घटना १
‘हिमाल सर, तपाईंलाई विद्यार्थीहरूले भुट्निज शरणार्थी भन्दा रहेछन् ।’
‘ए, मलाई किन त्यसो भनेको होला सर ?’
‘विद्यार्थीहरूको बुझाइमा तपार्इं हेर्दा भुटानी जस्तो लाग्छ रे ।’
‘कुरा ठीकै त हो, भुटानका भुटानी र नेपालका राई, लिम्बू उस्तै देखिन्छन् ।’
‘तर, मलाई चाहिँ नेपाली नै भनेँ, म भुटानी शरणार्थी होइन रे ।’
‘तपाईंको नाक चुच्चो भएर होला है सर ?’
‘खोइ, विचरा विद्यार्थीहरूले अनुहार हेरेर मान्छेको जात र भेष हेरेर देश अन्दाज गर्ने हुन् । उनीहरूले यही उमेरमा यस्ता कुरा बुझ्दैनन्, सर ।’
‘सही भन्नुभो सर । रूप, रङ र जात हेरेर मान्छे चिन्न खोज्ने उमेरका हुन् स्कुले केटाकेटीहरू ।’

माथिको संवाद मेरा सहकर्मी शिक्षकसँगको हो । वि. सं. २०६३ सालमा ती मित्र र म एकै दिन इटहरीको एउटा बोर्डिङ स्कुलमा भर्ती भएका थियौँ । हाम्रो डेरा पनि एउटै थियो । सुरूदेखि नै हामी रूममेट भएर एउटै भान्सा सेयर गर्दै आएका थियौं । जातले म लिम्बू, मेरो साथी बाहुन । राष्ट्रियताले म नेपाली, ऊ नेपाली मूलको भुटानी । मेरो घर मोरङको उर्लाबारी, ऊ मोरङको पथरीशनिश्चरे शरणार्थी शिविर । तर, विडम्बना विद्यार्थीहरूको नजरमा मेरो साथी नेपाली देखियो, म भुटानी शरणार्थी देखिएँ । त्यसबेला नेपालमा भएका भुटानी शरणार्थीहरूलाई तेस्रो मुलुकमा पठाउने कार्य सुरू भएको थिएन ।

धेरै प्राइभेट स्कुलहरूको शिक्षक पाउने स्रोत केन्द्र जस्तै भएका थिए नेपालमा रहेका भुटानी शरणार्थी शिविरहरू । सस्तो तर योग्य शिक्षकहरू उत्पादन गर्ने फ्याक्ट्री जस्ता थिए ती शरणार्थी शिविरहरू । मैले पढाउने बोर्डिङ स्कुलमा पनि झण्डै आधा सङ्ख्यामा शिक्षकहरू शरणार्थीहरू थिए । उनीहरूको स्कुलिङ नेपालको भन्दा उत्कृष्ट, अङ्ग्रेजीमा राम्रो दख्खल भएकाले नेपाली जनमानसको विश्वास उनीहरूमा बढी थियो । त्यसैले प्राइभेट इङ्लिस बोर्डिङ स्कुलहरूमा शरणार्थी शिविरका शिक्षकहरूको माग अत्यधिक थियो । स्थानीय शिक्षकहरू बाहेक टाढाका शिक्षकहरूलाई विद्यालयले पनि दार्जिलिङको अर्थात् शिविरको भनेर प्रचार गर्दथ्यो । त्यसरी प्रचार गरेपछि अभिभावहरूले त्यस स्कुलको अङ्ग्रेजी वातावरणमा र शिक्षाको गुणस्तरमा ढुक्क भएर विश्वास गर्ने चलन थियो त्यसबेला । यसबाट विद्यालयका मालिकहरूलाई दोहोरो फाइदा थियो । पहिलो विद्यार्थी सङ्ख्यामा वृद्धि हुने, दोस्रो न्यून तलबमा दक्ष शिक्षक पाइने । यसैले प्राइभेट स्कुलहरू नेपाली नागरिकभन्दा गैर नेपालीहरूलाई काम दिन प्राथमिकता दिने गर्दथे । कतिपय प्राइभेट स्कुलहरूमा नेपाली माध्यमको सरकारी स्कुलमा पढेका नेपाली नागरिकहरूले पढाउने काम नपाउने अवस्था थियो त्यस समयमा ।

