धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा फार्मेसीमा कार्यरत कर्मचारीको आन्दोलनले सेवा प्रभावित बनेको छ ।
फार्मेसीमा कार्यरत कर्मचारीहरूले सात महिनादेखि तलब तथा सेवा सुविधा नपाएको भन्दै आन्दोलन थालेपछि सेवा प्रभावित भएको हो । फार्मेसीमा कार्यरत १८ जना फर्मासिस्ट र ४ जना सहयोगी गरी २२ जना कर्मचारी धर्नामा बसेका छन् । २४ घण्टा सञ्चालन हुने फार्मेसी सेवा अवरुद्ध हुँदा बिरामीहरू औषधि सेवा लिनबाट बञ्चित भएका छन् । विशेषगरी प्रतिष्ठानको फार्मेसीमार्फत् दिइँदै आएको स्वास्थ्य बिमाअन्तर्गतको औषधि सेवामा समस्या भएको छ ।
प्रतिष्ठानको फार्मेसी सेवा निजी आपूर्ति कम्पनी केटिएम सेक्युरिटी सर्भिसेज प्रा.लि.मार्फत् सञ्चालन हुँदै आएको छ । कर्मचारीहरूलाई तलब सुविधा दिने दायित्व पनि उक्त कम्पनीकै भए पनि तलब नपाएपछि आन्दोलनमा उत्रनु परेको उनीहरूको भनाइ छ । उक्त समस्याको समाधानका लागि प्रतिष्ठान प्रशासनले चासो नदेखाएको उनीहरूले बताए ।
गत वर्ष पनि तलब नपाएर आन्दोलन गरेका थिए । आन्दोलनरत कर्मचारीहरूका अनुसार तलब तथा सेवा सुविधाको माग गर्दै पटक पटक मौखिक र लिखित रूपमा आग्रह गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएका हुन् । २०७० मङ्सिर ८ गते केटिएम सर्भिसेजसँग तीन वर्षका लागि सेवा सम्झौता गरिएको थियो । पछि सो सम्झौताको म्याद थप गरी सेवा निरन्तरता दिइँदै आएको थियो । सम्झौताअनुसार कुनै कर्मचारीले सेवा अवरोध गरेमा २४ घण्टाभित्र वैकल्पिक जनशक्ति व्यवस्थापन गर्नुपर्ने व्यवस्था भए पनि त्यसको पालना नभएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका सह–प्रवक्ता डा. अभिजित कुमारले विज्ञप्ति जारी गरी अस्पताल जस्तो संवेदनशील क्षेत्रमा सेवा अवरोध गर्नु प्रचलित कानूनविपरीत भएको बताएका छन् । विज्ञप्तिमा अस्पताल क्षेत्रभित्र धर्ना हड्ताल, तालाबन्दी जस्ता गतिविधि गर्न कानूनले अनुमति नदिएको स्मरण गराउँदै सेवा तत्काल सञ्चालन गराउन आपूर्ति कम्पनी केटिएम सर्भिसेजलाई आग्रह गरिएको छ । उनीहरूको सेवा सुविधामा केटिएम जिम्मेवार भएको प्रतिष्ठानको भनाइ छ । फार्मेसी विभागका कर्मचारी विवेक दाहालले केटिएममार्फत् काम गर्दै आएका कर्मचारीहरूले आन्दोलन जारी राखेको बताए । उनले चाँडो समस्या समाधान गर्न सम्बन्धित पक्षलाई विज्ञप्तिमार्फत् आग्रह गरेका छन् ।