धरान/ धरानका सन्देश बम्जन लामा गायन प्रतियोगीता ‘वाईवाई नेपाल स्टार’ को उत्कृष्ट ६ मा छानिएका छन् ।

नेपाल टेलिभिजनबाट हरेक शनिबार राति प्रसारण हुँदै आएको ‘वाईवाई नेपाल स्टार’ मा उत्कृष्ट गायन प्रस्तुतिसँगै दर्शकको छनोटमा पर्दै आएका सन्देश गत शनिबारको प्रस्तुतिसँगै उत्कृष्ट ६ मा परेका हुन् । सन्देशको गायनलाई निर्णायकहरूले पनि प्रशंसा गर्दै आएका छन् ।

प्रतियोगिताको अडिसनमा सहभागी देशभरका हजारौं प्रतिस्पर्धीमध्ये उत्कृष्ट १२० मा छनोट भएपछि ‘वाईवाई नेपाल स्टार’ मा सन्देशको यात्रा सुरु भएको थियो । १२० बाट निर्णायकहरूबाट उत्कृष्ट १८ मा छानिन सफल सन्देश त्यसपछि उत्कृष्ट १४, उत्कृष्ट १० मा छानिदै अगाडि बढे । दर्शकको भोटका आधारमा छनोट हुँदै आएका उनलाई विजेता बन्नका लागि उत्कृष्ट ६ बाट उत्कृष्ट ५, उत्कृष्ट ४ हुँदै फाइनलमा पुग्नु आवश्यक छ ।

बाल्यकालदेखि नै सङ्गीत क्षेत्रमा रुचि राख्ने सन्देश पढाइसँगै सङ्गीतमा निरन्तर लागिरहे । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण सानैदेखि औपचारिक रूपमा सङ्गीत सिक्न नपाएका सन्देश आफ्नै अभ्यास र मेहनतले गायनमा अघि बढेको उनका बुबा पशुपति तामाङ बताउँछन् । उनी भन्छन्, ‘उसले आफै दुःख गरेर यो अवस्थामा आइपुगेको हो । ऊ वाईवाई नेपाल स्टारको विजेता बन्नसके देशको सङ्गीत क्षेत्रमा योगदान दिनसक्छ ।’

ब्याचलरसम्म अध्ययन गरेका सन्देशले विभिन्न रेष्टुरेण्ट र कन्सर्टमा गाउँदै आएका थिए । उनी वाईवाई नेपाल स्टारमा छानिएपछि उनलाई जिताउन धरानमा ‘सन्देश बम्जन लामालाई विजय गराऔँ प्रचार–प्रसार समिति’ गठन गरेर अभियान चलाइएको छ ।

धरानको भानुचोकमा सन्देशलाई जिताउन भोटको अपिल गर्दै अभियान सञ्चालन गरिएको हो । सन्देशको परिवारले संसारभर रहेका नेपालीहरूलाई सन्देशलाई भोट गरी जिताउन आग्रह गरेको छ । सन्देशलाई भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा एनएस १३ टाइप गरी ३३००१ मा पठाउनु पर्नेछ । भोटिङ लाइन प्रत्येक शनिबार बेलुकी ९ बजेदेखि बिहीबार राति १२ बजेसम्म खुल्ला रहने बताइएको छ ।