घटना २
‘हाँ हाँ हाँ, स्वामीजी टिचर पो हुनुहुँदो रहेछ, मलाई लाग्थ्यो तपार्इं आर्मीमा हवल्दार वा जम्दार हुनुहुन्छ ।’
‘होइन, म यो मास्तिरको सैनिक स्कुलमा पढाउँछु । शिक्षक हुँ म ।’
‘ए, स्वामीजी टिचर हुनुहँुदो रहेछ, हेर्दाखेरि बन्दुक हान्ने जस्तो लाग्छ । हाँ हाँ माइण्ड नगर्नुस् है ओशो सन्यासी भएपछि ।’
‘आइपरेको अवस्थामा बन्दुक पनि हान्छु है स्वामीजी ।’
‘हाँ हाँ खतरा हुनुहँदो रहेछ है हाँ हाँ ...।’

ती हाँ हाँ ... गर्दै बारम्बार ठूलो स्वरमा हाँस्ने व्यक्ति धरान ओशो महापरिनिर्वाण आश्रमका एक साधक हुनुहुन्थ्यो । ओशोका साधकहरूलाई सम्बोधन गर्दा स्वामीजी भन्ने गरिन्छ । ती स्वामीजीको मप्रतिको बुझाइ कस्तो थियो भन्ने कुरा यो संवादमार्फत् खुट्याउन सकिन्छ । ती स्वामीजीको सोच पूर्वाग्रहले भरिएको चाहिँ थिएन । धरान फुस्रेको नेपाल आर्मी क्याम्पभित्र सैनिक आवासीय महाविद्यालय पनि रहेको छ भन्ने जानकारी ती स्वामीजीलाई थिएन ।

वहाँलाई कसैले यो स्वामीजी आर्मी क्याम्पको हो भनेको थियो होला सायद । त्यसैको आधारमा ती स्वामीजीले मेरो व्यक्तित्वको बारेमा अड्कल काटेको हुनसक्छ । कुनै मान्छेले नजिकिएर सबै कुरा नबुझेसम्म अरूको बारेमा अनेकथरि दृष्टिकोणले हेर्ने गर्दछ । कुनै व्यक्तिको अनुहार, जात, थर, लवाइ, खवाइ, जीवनशैली, काम (जागिर) र उसको ठेगानाको सामाजिक वातावरणको आधारमा मान्छेले व्यक्तित्वको अनुमान र प्रतिच्छवि सोचेको हुन्छ । उपरोक्त संवादले यही कुराको सङ्केत गर्दछ ।

घटना ३
‘दाइ, राम सर कता पो जानुभाको होला ?’
‘मलाई थाहा भएन । म भर्खरै आएको हुँ, नानी ।’
‘यो सर पनि कहाँ गाको नि मलाई यहाँ बोलाएर । दाइ राम सरलाई बोलाइ दिनुन ।’
‘एकछिन पर्ख न । तिमी कहाँबाट यो इन्स्टिच्युटमा पढ्न आको हो, नानी ?’
‘तेह्रथुम वसन्तपुरबाट हो दाइ ।’
‘कुन बिषयको ब्रिज कोर्स गर्दैछौ ?’
‘साइन्सको हो ।’
‘ब्रिज कोर्स गरेपछि कुन कलेज पढ्ने विचार छ ?’
‘पढ्न चाहिँ यहीँ धरानमै पढ्ने तर, कुन कलेजमा पढ्छु, फिक्स छैन । कि ..न सोध्नुभाको दाइ ?’
‘म पनि धरानको एउटा कलेजमा पढाउँछु, त्यसैले सोधेको नानी ।’
‘होइन होला हउ दाइ ।’
‘किन नपत्याएको नानी ?’
‘तपाई टिचर जस्तो लाग्दैन र नि ।’
‘तिम्रो विचारमा टिचर कस्तो देखिनु पर्छ ?’
‘टिचर त अर्कै खालको, अलिक आर्कै जस्तो ... कस्तो भन्नु र हउ हिँ हिँ ।’

