बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरनसँग चिकित्साशास्त्र पढाउन पर्याप्त पूर्वाधार र दक्ष चिकित्सक शिक्षक छन् । स्वास्थ्य नीति नै संशोधन, परिवर्तन गर्न सक्ने वैज्ञानिक अनुसन्धानहरू पनि भएकै छन् । करिब आधा नेपालबाट उपचारका लागि आउने रोगी बिरामीका लागि उपचार सेवा दिन सक्ने पर्याप्त र विशेषज्ञ चिकित्सक पनि छन् । त्यतिमात्र नभएर नेपालमै सबैभन्दा धेरै भौतिक पूर्वाधार बीपी प्रतिष्ठानसँग छ । चाहिने जति सबैथोक छ तर, व्यवस्थापनको अभाव छ । प्रतिष्ठानभित्रको सदावहार अव्यवस्थापनको नतिजाले प्रतिष्ठानलाई दिनदिनै खोक्रो बनाइरहेको छ । भएका दक्ष जनशक्ति, भौतिक पूर्वाधार, कमाएको नाम, ब्राण्डलाई सही सदुपयोग गर्नका लागि प्रतिष्ठानको सञ्चालक परिषद् (सिनेट), कार्यकारिणी समिति (कास) र प्रमुख चार पदाधिकारीहरू उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशक गम्भीर हुनु जरुरी छ । सिनेट, कार्यकारिणी समिति र चार पदाधिकारी गम्भीर नहुँदाको नतिजा प्रतिष्ठानको प्रत्येक विभाग, युनिटमा बेथिति मौलाएको छ । प्रतिष्ठानलाई दुहुनो गाई बनाउनेहरू पनि उत्तिकै सल्बलाउने गरेका छन् । बाहिरबाट हेर्दा प्रतिष्ठान भारतको दिल्लीस्थित भारतीय आयुर्विज्ञान संस्थान (एम्स) जस्तो देखिन्छ । हुन पनि यो एम्सकै मोडल अनुसार भारतीय सरकारकै आर्थिक अनुदानमा स्थापना, निर्माण गरिएको हो । सल्लाहकारको रूपमा प्रतिष्ठानमा अहिले पनि भारतीय सरकारले तोकेको उच्च तहको दुत रहने गरेको छ । तैपनि प्रतिष्ठानको हालत कहिल्यै सुध्रिएन । समस्यै समस्याको जालोमा बेरिएको प्रतिष्ठानमा कहिले चिकित्सक आन्दोलित हुन्छन्, कहिले नर्स, कहिले कर्मचारी, कहिले सरसफाइकर्मी त कहिले विद्यार्थी । 

कोरोना महामारी सुरु हुनुभन्दा अगाडि प्रतिष्ठानमा दैनिक करिब ३ हजार ५ सयको हाराहारीमा प्रदेश १ र प्रदेश २ का बिरामीहरू उपचारका लागि आउने गरेका थिए । आकस्मिक विभागमा दैनिक सरदर अढाई सय घाइते वा अरू नै कारणले बिरामी भएर आउने गरेका थिए । बिरामीहरूको भीड पछिल्लो समयमा बढिरहेको छ । ओपिडीमा चिकित्सक भेटेर आफ्नो बिरामबारे कुरा राख्नलाई कम्तिमा तीनदेखि ५ घण्टा पर्खिनु पर्छ । त्यसपछि ल्याव टेष्ट, एक्स–रेलगायतका लागि फेरि उस्तै लाम लाग्नुपर्छ । सामान्यतया ल्याव र एक्स–रेको रिपोर्ट एक घण्टामा उपलब्ध गराउनु पर्ने हो । प्रतिष्ठानले पनि चाँडै दिने दाबी गर्छ । तर, एउटा रिपोर्ट लिनका लागि दुई दिन लाग्छ । एमआरआई त कामै नलाग्ने भएको छ । सिटीस्क्यान पनि बिग्रिएको अवस्थामा छ । इण्डोस्कोपी, अल्ट्रासाउण्ड जहिल्यै बिग्रन्छ । दन्त चिकित्सा महाविद्यालयका डेण्टल चियरहरू ९० प्रतिशत कामै नलाग्ने अवस्थामा छन् । अप्रेसन थिएटर पर्याप्त छैनन् । शल्यक्रिया गर्नुपरे ६ महिनाको पालो पर्खिनु पर्छ । कहिले बेड खाली हुन्न । जिल्ला अस्पतालमा सुत्केरी भएबापत कुरुवा र सुत्केरीले पैसा पाउँछ प्रतिष्ठानमा उल्टै तिर्नुपर्छ । स्वास्थ्य बिमा गरेका बिरामीले उपचार र शल्यक्रिया गर्दा पैसा तिर्नु नपरे पनि औषधिका लागि बाहिरको फार्मेसीमा दशौं हजार तिर्नुपर्छ । जबकी अन्य अस्पतालमा औषधि पनि बिमा भित्रैबाट उपलब्ध हुन्छ ।

बिरामीहरूले चाँडो उपचार सेवा चाहिरहेको बेलामा यस्ता अनेक समस्याका ऐंजेरु बोकेर प्रतिष्ठान कछुवा तालमा घस्रिरहेछ । बिरामी उपचार सेवालाई चुस्त दुरुस्त बनाउनतिर ध्यान दिनुको सट्टा सिनेटका सदस्य, कार्यकारिणी सदस्य र पदाधिकारीहरू अनि वरिष्ठ चिकित्सक र कर्मचारी भनिएकाहरू कमाउधन्दातिर लाग्दा गिर्दो हविगत प्रदर्शन गरिरहेछ । अस्त–व्यस्त शैलीमा चलिरहेको प्रतिष्ठानलाई सुधार्न न प्रदेश सरकार, न त सङ्घीय सरकार या स्वास्थ्य मन्त्रालय न त धरान उपमहानगरपालिकाले नै ध्यान दिन सकेको छ । प्रतिष्ठानलाई चुस्त दुरुस्त र सेवामुखी बनाउन सिनेट, कार्यकारिणी सदस्य र चार पदाधिकारीहरूले नयाँ सोच र नयाँ अवधारण बनाएर विकल्प दिन नसके अबको केही दशकपछि ‘धरानमा पनि बीपी अस्पताल थियो रे’ भन्ने दिन नआउला भन्न सकिन्न । यसका लागि बीपी प्रतिष्ठानको बेथिति सुधार्न सरोकारवालाको सकारात्मक हस्तक्षेप जरुरी छ ।