपचार भइरहेको छ । आरोपीले पीडित किशोरीकै घरमा गएर पटक–पटक जबरजस्ती गर्दै कसैलाई भने ज्यान मारिदिने धम्की दिएको पीडितको भनाइ उद्धृत गर्र्दै उनकी दिदीले बताइन् । उनले भनिन्, ‘बहिनीले अचानक भिन्न व्यवहार देखाउन थाली, कलेज पनि जान मान्दिनथी र एकदिन झण्डै आत्महत्यासमेत गरी ।’ त्यसपछि सोधखोज गर्दा बहिनीमाथि बलात्कार भएको खुलेको थियो । आरोपीले कान्छी बहिनीलाई समेत यौन दुव्र्यवहार गरेको पीडितको दिदीको भनाइ छ । पारिवारिक भन्दै यसअघि कुरा गुपचुप बनाउँदै राखिएको थियो । तर बारम्बार ठूली बहिनीमाथि जबरजस्ती भएको थाहा पाएपछि असारमा प्रहरीमा निवेदन दिएको हो । उनी भन्छिन्, ‘बुबा सोझो हुनुहुन्छ, आमा पैसा कमाउन भनेर विदेशमा हुनुहुन्छ, मैले कसलाई भन्नु ? कसरी त्यो अपराधीलाई सजाय दिलाउनु ?’ बहिनीमाथि करणी भएकोबारे २०७४ को फागुन २५ गते नै थाहा भए पनि उनीविरुद्ध असार ८ गते मात्रै उजुरी दिएको उनले बताइन् । महिला सञ्जालका पदाधिकारीहरुसँगको भेटपछि न्याय पाउने आशामा छिन् । उनी भन्छिन्, ‘अहिले पनि पीडकका भाइ ३० लाख पैसा दिन्छु, जग्गा दिन्छु मुद्दा फिर्ता लिनु भन्दै धम्क्याउन आउँछन् ।’ उनले आफू र बहिनीसहित सबै परिवार पीडामा भएकाले न्याय दिलाइदिन आग्रह गरिन् । सञ्जालकी अध्यक्ष सविता राई भन्छिन्, ‘चाँडोभन्दा चाँडो पीडितले न्याय पाउनुपर्छ । अपराधी धरानमै लुकेर बसेको छ भन्ने सुन्नमा आएकोले अपराधी जतिसक्दो छिटो पक्राउ परोस् ।’ महिला सञ्जाल धरानले आरोपीलाई पक्राउ गर्न दबाव स्वरुप आइतबार इलाका प्रशासन कार्याल धरान, धरान उपमहानगरपालिकाको न्यायिक समिति, इलाका प्रहरी कार्यालयमा ज्ञापन–पत्र बुझाएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले पीडितले किटानी जाहेरी दिइसकेकाले आरोपीलाई चाँडै पक्राउ गर्ने दाबी गरे ।