त्यति नै खेर राम सर आइपुग्नु हुन्छ र अफिसभित्र पस्दै मतर्फ हरेर भन्नुहुन्छ, ‘ए सर, नमस्ते, आइपुग्नु भयो ? आज सरको क्लास स्टाफ नर्स ग्रुपलाई छ, रूम नम्बर चारमा ।’

‘एहे .... साँच्चिकैको सर पो रै’छ यो दाइ त ।’ यति भन्दै ती विद्यार्थी अफिसअगाडिको बेञ्चबाट उठेर अर्को कोठातर्फ जान्छिन् । म तोकिएको कक्षातिर लाग्छु ।

धरानको एक इन्स्टिच्युटमा ब्रिज कोर्स पढाउन जाँदा एकजना जनजाति छात्रासँग मैले गरेको अन्तरक्रियाको किस्सा हो यो । त्यसबेला मैले कपडाको टिसर्ट र जिन्सको पाइण्ट लगाएको थिएँ । सामान्य चप्पल लगाएको थिएँ भने एउटा पछाडि भिर्ने ब्याग बोकेको थिएँ । त्यही पोसाकले मलाई ती विद्यार्थीको नजरमा शिक्षक देखाएन कि उनको बुझाइमा शिक्षकको व्यक्तित्व र इमेज अर्कै खालको थियो होला ? म सोच्न बाध्य भएँ ।

माथिका तीनवटा घटनाहरूमा मैले म को हुँ भनेर प्रमाणित गर्नु यो लेखको उद्देश्य कदापि होइन । तर, जतिबेला यस्ता घटना भोग्नुपथ्र्यो मलाई कताकता आफ्नो पहिचान र राष्ट्रियतामा शङ्का लाग्थ्यो । खासमा भनौं मेरो मङ्गोलियन अनुहार नै मेरो पहिचानको सङ्कट बनेर उभिएको हुन्थ्यो । यही अनुहारले कतै नेपाली हुनुको पहिचान नै धरासायी बनायो भने कतै मेरा पेसागत पहिचानमै सङ्कट खडा गरायो । यस्ता घटनाहरूले देखाउँछन् एउटा व्यक्तिले पहिचानको सङ्कटको सामना गर्नुपर्दा कति मनोवैज्ञानिक असर पर्छ भनेर । यहाँ यही कुरा उजागर गर्न मात्र खोजेको हुँ । मैले समग्र जनमानसको बुझाइ हेराइलाई औंल्याउन खोजेको होइन ।

नेपाली समाज बहुलवादी समाज भए तापनि शैक्षिक इतिहासमा एकल जातीय दबदबा रहेको तथ्य छर्लङ्ग छ । नेपालका सचेत जात ब्राह्मणहरूले सबैको गुरु र विद्यालयका शिक्षक हुनुको गहिरो प्रभाव छाडेका छन् । शिक्षामा पिछडिएका जनजातिहरू शैक्षिक, प्रशासनिक र राजनीतिक शासनसत्तामा कमै सहभागी भएको तीतो सत्य छ । प्रायःजसो जनजातिहरू खेतीपाती गर्ने, लाहुर र परदेश जाने काममा हुन्छन् भन्ने नश्लीय सोच (ीष्लभब ितजष्लपष्लन) रहेको पाइन्छ । नेपालमा समावेशी लोकतन्त्र लागू हुनुपूर्वको अवस्था जनजातिहरूका लागि झनै खेदलाग्दो थियो । तथ्याङ्कमा नेपालको शिक्षा २०६४ को प्रतिवेदनअनुसार प्राथमिक तहमा २२.९ प्रतिशत, निम्नमाध्यमिक तहमा १०.९ प्रतिशत र माध्यमिक तहमा ७.२ प्रतिशत शिक्षकहरू मात्र जनजाति समुदायका थिए (हेर्नुस् 'Nepal Education in Figures 2009 At-A-Glance') ।

