भद्रपुर । मादक पदार्थ सेवन गरेका व्यक्तिलाई रुखमा बाँधेर रातभरि राखेपछि मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका वडा न.१ लसुना बस्ने ६० वर्षीय जतन सोरेन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार मङ्गलबार राति १०.३० बजे सोरेन मादक पदार्थ सेवन गरी छिमेकी महादेव टुडूको घरमा आएका थिए । घरको गल्लीमा आई काम्न थालेपछि महादेव टुडूलगायत स्थानीय व्यक्तिहरूले घर छेउमा रहेको आँपको रुखमा प्लास्टिकको डोरीले बाँधेर राखेका थिए । उनको बुधबार बिहान ४ बजे हेर्दा मृत अवस्थामा फेला परेका थिए ।
घटनाबारे इलाका प्रहरी कार्यालय कुमरखोदमा जानकारी प्राप्त हुनासाथ टोली खटिएर घटनामा संलग्न झापा गाउँपालिका वडा न.१ लसुना बस्ने मृतकका छोरा २७ वर्षीय अनतलाल सोरेन, सोही ठाउँ बस्ने ५० वर्षीय महादेव टुडू, २० वर्षीय लुखिराम टुडू, २१ वर्षीय लखिराम टुडूलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
अन्य फरार व्यक्तिको खोजतलास भइरहेको उनले जनाए ।
































