प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक उपराष्ट्रपति र सभामुख नै झगडिया बन्दै हिड्न थालेको बताएका छन् । प्रधानमन्त्री ओलीले कटाक्ष गर्दै पहिले वैधले साथ छोडे, पछि डाक्टरले अब अहिले आएर झाँक्री पार नलगाउने बताए । 

प्रचण्डको पतनको बाटो शुरु भइसकेको बताउँदै ओलीले भने, ‘प्रचण्डजीको मलाई त माया लाग्छ, उहाँलाई पहिला वैद्यले छाड्नुभयो, अनि डाक्टर लिनुभयो, अहिले एउटा झाँक्री लिनुभएको छ, अब उहाँलाई झाँक्रीले बचाउन सक्दैन ।’ 

राजनीतिक सिनबाट लगभग गायब हुन लागेका प्रचण्डलाई आफूले स्थापित गरिदिएको तर त्यो उनलाई नपचेको पनि प्रधानमन्त्री ओलीले टिप्पणी गरे ।

‘राजनीतिमा सिद्धी नै सकेका प्रचण्डलाई, दुई–चार सिटमा सीमित हुने प्रचण्डलाई ल्याएर ठूलो जुरो हालिदिएको थिएँ, जुरो हालिदिएपछि अनि लामो सिंह भएपछि उहाँमा अचानक अहंकार बढ्यो, षड्यन्त्रमा लाग्नुभयो’, प्रधानमन्त्री ओलीले भने, ‘तर अब उहाँको नियति असफलताबाहेक केही हुन्न, तर अझै पनि उहाँलाई म भन्न चाहन्छु– तपाईं फर्कन चाहनुहुन्छ भने नेपाली जनताको सागरमा मिसिनुस् ।’

विराटनगरमा शनिबार आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू झगडिया नभएको बताउँदै सभामुखलाई किर्तेको संज्ञा दिदै सरकारविरुद्ध मुद्दा लिएर अदालत गएको उल्लेख गरे । 

‘सभामुख भनेर छानियो तर झगडिया भएर निस्किए । सरकारविरोधी झगडिया हुन् सभामुख’, उनले भने, ‘उहाँले किर्ते सनाखत गर्नुभएको छ, सभामुख जस्तो पदको मान्छेले किर्ते गर्छ भन्दा पनि लाज लाग्छ । साँढे ३ बजे गएको प्रस्तावलाई १० बजे आएको भनेर सनाखत गरे ।’

प्रधानमन्त्री ओलीले उपराष्ट्रपति नन्दबहादुर पुनको पछिल्लो कार्यको पनि आलोचना गरे । ‘उपराष्ट्रपतिजी सरकारविरुद्ध भाषण गरेर हिंड्नुभएको छ । चुनाव गर्नु हुदैन भन्नुहुन्छ, उहाँको पदले त्यसो गर्न दिन्छ ? हुन त उहाँ चुनाव नगर्ने पृष्ठभूमिबाट आउनुभएको तर अब त चुनावको पक्षमा बोल्न सिक्नुस’, प्रधानमन्त्री ओलीको भनाइ थियो ।