आज विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको महामारीका कारण अहिलेसम्म विश्वमा ३ करोड ६० लाख ६८ हजार ७ सय ४७ जना सङ्क्रमित भई १० लाख ५५ हजार ३ सय ४७ जनाको मृत्यु भएको छ भने २ करोड ७१ लाख ७४ हजार ३ सय २२ जना निको भएका छन् । नेपालको २०७७ असोजसम्मको तथ्याङ्क अनुसार सङ्क्रमितको सङ्ख्या १ लाख ११ हजार ८ सय २ जना भई ७७ हजार २ सय ७७ निको भएका छन् । देशभर ६ सय ४५ जनाको ज्यान गएको छ । हाल सक्रिय सङ्क्रमितहरूको सङ्ख्या २५ हजार ७ रहेको, होम आइसोलेसनमा १० हजार ५ सय ९६ र क्वारेण्टिनमा ४ हजार १ सय ६४ रहेको कुरा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

विगत ७ महिनादेखि फैलिएको यो कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि भएको बन्दाबन्दी, स्थानीयस्तरमा भएका बन्दाबन्दीका कारण उद्यमी, व्यवसायी, यातायात, पर्यटन व्यवसायका क्षेत्रमा ठूलो असर परेको छ । साना उद्योग व्यवसाय गर्ने व्यवसायी र दैनिक ज्यालादारी गर्ने मजदुरवर्गलाई अहिले दैनिक गुजारा चलाउन निकै कष्ट भइरहेको छ । देशका सबै निजी तथा सरकारी शिक्षण संस्थाहरू अहिलेसम्म खुल्न नसक्दा हाम्रा भोलिका राष्ट्रका कर्णधार परिवार र समाजका कर्मशील सिर्जनशील नागरिकको रूपमा शिक्षाको माध्यमबाट विकसित र उत्पादन गर्नुपर्ने विद्यार्थी, बाल–बालिकाहरू विद्यालय नगई घरमै रहन बाध्य भएका छन् । उनीहरूको विषयगत शिक्षण सिकाइ विद्यालयहरूमा गरिने अतिरिक्त सिर्जनशील क्रियाकलाप सिकाइ बुझाइको क्षेत्रमा निश्चय नै कमी आएको छ । शैक्षिकसंस्था, विद्यालय परिवार, शिक्षक, शिक्षाकर्मीहरूले विद्यालयको शिक्षण सिकाइ गर्न चाहेर पनि सकिरहेको अवस्था छैन ।

यो विषम परिस्थितिमा पनि सरकारले विद्यार्थीहरूको शैक्षिक सत्रलाई खेर जान नदिन पाठ्यक्रम र पाठ्यपुस्तकमा भएका पाठहरूलाई संशोधन गरी घटाएर कक्षा कोठाबाहेक वैकल्पिक शिक्षण सिकाइ गरेर विद्यार्थीहरूलाई परीक्षामा सामेल गराएर कक्षा उत्तीर्ण गराउने उद्धेश्यले वैकल्पिक शिक्षण सिकाइ गर्ने नीति तय गरी लागू गरेपछि वैकल्पिक शिक्षण सिकाइका उपाय तौरतरिकासमेत किटान भएका छन् । सरकारले यो नीति लागू गरेपछि अधिकांश निजी विद्यालयहरूले अनलाइन कक्षालाई प्राथमिकतामा राखेर शिक्षण सिकाइ गरिरहेका भए तापनि साना कक्षामा यो विधि प्रभावकारी हुन नसकेको निजी विद्यालयमा पढाउने ४० प्रतिशत अभिभावक विद्यार्थीहरू यो प्रविधिको पहुँचमा नरहेको वा रहने अवस्था नभएकोले प्रभावकारी हुन सकिरहेको छैन । सरकारी सामुदायिक विद्यालयमा शहरका ठूला कक्षाका विद्यार्थीहरूका लागि अनलाइन कक्षा सञ्चालन भएको भए तापनि ग्रामीण क्षेत्र र आधारभूत तहका विद्यालयहरूमा यो प्रविधि सम्भव हुन सकेको छैन । सरकारको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ ले रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, अफ लाइन परियोजना कार्यहरू स्वाध्ययन, दूर तथा खुल्ला शिक्षाका वैकल्पिक माध्यम वा प्रत्यक्ष साक्षात्कार माध्यमबाट अध्ययन–अध्यापन सुचारु राख्ने विधि र प्रक्रिया भनी उल्लेख गरेको छ ।

