विजयपुर। धार्मिक पर्यटनको हिस्सासमेत ओगटेको बूढासुब्बा मन्दिरपरिसर अस्त–व्यस्त बन्दै गएकोप्रति स्थानीयले व्यवस्थापन पक्षसँग ‘प्रश्न’ उठाएका छन् । यही अवस्था रहे मन्दिरको अस्तित्व खतरामा पर्ने स्थानीयले सङ्केत गरे । 

बलि दिएका पशुपंक्षीलाई परिसरभित्रै ‘भुत्ल्याउन दिने’ लगायतका काम गर्न दिँदा मन्दिर थप दुर्गन्धित बन्दै गएको स्थानीयको भनाइ छ । स्थानीयले मन्दिरभित्रै होटल सञ्चालन गरेकोप्रति पनि प्रश्न उठाएका छन् । त्रिभुवन विश्वविद्यालय संस्कृति विषयका उप–प्राध्यापक तथा स्थानीयवासी सञ्जय कोइराला मन्दिरको पवित्रताका लागि मन्दिर परिसरमा मात्र होइन, मन्दिरबाहिर पनि होटलहरू सञ्चालन गर्न नहुने बताउँछन् । नाम नखुलाउने सर्तमा अर्का स्थानीय भन्छन् ‘मन्दिर संरक्षणका लागि स्थानीय सरकार, सांस्कृतिक वातावरणका जानकार, मन्दिरका जानकार, स्थानीय बुद्धिजीवी र सरोकारवाला पक्षलाई समेटेर समिति बनाउनुपर्छ’ उनले थपे, ‘अहिले एकल किसिमको समिति हुँदा व्यवस्थापनमा समस्या आएको हो ।’ 

गाईघाटबाट पूजा गर्न आएका एक भक्तजनले मन्दिरको महिमाअनुसार व्यवस्थापन फितलो रहेको बताए । अर्को महŒवपूर्ण विशेषता भनेको बाँस हो । बाँसमा प्रेमीप्रेमिकाहरूले डोरा बाँध्ने गरेका छन् । तर, बाँस पनि संरक्षण नहुँदा मासिँदै गएको स्थानीय बताउँछन् । ३५ वर्षदेखि पूजा सामग्री बिक्री गर्दै आएकी एक व्यापारीले पहिलेभन्दा बाँसको सङ्ख्या उल्लेख्य रूपमा घटेको बताइन् । उनले भनिन्, ‘पहिले निकै मोटो पनि थियो, सङ्ख्या पनि धेरै थिए, अहिले साइज पनि घट्दै गएको छ । बाँसको सङ्ख्या पनि धेरै कम भएको छ ।’ एक स्थानीयवासीले भने, ‘बाँस संरक्षण गर्न सिमेण्टको घेरा लगाउनाले ‘तामा’ टुसाउने ठाउँ नभएकोले मासिँदै गयो ।’ 

बुढासुब्बाको पूजा सामग्रीमा बिँडी, रक्सी, भाले, पान–सुपारी, अण्डा चाहिनेमा अहिले विभिन्न ध्वजापताका पनि दिन थालेको नाम नखुलाउने सर्तमा अर्का स्थानीयले बताए । धरान–१४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले मन्दिरको समितिमा जनप्रतिनिधि, स्थानीय, राजनीतिक दल र सरकारको प्रतिनिधि नरहेको बताए । उनले मन्दिर व्यवस्थापनका लागि सम्बन्धित पक्षलाई राखेर व्यवस्थापन समिति बताउने बताए ।

उनले मन्दिर परिसरभित्र पार्किङ गर्न नदिनका लागि विजयपुर चोकछेउमा जग्गा भाडामा लिन लागेको बताए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा पुजारी अशोक आले मगरले अहिलेसम्म आफूहरूले सोचेअनुरूप नै व्यवस्थित गरेको दाबी गर्छन् । भक्तजनहरूलाई सुविधा होस् भनेर पहिलेदेखि नै गाडीको पार्किङ राखिएको उनी बताउँछन् । होटलको विषयमा भने पहिलेदेखि नै राखिएकाले अब त्यसको व्यवस्थापनमा लाग्ने बताए । 

धरान उपमहानगर प्रमुख तिलक राईले स्थानीयवासीलगायत सम्बन्धित सरोकार राख्ने पक्षसँग बुझेर अगाडि बढ्ने बताए । सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोख्रेलले परम्परागत रूपमा चल्दै आएकाले पनि प्रशासनले हस्तक्षेप नगरेको बताए । उनले मठमन्दिरको अधिकार स्थानीय सरकार र आफूलाई भएकाले स्थानीय तहका प्रमुख, उपप्रमुख, स्थानीयवासी र सरोकारवाला पक्षसँग समन्वय गरेर अगाडि बढ्ने बताए । मनोकामना सिद्धिका लागि भाकल गर्ने र सो प्राप्त भएपछि पशुको बलि चढाउने गर्दछन् । यहाँ कुखुरा, सुँगुरको बलि दिइन्छ ।