नेपाल कम्युनिष्ट पार्टी ओली पक्षको विशाल जनसभा विराटनगरमा सम्पन्न भयो । ओली समूहले २ लाख जनता उतार्ने उद्देश्य राखेको थियो । कति जनता ओलीको पक्षमा आए वा ओलीको भाषण सुन्न मात्र आए त्यो भने लेखाजोखा भएन । तर सुरक्षा निकायको रिपोर्टले ६० हजारभन्दा बढी जनता भेला भएको देखायो । 

सुरक्षा निकायको रिपोर्टले नै यस अघि नेकपाको प्रचण्ड– माधव समूहको भेलामा १५ हजार सहभागी भएको निष्कर्ष निकालेको थियो । माधव– प्रचण्डको भेलाभन्दा चौब्बर जनता प्रधानमन्त्री ओलीको भाषण सुन्न आए । विराटनगरका सडकमा मात्र दशौं हजार गाडीलाई व्यवस्थापन गर्नुप¥यो । 

वर्तमान राजनीतिक परिदृश्यले नेता, कार्यकर्ता र भोटरलाई त विभाजित गरेकै छ । जनता पनि सही गलत छुट्याउन सक्ने बौद्धिकता, नैतिकता र वैचारिक छन् । 

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेर ताजा जनादेशका लागि आह्वान गरेका छन् । प्रतिनिधि सभा विघटनका विरुद्धमा १३ वटा रिट सर्वोच्चमा निर्णयपछि फैसलाका लागि तयारी अवस्थामा छ । एमिकस क्युरीले पनि आफ्नो राय दिइसकेको छ । टाढामा १५ गतेभित्र अदालतले प्रतिनिधि सभा विघटनको पक्ष वा विपक्षमा फैसला गर्ने आँकलन गरिएको छ । 

नेता, कार्यकर्ताको पक्ष–विपक्षमा मतमतान्तर रहँदै आएको छ । विरोध र प्रतिरक्षा लोकतन्त्रको सुन्दरता नै हो तर कुन हदसम्म गिरेर विरोध वा प्रतिरक्षा गर्ने भन्ने विषय व्यक्तिको बौद्धिकतासँग सम्बन्धित कुरा हो । 

तुच्छ र निम्नस्तरको गालीबेइज्जत हुने गरी पक्षविपक्षमा सामान्य कार्यकर्ताको विचार आउन सक्छ तर एउटा सम्मानित संस्था र जनप्रतिनिधिले वैचारिक रुपमा पक्ष र विपक्षमा बहस गर्नु वाञ्छनीय हुन्छ । 

यस्तै एउटा भद्दा गाली र जनताको अपमान हुने गरी विराटनगरमा शनिबार ओली पक्षको जनसभाको विरोधमा प्रदेश १ सभा सदस्य उमिता विश्वकर्माले दिएकी छन् ।

उनले सामाजिक संजाल फेसबुकमा प्रतिक्रिया दिंदै ओली पक्षको भेलामा सहभागीहरु फोहोरमा भन्किएका झिंगा हुन् भन्ने आशयको अभिव्यक्ति दिएकी छन् । वैचारिक हिसाबले हेर्दा के उनको यो प्रतिक्रिया राजनीतिक र सामाजिक देखिन्छ ? बौद्धिक व्यक्तिको जनता प्रतिको टिप्पणी यस्तो हुन्छ ? 

यो एउटा आम प्रश्न हो ? उनीहरुले आफ्ना प्रतिद्वन्द्वीलाई वैचारिक रुपले गाली गर्न सक्छन् । तर यी प्रदेश सांसद्ले जनतालाई दिएको तुच्छ गालीलाई सच्याउनुपर्छ । उनी आफैं जनप्रतिनिधि तर जनताको आकांक्षा, जनचाहाना र जनमतको खिल्ली उडाउने गरी हदैसम्मको फोहोर गाली गर्न पक्कै पनि छुट छैन । 

प्रधानमन्त्री तथा नेकपा ओली पक्षका अध्यक्ष केपी शर्मा ओलीले शनिबार जनसभामा आएका जनताको विशाल भीडलाई सम्बोधन गर्दै आँखाले भ्याउन नसक्ने, ड्रोनले खिचिरहे पनि पर्गेल्न नसक्ने बताएका थिए । प्रधानमन्त्री ओलीले आकाशमा लागि रहेको जुन हेर्दै माथि आकाशको जुनले मात्र यो भीडलाई छिचोल्न सक्ने बताएका थिए । 

यसै प्रसंगमा प्रचण्ड पक्षका नेता अइन्द्रविक्रम बेघाले कटाक्ष गर्दै सामाजिक संजालमा लेखे – विराटनगरबाट नदेखिने चन्द्रमाबाट मात्रै देखिने समर्थन सभा भयो रेन्त उता विराटनगर तिर ? हाम्रो प्रम ज्यूले भन्नु भएको । 

नेता बेघाको टिप्पणीमा प्रतिक्रिया दिंदै प्रदेश १ सभा सदस्य उमिता विश्वकर्मा रिमाले ती सबै फोहोरमा भन्किने झिंगा हुन् भनेर प्रतिक्रिया दिइन् । 

उनले लेखिन्– ति सबै फोरमा भन्किने झिंगा हुन् । 

प्रदेश सभा सदस्यजस्तो गरिमामय पदमा बसेर आफ्नो मुद्दा स्थापित गर्न र अरुको विचार र तर्कको खण्डन गर्न प्रयोग गरिएको शब्द चयन यस्ताे हुनुहुँदैन, अवश्य ख्याल गर्नुपर्छ ।

विराटनगरबाट नदेखिने चन्द्रमाबाट मात्रै देखिने समर्थन सभा भयो रेन्त उता विराटनगर तिर !? हाम्रो प्रम ज्युले भन्नुभएको ।

Posted by Aindra Bikram Begha on Saturday, February 20, 2021