विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा कोशी प्रदेशबाट ५९.८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

प्रदेशभरिबाट परीक्षामा सामेल भएकामध्ये ६२ हजार एक सय ४१ जना विद्यार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कोशीले जनाएको छ । प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका अनुसार, ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या एक हजार ३ सय ९९ रहेको छ । त्यसैगरी ३.२१ देखि ३.६० जीपीए ल्याउने आठ हजार १५ जना, २.८१ देखि ३.२० जीपीए ल्याउने १४ हजार छ सय चारजना, र २.४१ देखि २.८० जीपीए ल्याउने ११ हजार ३ सय २६ जना रहेका छन् । यस्तै २.०१ देखि २.४० जीपीए प्राप्त गर्ने एक हजार ८ सय १० जना र १.६१ देखि २ जीपीए ल्याउने आठ जना विद्यार्थी छन् ।

यस वर्षको परीक्षामा कोशी प्रदेशबाट कुल २४ हजार ९ सय ७९ जना विद्यार्थी फेल (एनजी) भएका छन् । प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कोशीले १० जिल्ला हेर्ने गर्दछ । कार्यालयका निर्देशक दामोदर चापागाईंका अनुसार यस वर्ष कोशी प्रदेशका १० जिल्लाबाट ७१ हजार ९५७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये ५३ हजार ९ सय ५० जना नियमित र १८ हजार ७ जना ग्रेडवृद्धिका लागि सामेल भएका थिए । परीक्षा सञ्चालनका लागि १० जिल्लामा २ सय १७ वटा परीक्षा केन्द्र तोकिएको थियो । कोशी प्रदेशमा हाल सामुदायिकतर्फ ४ सय ९२, संस्थागत (निजी) तर्फ २ सय ६४ र कलेजतर्फ १८ गरी जम्मा ७ सय ७४ शिक्षण संस्थामा कक्षा १२ सम्मको पढाइ सञ्चालनमा रहेको छ ।

कान्तिपुरका महतोले नेपाल टप गरेको दाबी 

विराटनगरस्थित कान्तिपुर कलेजले यस वर्षको कक्षा १२ को परीक्षामा एक छात्रले नेपाल टप गरेको दाबी गरेको छ ।

कलेजले विज्ञान सङ्कायका छात्र राजनारायण महतोले ३.९६ जीपीए प्राप्त गरी नेपाल टप गरेको दाबी गरेको हो । कलेज प्रशासनका अनुसार यो नतिजा विज्ञान सङ्कायमा नेपालभरिकै सर्वोत्कृष्ट हो । कलेजले विज्ञान सङ्कायमा कोशी प्रदेशबाट प्रथम र देशभरमै सर्वोत्कृष्ट संस्थाहरूमध्ये परेको दाबी गरे पनि हालसम्म उक्त दाबीलाई काट्ने गरी कसैले अर्को नतिजा सार्वजनिक गरेका छैनन् । कलेजले विज्ञान, व्यवस्थापन सङ्कायमा उत्कृष्ट नतिजा आएको जनाएको छ ।

कलेजका प्राचार्य भुवन नेपालका अनुसार यस वर्षको परीक्षामा ३७ जना विद्यार्थीले ३.६१ देखि ४.०० जीपीए ल्याएका छन् । कान्तिपुर कलेजबाट ७ सय ९८ विद्यार्थी सहभागी भएकोमा ९२.३ प्रतिशत उत्तीर्ण भए ।