सामान्यतः गल्ती गर्नुलाई नराम्रो र अबाञ्छनीय मानिन्छ । त्यसैले अपेक्षा गरिन्छ–मान्छेले कुनै पनि गल्ती नगरोस् । सिकाइका क्रममा बालबालिकाले गल्ती गर्दा शिक्षक हैरान हुन्छन् । कतिपय शिक्षक आफ्नो हैरानी–असन्तुष्टि बालबालिकामाथि यसरी पोख्छन्–‘मूर्ख, यत्ति पनि आउँदैन, गोबर भरिएको ।’ तर, कतिपय शिक्षकहरू चाहिँ गल्ती गर्दागर्दै पनि बालबालिकाले सिक्छन् भन्ने मान्छन् र गल्ती गर्नेलाई फेरि सिकाउने–सम्झाउने काम गर्छन् । शिक्षाशास्त्रीहरूको विचारमा सिक्ने क्रममा स्वभाविक रूपमै गल्ती हुन्छन्, यस्ता गल्तीको उपयोग सिकाउनकै लागि गर्नु बढी बुद्धिमानी हुन्छ ।

सिकाइ र सिकाइको क्रममा हुने गल्तीका सम्बन्धमा फारसी भाषामा सन् १३२०–२२ तिर लेखिएको सुफी ग्रन्थ ‘फबाईलदुल फुआद’ मा एउटा चाखलाग्दो प्रसङ्ग भेटिन्छ । त्यसअनुसार, सुफी सम्प्रदायमा मान्छे दुई किसिमका हुन्छन् भन्ने विश्वास गरिन्छ– पहिलो, जसले कहिल्यै गल्ती गरेको छैन अनि दोस्रो, जसले गल्ती गरेर पनि आफूलाई सुधारेको छ तर, यी दुईथरीमध्ये राम्रो वा असल कसलाई मान्ने ?

यो प्रश्नको जवाफ सुफी विद्वान ख्वाजा निजामुद्दीनले अर्को उपकथा जोडेर यसरी दिएको पाइन्छ :
‘एक पटक गल्ती गर्दै नगर्ने मानिस ठूलो र असल हो कि गल्तीबाट पाठ सिकेर आफूलाई सुधार गर्ने मानिस असल हो भन्ने विषयमा दुई भद्र पुरुषबीच चर्को विवाद पैदा भएछ । जति बहस गर्दा पनि कुनै निष्कर्ष ननिस्किएपछि उनीहरू फैसला गरिदिनुप¥यो भनी त्यहाँका सर्वमान्य व्यक्ति (मसिहा) लाई गुहार्न पुगे । मसिहाले यो विषयमा आफूले केही पनि भन्न नसक्ने तर, बाटोसम्म देखाइदिन सक्ने भन्दै ती दुवै व्यक्तिलाई त्यस राति सँगसँगै बस्न र बिहान घरबाट बाहिर निस्किँदा जोसँग पहिलो भेट हुन्छ, आफ्नो प्रश्नको जवाफ उसैसँग सोध्नू भनेर पठाइदिए ।

मसिहाको आदेश बमोजिमसँगै रात बिताएर ती व्यक्तिहरू बिहान सबेरै सडकमा निस्किए । त्यहाँ उनीहरूले सर्वप्रथम एउटा अधवैंशे पुरुषलाई भेटे । त्यो पुरुषको नजिक पुगेर उनीहरूले आफ्नो प्रश्न दोहो¥याउँदै सोधे– ‘यी दुईथरीका मानिसमध्ये कुन राम्रो( जसले कुनै गल्ती र त्रुटि गरेकै छैन अथवा जसले गल्ती र त्रुटि त गरेको छ तर, आफ्नो गल्ती थाहा पाएपछि आत्मसात गरेर आफूलाई सुधारेको या भविष्यमा त्यस्तो नदोहो¥याउने प्रण गरेको छ ?’

प्रश्न सुनिसकेपछि त्यो मानिसले अलि झिजो माने झैं गरी भन्यो– ‘ए १ म एउटा अनपढ जुलाह (बुनकर) लाई यस्ता कुरा के थाहा हुन्छ र ? मैले त कपडा बुन्न मात्र जानेको छु । जहाँसम्म कपडा बुन्दाको कुरा छ, कपडा बुन्दा बारम्बार धागो चुँडिन्छ । चुँडिएको ठाउँमा गाँठो पारेर धागो गाँस्दै लुगा बुन्नुपर्छ । हो, चुँडिएपछि गाँठो पारेर जोडेको धागो नचुँडिएको धागोभन्दा बलियो हुन्छ । खासमा धागो चुँडिनु भनेको त्यसको कमजोर भाग पहिल्यै थाहा हुनु पनि हो । त्यस्तो कमजोर ठाउँमा गाँठो पारिदिँदा धागो साँच्चै मजबुत हुन्छ, नचुँडिएको धागोभन्दा पनि मजबुत हुन्छ । अनि कपडा पनि बलियो हुन्छ ।’

जुलाहको जवाफ सुनिसकेपछि मसिहाले ती दुई व्यक्तिलाई भने, ‘तिमीहरूको प्रश्नको सही जवाफ त्यही हो ।’

हुन त सामान्य मानिसका आँखाले गाँठागुठी नभएको सग्लो धागोबाट बुनिएका कपडा नै राम्रो देख्छन् तर, लामो र सग्लो धागोभन्दा गाँठै–गाँठा भएको धागो बलियो हुन्छ भन्ने कुरा एउटा बुनकरले जति अरू कसैले बुझ्दैन । बारम्बार धागो छिन्दा बुनकरलाई अवश्य पनि झन्झट हुन्छ, तर त्यति नगरे बलियो कपडा पनि त बुनिँदैन ।

बालबालिकाको सिकाइ पनि काँचो(कमजोर धागोको कपडा बुनाइ जस्तै हो । बालबालिकाले सिक्ने क्रममा जति गल्ती गर्छन्, सुधार्ने मौका पनि त्यति नै पाउनुपर्छ । गल्ती गर्ने र सुधार्ने समान अवसरले उनीहरूको सिकाइ र बुझाइलाई धागोको गाँठो जत्तिकै बलियो, मजबुत तुल्याइदिन्छ । अनि ‘धागो चुँडिएको’ ठाउँमा गाँठो पारिदिन अर्थात् बालबालिकाले सिक्ने क्रममा गरेका गल्ती–त्रुटि सच्याइदिन शिक्षकले कहिल्यै झिजो मान्नुहुँदैन । किनभने गल्ती गरेर त्यसलाई सुधार्ने बालबालिकाले नै अरूले भन्दा राम्ररी सिक्छन् ।
साभारः शिक्षक मासिक