सरकार र विद्यालयले चाहेर मात्र यो वैकल्पिक विद्यार्थी सिकाइलाई प्रभावकारी बनाउन र विद्यार्थीहरूलाई परीक्षामा सामेल गराएर कक्षा चढाउन सम्भव छैन । यसमा विद्यालय स“गसँगै यसमा अभिभावक, शिक्षाप्रेमी, गाउ“ ठाउ“मा रहेका शिक्षित युवाहरू, शिक्षासँग सरोकार राख्ने व्यक्ति, विभिन्न सङ्घ–संस्थाको भूमिका र सहयोगको आवश्यकता खड्किएको छ र त्यसमा विद्यालय परिवार पनि साथै रहने नै छ । यो अवस्थामा सबै अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई कुनै प्रकारको डर, त्रास नदेखाई कुनै प्रकारको शारीरिक, मानसिक यातना नदिइकन बिहान, बेलुका, दिउँसो अनुकूल समयमा घरमा स्वाध्ययन गर्ने वातावरण बनाई सहजीकरण गरिदिनु हुन ठूला कक्षाका विद्यार्थीहरूलाई गाउ“–ठाउ“का पढेलेखेका युवा, शिक्षकहरूबाट मुख्य विषयहरूको ट्युसन व्यवस्था गरेर, शिक्षासँग सरोकार राख्ने स्थानीय सङ्घ–संस्था, युवा क्लब, शिक्षित युवाहरूले आफ्ना गाउ“ टोलका कुनै पनि अध्ययनको विधिमा पहँुच पुग्न र सामेल हुन नसकेका बालबालिकाहरूलाई साना– साना समूह निर्माण गरी सिकाउने पढाउने व्यवस्था गरेर विद्यालयले सञ्चालन गर्ने वैकल्पिक शिक्षण सिकाइ विधि र प्रक्रियामा सामेल गराएर सहयोग पु¥याउन सकिनेछ भन्ने कुरा अपेक्षा गरिएको छ ।

गाउँ ठाउँ टोलमा रहनुभएका शिक्षकहरूले पनि यो कार्यलाई सघाउने, आफ्नो विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरूलाई सिकाइ सहजीकरणमा सहभागी भएर आफ्नो काम कर्तव्यमा जोडिनु हुने कुरामा आशा एवम् विश्वास छ । अहिले कतिपय हाम्रा बालबालिका विद्यार्थी भाइबहिनीहरू लामो समयदेखि विद्यालय जानु नपर्दा, पाठ अध्ययन र गृहकार्य गर्नु नपर्दा उनीहरूलाई समयमा उठ्ने, खाने, खेल्ने, लेख्ने, पढ्ने बानी टुटेको वा कम भएको हुन सक्छ र छ । उनीहरूलाई एकै पटकमा धेरै विषय र पाठहरू सिकाउने बुझाउने कोशिस नगर्नुहोस् । पढाइ र सिकाइमा धेरै छुटेका बालबालिकाहरू छन् भने अहिले उनीहरूलाई शुरुमा एक पाठ पढ्ने एक पाना लेख्ने मात्र काम दिनुहोस् । पुस्तक पढ्न अल्छी गर्ने भएका छन् भने बाल बालिकाहरूले पढ्न र बुझ्न सक्ने गीत, बालगीत, कविता, कथा, चुट्किलाहरू पढेर सुनाएर पढ्ने बानी गराएर पुस्तक पढ्ने बानीतिर आकर्षित गर्नुहोस् ।

