धरान/ झापासँग जोडिएको इलाम चुलाचुली गाउँपालिका–२ को एउटा सडक सीमाबाटै कालोपत्रे भएर उत्तरतर्फ मोडिएको छ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत कमल गाउँपालिकाको पाडाजुँगीबाट पनि उसैगरी कालोपत्रे भएर सडक उत्तर हानिएको छ ।

तर, यही सडकको दुर्दशा हेर्न रतुवाइमाई वृक्षरोपण आयोजना हुँदै उत्तर इलाम सीमाक्षेत्रसम्म पुगे थाहा हुन्छ । जहाँ उबडखाबड मात्रै छैन, बर्खामा हिलाम्मे र खाल्डाखुल्डी हुने गरेको छ भने हिउँदमा धुलाम्मे हुने गरेको छ । यो सडक देश हाँक्ने दुई शक्तिशाली नेताको निर्वाचन क्षेत्र हो । हालका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ यही क्षेत्रबाट निर्वाचित भएका हुन् । यो सडकको खाका कोरिएको पनि धेरै वर्ष बितेको छैन । ‘करिब पन्ध्र वर्ष पुग्यो होला, गाउँवासी मिलेर यो सडक खनेका थियौंं’ –इलाम–२ का स्थानीय गोविन्द तिम्सिनाले भने । उनका अनुसार यो सडक दुई जिल्लाको सीमाका कारण चेपुवामा परेको छ । सडक प्रयोगकर्ताका हिसाबले इलामबासीले मात्रै यो सडक प्रयोग गर्छन् । झापातिरका मानिसको आउजाउ निकै पातलो छ ।

‘यहाँदेखि उँधो झापाको प¥यो, एरिया कमल गाउँपालिकाको, सरोकारवाला व्यक्ति चाहिँ इलामको’ अर्का वडावासी दिनानाथ दङ्गालले भने, ‘खास चासो चाहिँ कमल गाउँपालिकाले लिनुपर्ने हो तर, उसले चासो दिएको छैन ।’ उनका अनुसार दुवै जिल्लाका प्रदेश सांसद्ले चासो देखाउनुपर्छ । जनप्रतिनिधि आएपछि सीमाबाटै कालोपत्रे भएको छ । सडकको नाम हिमाली मार्ग नमुना रोड हो । हालै कालोपत्रे भएकाले नमुना रोड भन्दा अत्युक्ति नहोला । प्रदेश र गाउँपालिकाको एक करोड ४० लाखको लगानीमा ५ सय मिटर सडक कालोपत्रे भएको छ ।

२ नम्बर वडाध्यक्ष रणबहादुर लिम्बू भन्छन्, ‘सीमाबाट माथि पिच बनाएका छौं, तलको बाटो झापामा पर्छ, अर्को जिल्लामा बजेट लगाउन नमिल्ने । बाटोको सदुपयोग चाहिँ हामीले गर्नुपर्ने ।’ सडक कालोपत्रे गर्नका लागि दुवैतिरका स्थानीय तहले समाधान खोज्ने प्रयास नगरेका होइनन् तर, हालसम्म सफल भएका छैनन् । वडाध्यक्ष लिम्बू थप्छन्, ‘यसको समाधान खोज्ने काम चाहिँ गरेको छु, दुईतिरका प्रदेश सांसद्हरूसँग कुरा राखिरहेका छौं ।’ इलाम चुलाचुलीको १, २ र ३ नम्बर वडावासीले सडक प्रयोग गर्छन् । तीनवटा वडामा करिब ३२ सय घरधुरी छन् ।

जवाफदेहिताका हिसाबले उक्त सडक झापाको कमल गाउँपालिका–५ ले लिनुपर्ने तर्क चुलाचुलीवासीको छ । कमल र चुलाचुली सीमामा जोडिएका गाउँपालिका हुन् । कमल गाउँपालिका–५ का वडाध्यक्ष डम्बर निरौला भन्छन्, ‘स्तरोन्नतिको काम भइरहेको छ । अहिले सबै सडक जनसहभागितामा बन्छन् । त्यो सडकको करिब दुई किलोमिटर सरकारी जमिनमा पर्छ । त्यहाँ पूरै बजेट खन्याउन सक्ने अवस्था छैन । प्रदेश या सङ्घीय सरकारलाई नै गुहार्नुपर्छ ।’

रतुवामाई वृक्षरोपण आयोजनाभित्र करिब दुई किलोमिटर सडक पर्छ । ‘दायित्व चाहिँ झापाको हो, बढी सदुपयोग चाहिँ इलामका बासिन्दाले गर्छन्’ –उनले भने । उनका अनुसार अहिले ती दुई गाउँपालिकाका प्रदेश सांसद्हरूलाई सडकको विषयमा कुरा राख्ने तयारी भइरहेको छ । ‘चाहँदा प्रदेश सरकारले गर्न सक्ने हो’ –उनी भन्छन् । चुलाचुलीबाट अर्जुन राई प्रदेश सांसद् बनेका छन् भने कमलबाट धीरेन शर्मा छन् । दुवै वडाध्यक्षले प्रदेश सांसद्लाई सडक स्तरोन्नतिको विषयमा कुरा राख्ने तयारी भएको बताए । उनीहरू पनि सङ्घीय सांसद्लाई गुहार्ने पक्षमा देखिएका छैनन् ।

ilam-chulachuli

त्यही सडक झापाको सीमा सकिएपछि इलामको चुलाचुली गाउ“पालिकाबाट बनेको कालोपत्रे सडक । तस्बिरः ब्लाष्ट