विराटनगर । कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा पछिल्लो एक वर्षदेखि सङ्गठित रूपमा ट्रान्सफर्मर चोरी गरेर कवाडी पसलदेखि फ्याक्ट्रीमा बिक्री गरेको पाइएको छ । 

सातजनाको समूह बनाई ट्रान्सफर्मरहरू चोरी मोरङ र सुनसरीका कवाडी पसलदेखि ठूला मेटल फ्याक्ट्रीमा बिक्री गरेको भेटिएको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रहरीले लामो अनुसन्धानबाट मुख्य योजनाकारसहित सातजना र चोरीका सामान खरिद गर्ने पाँचजना गरी १२ जनालाई पक्राउ गर्न सफल भएको छ । यो गिरोहले करिब नौ लाख रुपैयाँ मूल्य पर्ने २ सय ५० केभीको ट्रान्सफर्मरभित्रको तामा मात्र दुई लाख रुपैयाँमा बिक्री गरेको पाइएको छ । गत माघ १० गतेयता मात्रै तीन जिल्लाबाट २२ वटा ट्रान्सफर्मर चोरी भएको थियो । सुनसरीमा १२, मोरङमा ८ र झापामा २ स्थानबाट ट्रान्सफर्मर चोरी भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । ५० केभीदेखि १ सय केभी क्षमताका ट्रान्सफर्मरहरू चोरी भएका थिए । नेपाल विद्युत् प्राधिकरणका अनुसार जसको मूल्य प्रतिगोटा ५ लाखदेखि १२ लाख रुपैयाँसम्म पर्छ । 

कोशी प्रदेश प्रहरी कार्यालयका डिआईजी ईश्वर कार्कीले मङ्गलबार पत्रकार सम्मेलन गरेर पक्राउ पर्नेहरू झापा, मोरङ र सुनसरीमा एउटै समूह बनाएर चोरीमा सक्रिय रहेको बताए । चोरीमा संलग्न हुनेहरूमा मोरङ ग्रामथान–४ का ४२ वर्षीय अर्जुनकुमार माझी (चौधरी), सोही ठाउँका ३१ वर्षीय इरज धामी, सुनसरी दुहबी–३ का ३५ वर्षीय अनुज विश्वास (चौधरी), मोरङ बेलबारी–४ का २६ वर्षीय अर्जुन चौधरी, भारत घर भई हाल सुनसरी दुहबी–४ ससुरालीमा बस्ने ३४ वर्षीय आलम मियाँ, बेलबारी–३ का २७ वर्षीय रञ्जित तामाङ र दुहबी–२ का ३९ वर्षीय प्रयागकुमार खाँ चौधरी रहेका छन् ।

त्यस्तै चोरीको सामान खरिद गर्नेहरूलाई पनि प्रहरीले पक्राउ गरेको उनले जानकारी दिए ।  पक्राउ पर्नेहरूमा विराटनगर–३ का ५३ वर्षीय लक्ष्य प्रधान, विराटनगर–६ का ६२ वर्षीय कृष्णगोपाल ताम्राकार, सुनसरी दुहबी–३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहबी–२ का ३१ वर्षीय कपिल भट्ट र इटहरी–४ का ३९ वर्षीय सीताराम राई छन् । उनीहरूले सञ्चालन गरेका कवाडी पसल र फ्याक्ट्रीहरूमा चोरीको तामा खरिद–बिक्री हुने गरेको थियो । “उनीहरू सामान्य चोर होइनन्, अनुभवी र दक्ष प्राविधिक हुन्” डिआइजी कार्कीले भने, “चोरी गर्नुअघि ११ हजार भोल्टको प्रसारण लाइनलाई सट गराएर विद्युत् आपूर्ति बन्द गराउने, अनि मात्र पोलमा चढेर ट्रान्सफर्मर झार्ने गर्थे ।” ट्रान्सफर्मरबाट तामाको क्वाइल निकालेर पिकअप गाडीमा हालेर लैजाने गरेको अनुसन्धानबाट खुलेको छ ।

यो गिरोहले चोरेको तामा विराटनगरका लक्ष्य प्रधानको कवाडी पसल, अजयकुमार साहको दुर्गा भाँडा पसल, कृष्णगोपाल ताम्राकारको मनकामना मेटल्स एण्ड सप्लायर्स, इटहरीका सीताराम राईको भाँडा पसल, दिलिप चौधरीको कवाडी पसल र मोरङ बुढीगंगास्थित विनय साहको एसएस मेटल फ्याक्ट्रीमा बिक्री गर्ने गरेको थियो । प्रहरीले यी स्थानहरूबाट ३६८.५ किलोग्राम तामाको क्वाइलसमेत बरामद गरेको छ ।

यसरी खुल्यो चोरीको रहस्य

सुनसरी र मोरङका ग्रामीण क्षेत्रमा शृङ्खलाबद्ध रूपमा ट्रान्सफर्मर चोरी हुन थालेपछि नेपाल विद्युत् प्राधिकरण, कोशी प्रदेशका प्रमुख राजीव सिंहले प्रहरीलाई गुहारेका थिए । घटनाको गम्भीरतालाई मध्यनजर गर्दै प्रदेश प्रहरी कार्यालयले इन्स्पेक्टरकोे नेतृत्वमा ३५ जनाभन्दा बढीको विशेष अनुसन्धान टोली गठन गर्यो ।

अनुसन्धानकै क्रममा साउन ९ गते राति मोरङको रङ्गेली नगरपालिका–९ स्थित खानेपानी आयोजनाको ट्रान्सफर्मरनजिक २ वटा मोटरसाइकलमा आएका तीनजना व्यक्ति शङ्कास्पद अवस्थामा देखिएको प्रहरीले जनाएको छ । प्रहरी टोलीलाई देख्नासाथ उनीहरू भाग्न सफल भए तर त्यहीँ पोलमा चढिरहेको अवस्थामा मोरङ ग्रामथान–४ का अर्जुनकुमार थारूलाई प्रहरीले रङ्गेहात पक्राउ ग¥यो । उनै अर्जुनको बयानका आधारमा प्रहरीले अन्य सदस्य तथा खरिदकर्तासम्म पुग्न सफल भयो । “लामो प्रयासपछि हामीले यो सञ्जाललाई नै तोड्न सफल भएका छौँ” डीआईजी कार्कीले भने, “यो गिरोह पक्राउ परेपछि हाल ट्रान्सफर्मर चोरीका घटना पूर्णरूपमा रोकिएका छन् ।”

प्रहरीले घटनास्थल र अभियुक्तहरूको साथबाट चोरीमा प्रयोग भएका २२ थान डायल रेन्च, ३ थान सलाई रेन्च, ३ थान पिलास, पेचकस, छिनो, साङ्लो, कैँची, ह्याक्स, खन्ती र ब्याट्रीसहितको इलेक्ट्रिक ग्रेन्डर सेट बरामद गरेको छ । साथै चोरीमा प्रयोग भएका पाँच थान मोटरसाइकल र को.१ च ७७२९ नम्बरको पिकअप गाडी पनि नियन्त्रणमा लिइएको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङले अदालतबाट म्याद थप गरी सङ्गठित अपराध र चोरीको कसूरमा अनुसन्धान अगाडि बढाएको छ ।