त्यसपछि मात्र उनीहरूलाई अलिक बढी सिकाउने काम दिने गर्नुहोस् । आफू पनि बालबालिकाहरूस“ग कुनै सान्दर्भिक र ज्ञानबद्र्धक पुस्तकहरू पढ्ने, आफूले पढेका जानेका कथा प्रेरक सन्दर्भ बनाई सुनाउनु होस् । बालबालिका वा विद्यार्थीलाई यो नजान्ने मूर्ख, भुस जस्ता होच्याउने शब्द प्रयोग गरी गाली गलोज कहिल्यै नगर्नुहोस् । उसले जति सिक्छ, गर्छ राम्रो छ भोलिदेखि अझै राम्रो गर्नुपर्छ भनेर सिकाइप्रति उत्प्रेरित गर्नुहोस् । पढेपछि डाक्टर, इञ्जिनियर, वकिल, पाइलट भइन्छ, अरू काम गर्नु पर्दैन भन्ने कुरा मात्र नभन्नुहोस् । पढेपछि हामीले कुनै न कुनै काम गर्नु पर्दछ, पढेपछि असल किसान, राम्रो पशुपालक कृषक, राम्रो सीप भएको सिकर्मी पनि हुनु पर्दछ भनेर हाम्रो गाउ“–ठाउँमा गरिने पेशा व्यवसायको आवश्यकता र महत्वको बारेमा पनि सिकाउनु बुझाउनु होस् । शिक्षा सिकाइ भन्ने बित्तिकै लेख्न जानिहाल्ने, पढ्न जानिहाल्ने, पढाएको कुरा तुरुन्तै बुझिहाल्ने कुरालाई मात्र ध्यान दिने र प्राथमिकता दिने नगर्नुहोस् । उनीहरूलाई हाम्रो गाउ“ ठाउँमा गरिने सीप र कामहरू समूहमा मिलेर काम गर्ने, समूहमा मिलेर खेल्ने, कोही पाहुना आउँदा जाँदा नमस्कार गर्ने, बिदाई गर्ने, आफ्नो नाम, ठाउँका साथै आफ्नो परिचय दिने, आफूभन्दा ठूलालाई आदर गर्ने, सानालाई माया गर्ने बानी र संस्कारहरू पनि सिकाउनु होस् ।

बालबालिकाले सोधेका प्रश्न तथा जिज्ञासाहरूलाई झर्किएर टालटुले जवाफ दिने नगर्नुहोस् । बच्चाले विद्वानले उत्तर दिन नसक्ने प्रश्न सोध्छन् । त्यतिबेला उनीहरुले सोधेको प्रश्नको सही उत्तर आएन भने म पढेर भोलि भन्छु अथवा मभन्दा जान्ने मानिसलाई सोधेर भन्छु वा तिमी हामीले यति कक्षामा पढ्ने भए पछि आफै जान्ने बुझ्ने हुनेछौ भनेर उनीहरूको जिज्ञासा मेटाउने कोशिस गर्नुहोस् । शिक्षामा राम्रो अङ्क ल्याएर तह उत्तीर्ण गरेको प्रमाण–प्रत्र जागिर खानका लागि योग्य हुन्छ । शिक्षाले सिकाएको संस्कार मानवीय गुण, चरित्रको निर्माण, श्रमको सम्मान, सिर्जनशीलता, व्यवहार परिवर्तनले भने जीवन परिवार र समाजलाई चलाउने हो । शिक्षामा यो पाटो जोड्ने अहम् भूमिका पनि अभिभावककै हो ।

हाम्रा बालबालिकाहरूलाई वार्षिक परीक्षामा सामेल गराएर कक्षा उन्नति गर्नका लागि त्यत्रो धेरै केही गर्नु पर्दैन । बाल विकासका नानीहरूलाई साथीहरूसँग मिलेर बस्न, बाल गीतहरू गाउन, अङ्ग्रेजी र नेपालीमा नमस्कार तथा अभिवादन गर्न, आÏनो नाम भन्न, अक्षरहरू भन्न, कलम समात्न र केही अङ्ग्रेजी नेपाली अक्षर र अङ्क लेख्न सिकाए पुग्छ । कक्षा १ का बालबालिकाहरूलाई अङ्ग्रेजी नेपाली अक्षर पढ्न र अङ्क २० सम्म लेख्न पढ्न, नेपाली अक्षरका मात्रा चिनेर नेपाली पढ्न र लेख्न, अङ्ग्रेजीका अक्षर र अङ्क चिन्न, पढ्न, अङ्गे्रजीका शब्द र वाक्य लेख्न, पढन, नेपाली अङ्ग्रेजी अङ्कको ५ सम्मको गुणन, भागा गर्न, ज्यामितीय आकार प्रकारको अवधारणा बुझाउन, सजीव, निर्जीव वस्तुको बारेमा पढ्न र लेख्न सक्ने, साधारण सरल हिसाब गर्ने, हाम्रा लोकबाजा, राष्ट्रिय गीत र चिह्नहरू चिन्ने जान्ने बनाउँदा पुग्छ ।

