रसुवा । रसुवा–नुवाकोट सडकखण्डमा बाढीले पुल बगाएपछि अवरुद्ध भएको पैदल आवागमन सञ्चालन गर्न वैकल्पिक फड्के तथा तुइन निर्माण गरिएको छ ।

फलाखु खोलामा रहेको पक्की पुल र स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथिको पक्की पुल बाढीले बगाएपछि सडकखण्डमा आवागमन अवरुद्ध भएको थियो । तत्कालको समस्या समाधान गर्न सुरक्षा निकाय तथा स्थानीय बासिन्दाको सहयोगमा वैकल्पिक संरचना निर्माण गरिएको हो ।

सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीका अनुसार पहिलो चरणमा पैदल यात्रीको आवागमन सहज बनाउन बेत्रावतीमा बाँस तथा काठ प्रयोग गरी फड्के निर्माण गरिएको छ । त्यस्तै, स्याफ्रुबेँसीमा फलामे तुइन जडान गरिएको छ ।

स्याफ्रुबेँसीमा तुइन निर्माण सम्पन्न भए पनि दायाँ–बायाँको पदमार्ग व्यवस्थित गर्ने काम भइरहेको जनाइएको छ । पदमार्ग व्यवस्थापनपछि एक–दुई दिनभित्र तुइन पूर्ण रूपमा सञ्चालनमा आउने बताइएको छ ।

बेत्रावतीमा फड्के निर्माण भएपछि नुवाकोटतर्फबाट गेर्खु, छापटार, केराघारी हुँदै बेत्रावतीसम्म पैदल आवतजावत सहज भएको प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामेले जानकारी दिए । समाजसेवी गणेश श्रेष्ठका अनुसार फड्के निर्माणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाको सहयोग रहेको थियो ।

यस्तै, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायको समन्वयमा स्याफ्रुबेँसीमा फलामे तुइन निर्माण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले बताए ।

फड्के र तुइन निर्माण भएपछि उत्तरी रसुवाका गतलाङ, गोल्जुङ, चिलिमे, थुमन, स्यो, ग्रेल लगायतका क्षेत्रका बासिन्दालाई स्याफ्रुबेँसी हुँदै आवतजावत गर्न सहज भएको जनाइएको छ । त्यसैगरी, बेत्रावतीको फड्केबाट लहरेपौवा, जीवजीवे, धैबुङ, भोर्ले, राम्चेल लगायतका क्षेत्रका बासिन्दालाई पनि आवागमनमा राहत पुगेको छ ।

स्थानीय बासिन्दाले भने फड्के र तुइनले तत्कालको समस्या समाधान गरे पनि दीर्घकालीन रूपमा बेलिब्रिज निर्माण गर्न माग गरेका छन् । बाढीबाट क्षतिग्रस्त सडक तथा पुल संरचनाको पुनर्निर्माणलाई तीव्रता दिँदै यथाशीघ्र बेलिब्रिज निर्माण गर्न उनीहरूले आग्रह गरेका छन् ।रासस