विराटनगर । नुवाकोटको त्रिशूली नदी किनारमा बाढीले ताण्डव मच्चाएपछि यतिबेला त्यहाँ राहत र उद्धारको टोली बाक्लो छ । मेडिकल टिमका साथमा बाढीपीडितको घाउमा मलहम लगाउन व्यस्त स्वयम्सेवकहरूको भीडमा १९ वर्षीय युवक निकै सक्रिय देखिन्छन्, उनी हुन् शान्तनु ढकाल ।
सामान्य स्वयम्सेवक जस्तै देखिने शान्तनुको नजिक पुग्दा उनको देब्रे गालादेखि घाँटीसम्म एउटा लामो र गहिरो खत प्रष्टै देखिन्छ । यो खत न कुनै सडक दुर्घटनाको निशाना हो, न त कुनै भवितव्यको चोट । यो त नेपालको पछिल्लो राजनीतिक समीकरण बदल्ने जग बनेको ‘जेन जी विद्रोह’ ले उनको अनुहारमा छोडेको ऐतिहासिक र पीडादायी डोब हो ।
ठ्याक्कै एक वर्षअघि, भदौ २३ गते आजकै दिन सुनसरीको इटहरीमा प्रदर्शनका क्रममा प्रहरीको गोलीले उनको गाला छिचोल्दा उनी मात्र १८ वर्षका थिए । इन्जिनियर बन्ने सपना बोकेर १२ कक्षामा विज्ञान पढ्दै गरेका मोरङ, बूढीगङ्गा–७ का यी किशोरका लागि त्यो दिन जीवनकै सबैभन्दा अँध्यारो मोड बनेको थियो ।
भदौ २३ को त्यो राप
२०८२ को भदौ २४ मा सामाजिक सञ्जालबाट सल्किएको भ्रष्टाचार विरोधी लहर र ‘नेपो बेबी’ ट्रेण्डले शान्तनुलाई पनि छोएको थियो । “देशमा अन्याय भइरहँदा हामी चुप बस्नु हुँदैन भन्ने लाग्यो” त्रिशूलीबाट एक वर्षअघिको घटना सम्झिँदै उनले फोन सम्पर्कमा भने, “साथीहरू कोही जान नमानेपछि म एक्लै साइकल डोर्याउँदै इटहरीतिर लागेको थिएँ ।”
कलेजको पोसाक फेरेर उनी आन्दोलनको भीडमा मिसिए । दिउँसो ३ बजेतिर इटहरी उपमहानगरपालिकाअगाडि प्रदर्शन उग्र बनिसकेको थियो । प्रहरीले प्रहार गरेको अश्रुग्यासको धुवाँ र चर्को नाराबाजीबीच शान्तनु कतिबेला भीडको अग्रपङ्क्तिमा पुगे, उनैलाई पत्तो भएन ।
“एक्कासि ठूलो आवाज आयो, आँखाअगाडि अँध्यारो भयो” उनी सम्झिन्छन्, “जब जिउभरि तातो रगत बग्न थाल्यो, अनि मात्र महसुस गरेँ— मलाई गोली लागेछ ।” प्रहरीको गोलीले उनको देब्रे गालाको बङ्गारा र हड्डी छियाछिया पारेको थियो । रक्ताम्मे अवस्थामा उनलाई उद्धार गरी विराट मेडिकल कलेज पु¥याइयो ।
महिना दिनको अस्पताल बसाइ र फेरिएको अनुहार
शान्तनुको अवस्था यति गम्भीर थियो कि उनलाई सास फेर्नसमेत कठिन भयो । चिकित्सकहरूले घाँटीमा प्वाल पारेर पाइप (ट्रयाकियोस्टोमी) हाले, जसको सहयोगमा उनले झण्डै महिना दिनसम्म सास फेरे । गोलीले उडाएको गालाको मासु भर्न चिकित्सकहरूले उनको आफ्नै देब्रे छातीको मासु काटेर अनुहारमा टाँसेका छन् ।
“मेरो गालामा अहिले जुन मासु छ, त्यो मेरो छातीको हो”–उनी भन्छन् । उनको हड्डी जोड्न टाइटेनियमको प्लेट हालिएको छ । अहिलेसम्म धेरैवटा शल्यक्रिया भइसकेका छन् भने अझै खुट्टाको हड्डी काटेर नयाँ बङ्गारा बनाउने मुख्य शल्यक्रिया बाँकी नै छ ।
सत्ता फेरियो, सार फेरिएन
शान्तनु र उनीजस्तै हजारौँ युवाको विद्रोहको जगमा देशको राजनीतिले नयाँ मोड लियो । नयाँ पात्रहरू सत्ता र शक्तिको केन्द्रमा आए । तर, जसले रगत बगाए, उनीहरूका लागि राज्यको व्यवहार भने अझै पुरानै छ— आश्वासन धेरै, कार्यान्वयन थोरै ।
“आन्दोलनपछि बनेको सरकारप्रति म सकारात्मक छु, तर हाम्रा दुःख सकिएका छैनन्”–शान्तनु भन्छन् । सरकारले घाइतेहरूलाई ‘कार्ड’ त दियो, तर त्यो कार्डले न औषधिमा छुट दिन्छ, न अस्पतालको बिलमा पूर्ण राहत । घर फर्किएपछिको औषधि खर्चमा उनको परिवारले ठूलो रकम खर्चिसकेको छ । “औषधिको बिल बुझाएको दुई महिना भयो, तर अझै सोधभर्ना पाइएको छैन” –उनले गुनासो गरे ।
सपना र सेवा
अनुहारमा लागेको गोलीले शान्तनुको शारीरिक रूप त बदल्यो, तर अठोट बदल्न सकेन । उनी अझै पनि इन्जिनियर बन्ने सपना देख्छन् । अहिले त्रिशूलीका बाढीपीडितको सेवामा खटिनुको पछाडि पनि त्यही ‘जेन जी’ भावना रहेको उनी बताउँछन् । “आफू घाइते हुँदा अरूले मलाई बचाए, अहिले अरू विपत्मा पर्दा मैले किन सहयोग नगर्ने ?”–उनी प्रतिप्रश्न गर्छन् ।