कक्षा–५ का बालबालिकाहरूलाई अङ्ग्रेजी नेपाली वाक्यहरू पढ्न लेख्न सक्ने, नेपाली अङ्ग्रेजी व्याकरणका लेख्य चिह्न र प्रयोग गर्न जान्ने, साधारण सरल हिसाब जोड, घटाउ, गुणा, भागा गर्न सक्ने, १० सम्मको गुणन अङ्ग्रेजी नेपालीबाट भन्न र लेख्न सक्ने, सामान्य अङ्ग्रेजी नेपाली व्याकरण जान्ने ज्यामितीय सामग्री चिह्न र प्रयोग गरी कोण बनाउन र नाप्न जान्ने, विज्ञान, वातावरण बारे सामान्य भन्न लेख्न जान्ने, नहेरिकन गीत लेख्न, चित्र बनाउन, बोट बिरुवाका भाग र नाम भन्न लेख्न सक्ने बनाउन र सिकाउन सक्यौं भने ठूलो सिकाइ हुन सक्छ । यिनै मूलभूत विषय र क्षेत्रसँग आधारित भएर हामीले आधारभूत तहसम्मको वैकल्पिक शिक्षण सिकाइ गर्न सक्छौं ।

अहिले सरकारले वैकल्पिक शिक्षण सिकाइकै माध्यमबाट परीक्षामा सामेल गराएर विद्यार्थीहरूलाई कक्षोन्नति गर्ने नीति सरकारले ल्याएपछि निजी विद्यालयहरूमा प्रवेश शुल्क र मासिक पढाइ शुल्कको विषयलाई लिएर अभिभावक र विद्यालयबीच विवाद र द्वन्द्व चलिरहेको छ । यो विद्यालय र अभिभावकका लागि हितकर र शोभनीय कुरा होइन । निजी तथा संस्थागत विद्यालयहरूले विद्यालयको प्रशासनिक अन्य क्रियाकलाप सञ्चालन गर्न बजेट चाहिने र शिक्षक कर्मचारीलाई तलब दिन मासिक पढाइ शुल्क केही महिनाको छुट गरेर लिन पाउनुपर्ने बताउँदै आएका छन् । अभिभावकहरूले भने पढाइ नभएको महिनाको शुल्क र प्रवेश शुल्क नबुझाउने बताउँदै आएका छन् । निजी विद्यालयका अभिभावकहरूका लागि तीनवटा विकल्पहरू छन् । आफ्ना बालबालिकाहरूलाई यसै शैक्षिक सत्रमा कक्षोन्नति गर्ने भए शुल्कको बारेमा विद्यालयसँग समन्वय गरी विद्यार्थीलाई वैकल्पिक शिक्षण सिकाइको दायरामा ल्याउनु पर्यो । कि चालु शैक्षिक सत्रको लागि एक वर्ष बालबालिकाको पढाइ रोकेर अर्काे वर्षदेखि पढाउनु पर्यो, नभए शुल्क तिर्न सक्दैनौं भनेर किन विद्यालयसँग झगडा गरिरहनु प¥यो । बरु शुल्क नलाग्ने सरकारी सामुदायिक विद्यालयमा आफ्ना नानीहरू भर्ना गर्नुपर्यो ।
(लेखकः सामुदायिक शिक्षा विकास समाज, नेपालका अध्यक्ष हुन् ।)