लोकतन्त्रको उपलब्धिस्वरूप समावेशीताको आधारमा शिक्षक सेवा आयोगले खुलाउने शिक्षकको जम्मा कोटामध्ये ४५ प्रतिशत जनजातिको रहेको छ । यसले जनजातिहरूको सहभागिता शिक्षा क्षेत्रमा बढाएको छ र बढ्नेछ । यो व्यवस्थाले शिक्षा, प्रशासन र राज्य शासनमा जनजातिहरूको सङ्ख्या बढ्नेछ । यसको प्रत्यक्ष असर जनजातिहरूलाई हेरिने नजरमा फरक पर्नु हुनेछ । किनभने कुनै पनि जातीय समुदायको सांस्कृतिक र शैक्षिकस्थितिले त्यस जातप्रति हेर्ने एउटा दृष्टिकोण निर्माण गरेको हुन्छ । त्यो जातलाई कुन रङको चस्माले हेरिन्छ भन्ने कुरा त्यो जातको आर्थिक धरातल, सामाजिक अवस्था आदिले निर्धारण गर्दछ ।

नेपालको शिक्षा क्षेत्रमा क्षेत्री, ब्राह्मण जातले वर्षौंदेखि भूमिका खेलेकाले यस्तो लाग्छ शिक्षक उनीहरूकै अनुहारको जस्तो हुनुपर्छ । कुनै ब्राह्मण जन्मजातै शिक्षित व्यक्ति हो कि जस्तो भान पर्दछ । यहाँ कोही ब्राह्मणको उचाइ बढाउन र जनजातिलाई क्षुब्ध बनाउन खोजिएको पटक्कै होइन । नेपालको परिप्रेक्ष्यमा कुनै जातिको अनुहार र नाकले पनि कुन पेसाको मान्छे हो, कस्तो व्यक्तित्वको हो भन्ने देखाउँदै आएको उदाहरणहरू छन् । माथिका घटनाका संवादहरू यसैका उदाहरणहरू हुन् । यस्ता रूढीवादी (stereotyped) सोचहरूले कसरी एउटा जात वा समुदायको आत्मपहिचानमा आघात पुग्छ भन्ने कुरा यहाँ प्रष्ट्याउन खोजिएको हो ।

यस्ता सङ्कीर्ण सोचहरू जनजातिको शैक्षिक विकास र राज्य संयन्त्रमा सहभागितासँगै अवश्य कमी हुँदै जानेछन् । समाजमा परेको जातीय नकारात्मक छाप हटाउन सबै जनजातिले अझ सुशिक्षित र सुसभ्य हुन कोशिस गर्नुपर्दछ । हामी नेपालीहरू सबैले एक–अर्काको सहअस्तित्वलाई बुझ्ने प्रयास गर्दै जातीय, पेसागत विभेद नगरी सम्मान गर्न सकेँ सबै जातजातिका सदस्यले पहिचान पाउन सक्दछन् । मानिसको जात मानिस नै हो अर्को जात हुँदैन भन्ने उक्ति झैँ एउटा शिक्षकको पहिचान जातले होइन, उसको शैक्षिक योग्यता, शिक्षण कौशल, लगनशीलता र पेसाप्रतिको निष्ठाले हुन्छ, जातीय आधारले हुँदैन । यस्ता कुराहरू बुझेर नेपालीहरू अघि बढ्यौँ भने राष्ट्रिय एकता सबल, सुदृढ हुनेछ र समृद्ध नेपालको सपना पूरा हुनेछ ।
(लेखकः सैनिक आवासीय महाविद्यालय धरानका अङ्ग्रेजी विषय शिक्षक हुन् ।)