धरान । नेपाल टेलिभिजनबाट प्रशारण भईरहेको गायन प्रतियोगीता ‘वाईवाई नेपाल स्टार’ को उत्कृष्ट पाँचमा धरानका सन्देश बम्जन लामा पनि पर्न सफल भएका छन् ।

हरेक शनिबार राति प्रसारण हुँदै आएको ‘वाईवाई नेपाल स्टार’को फाइनलमा पुग्न अब उनलाई एक एपिसोड पार गर्नु आवश्यक छ । उत्कृष्ट चार प्रतिष्पर्धीबीच फाइनल प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । उत्कृष्ट पाँचमा परेपछि आफुलाई भोट दिने सबैमा धन्यवाद दिंदै सन्देशले भने ,‘अब भोट गर्ने समय बिहीबार राती १२ बजेसम्मका लागि मात्र खुल्ला छ । मलाई भोट गरेर फाइनलमा पु¥याईदिनुहुन्छ भन्ने आशा छ ।’

देशभरका हजारौं प्रतिस्पर्धीमध्ये पहिलो अडिसनमा उत्कृष्ट १२० मा छनोट भएपछि हालसम्म निर्णायक र दर्शकको मन जीत्दै अघि बढेका सन्देश नेपाल स्टारको उपाधी जीतेर धरानको नाम राख्न चाहेको बताउँछन् ।

सन्देशले धरानका विभिन्न सांगीतिक कार्यक्रममा प्रस्तुती दिईसकेका छन् । सानैदेखि सांगीतिक क्षेत्रमा लागेका उनले विभिन्न रेष्टुरेन्टमा पनि गाउने गरेका थिए । प्रतियोगीता जीत्नका लागि अध्यधिक भोटको आवश्यकता रहेकाले सबैसँग भोटको अपिल गरेको सन्देशका बुवा पशुपति तामाङले बताए । उनले भने, ‘छोराले राम्रो गरिरहेको छ तर जीत्नका लागि धेरै भोट चाहिने रहेछ । सबैसँग सहयोगको अपेक्षा गरेको छु ।’

सन्देशलाई भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा एनएस १३ टाइप गरी ३३००१ मा पठाउनु पर्नेछ । भोटिङ लाइन प्रत्येक शनिबार बेलुकी ९ बजेदेखि बिहीबार राति १२ बजेसम्म खुल्ला रहने बताइएको छ ।