धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको पद रिक्त भएको महिनौँ भइसक्यो । यस पदका लागि हालै ६ जनाको नाम ’सर्ट लिस्ट’ मा राखिएको छ । यस घटनाले प्रतिष्ठानको नेतृत्व कसले लिन्छ भन्ने चासो बढेको छ । तर यो छनोट प्रक्रिया योग्यताका आधारमा भइरहेको छ कि राजनीतिक भागबण्डाले निर्देशित गरेको छ भन्ने प्रश्न पनि उठेको छ । उपकुलपति पदका लागि १३ जनाले आवेदन दिएका थिए । स्वास्थ्य मन्त्रालयले गत असार ४ गते सर्च कमिटी गठन गरेपश्चात् उपकुलपतिको लागि दरखास्त आह्वान गरेको थियो । सोही आह्वानअनुसार १३ जनाले आवेदन दिएका थिए । त्यसमध्ये सात जना बीपी प्रतिष्ठानमा मात्रै थिए । यसअघि पनि दुई जना बीपी प्रतिष्ठानबाटै उपकुलपति बनेका थिए । बलभद्रप्रसाद दास र राजकुमार रौनियार बीपी प्रतिष्ठानबाटै उपकुलपति हुनेमा पर्छन् । तर, उनीहरुको कार्यकालमा भ्रष्टाचारलगायत बेथिति भएको कुराहरु प्रशस्त बाहिर आएका थिए । बीपी प्रतिष्ठानको गरिमा र साख पनि सोही कालदेखि नै बिग्रिएको हो भन्नेहरु पनि प्रशस्तै थिए । तर, पछिल्लो समय धरानेहरुले धरानबाटै हुनुपर्ने अडान राख्दै आइरहेका छन् । यसपटकको सर्ट लिस्टमा बीपी प्रतिष्ठानबाट तीनजना परेका छन् । तीनजना बाहिरका छन् । 

बीपी प्रतिष्ठानबाट प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, प्रा.डा. पशुपति चौधरी र प्रा.डा. प्रह्लाद कार्की समावेश छन् । यी सबैजनाको आ–आफ्नै पृष्ठभूमि रहेको छ । उनीहरुले बीपी प्रतिष्ठानको कुनै न कुनै नेतृत्व सम्हालिसकेका हुनाले पनि उनीहरु पनि उपकुलपतिका लागि योग्य मानिएका छन् । अर्कोतिर धरानबाट प्रतिनिधित्व गरेका विक्रमप्रसाद श्रेष्ठलाई स्वच्छ छविका डाक्टरको रुपमा पनि लिइन्छ । तर यहाँ उपकुलपति हुनका लागि स्वच्छ छविले मात्रै पुग्दैन । राजनीतिक भागबण्डा र पैसाको खेलो चल्ने गरेको छ । यसले पनि कसको पोल्टामा जाने हो भन्ने अहम् प्रश्न रहेको छ । धरानेहरुको चिन्ता एकातिर छ भने सरकारको आफ्नो किसिमको शैली छ । भागबण्डाका हिसाबमा यहाँ नेपाली काङ्ग्रेसको पनि डा. शेखर कोइरालाको गुटले पाएको बजार हल्ला यसअघि नै आइसकेको छ । कतिपयले खुलेर नै बोलेको अवस्था छ । यस्तो अवस्थामा धरानबाटै प्रतिनिधित्व हुने सम्भावना न्यून छ । उपकुलपतिको भागबण्डामा राजनीतिक दलहरुको चलखेल हुने त प्रष्ट नै छ । किनकि नेपाली काङ्ग्रेस र नेकपा (एमाले)को भागबण्डा नमिलेकै कारण धेरै लामो समयपछि मात्रै उपकुलपतिका लागि सर्ट लिस्ट गरिएको अवस्था छ । देशका चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खाली भएको महिनौंपछि मात्रै पदपूर्ति गर्न लागिएको छ । यसले पनि यो राजनीतिक भागबण्डाबाटै आउँछन् भन्ने प्रष्ट भएको छ । 

राजनीतिक भागबण्डा एकातिर छ भने अर्कोतिर पैसाको खेल पनि हुने गरेको ओपन सेक्रेट जत्तिकै छ । जसले बढी पैसा खर्च गर्न सक्यो, उसैले उपकुलपतिको जिम्मेवारी पाउने निश्चित जस्तै बनेको छ । यसले गर्दा पनि बीपी प्रतिष्ठानको हित र समृद्धिका लागि सोच्नेभन्दा पनि बढी ध्यान पैसा कमाउनेतिर जाने गरेको छ । यसले बीपीलाई सदैव तहसनहस बनाउँदै लगेको अवस्था छ । योग्यता र अनुभवलाई भन्दा पनि पैसा र राजनीतिलाई मूल आधार बनाइँदा बीपीको उन्नति हुन सकेको छैन । जोकोही पनि उपकुलपति भएमा उनीहरुले बीपीको हित गर्नेभन्दा पनि आफ्नो हितखातिर काम गर्नेतिर लाग्छन् । जसले गर्दा राम्रा मान्छेहरुले कमै अवसर पाउँछन् । फलतः प्रतिष्ठान सुधारभन्दा झन् झन् समस्यामा जकेडिँदै गएको छ । यसै पनि बीपी पूर्वको रेफरल सेन्टर भए पनि यसले आफ्नो अस्तित्वलाई जोगाउन नसकेको अवस्था छ । शिक्षा, अनुसन्धान र उपचारमा जति नाम कमाउनुपर्ने हो त्योअनुसार अगाडि बढ्न सकेको छैन । राजनीतिक भागबण्डाले गर्दा योग्य व्यक्ति पछाडि पर्दै आएका छन् । यसको प्रत्यक्ष असर प्रतिष्ठानको समग्र विकास र सेवा प्रवाहमा पर्न सक्छ । आशा गरौँ, सर्च कमिटीले निष्पक्ष र योग्यतामा आधारित छनोट गर्नेछ । बीपी प्रतिष्ठानको उपकुलपतिको पद कुनै राजनीतिक लाभको पद नभएर यसलाई शैक्षिक र स्वास्थ्य क्षेत्रको नेतृत्व दिने एक महत्वपूर्ण जिम्मेवारीको रुपमा हेरिनुपर्छ । देशका ठूला स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको उपकुलपति पद रिक्त हुनुले हाम्रो स्वास्थ्य प्रणालीको व्यवस्थापनमा देखिएको कमजोरीलाई पनि उजागर गर्छ । अन्ततः बीपी प्रतिष्ठानजस्तो गौरवपूर्ण संस्थाको नेतृत्वमा योग्य, दूरदर्शी र निष्पक्ष व्यक्तिलाई ल्याउनु अपरिहार्य छ । राजनीतिक दबाव र भागबण्डालाई पन्छाएर मात्रै प्रतिष्ठानको भविष्य उज्वल हुनसक्छ ।