‘शुल्क उठाउनका लागि अनलाइन कक्षा शुरु ग¥यो, हामी तिर्न सक्दैनौं शुल्क ।’ अनलाइन कक्षा भनेको शुल्क उठाउने बहाना मात्र हो, अरू केही होइन ।’ अचेल अभिभावकहरूबीच यस्तै चर्चा सुनिन्छ, ‘दशैं आएकोले दशैं खर्च उठाउन अनलाइन कक्षा चलाएको हो ।’ ‘अनलाइन कक्षामा कसरी महँगो मोबाइल किनिदिनु ? म त सक्दिनँ, बरु नपढे नपढोस् ।’

अनलाइन कक्षालाई धेरै अभिभावकले सकारात्मक रूपमा लिएको पाइँदैन । ‘यस्तै हो अनलाइन कक्षा, न राम्रो सुनिन्छ, न त राम्रो बुझिन्छ ।’ ‘अनलाइन कक्षामा हामी सबैको पहुँच छैन ।’ ‘झारा टार्न र समय बिताउनका लागि मात्र अनलाइन कक्षा सञ्चालन गरेको हो, यसको कुनै काम छैन ।’ अनि यस्ता चर्चा पनि उत्तिकै छन्, ‘हाम्रो चाहिँ के पैसाको रुख छ, के हामीलाई कोरोनाले असर पारेको छैन ?’ ‘त्यत्रो नाफा कमाएपछि नाथे ६ महिनाको तलब दिन सक्दैन, विद्यालयले ? हामीबाटै असुल्नु पर्छ ?’

अनलाइन कक्षा समस्याका रूपमा देखिएको छ तर, सहजै समाधानका उपायहरू निकाल्न सबैलाई सकस परेको छ । विद्यालयले पनि यति उति तिर्नु पर्छ भनेका होलान् । सबैले आ—आफ्नै रटान यसरी नै लिइरहे विवाद समाधान हुने कुनै सम्भावना देखिन्न । यसको प्रत्यक्ष असर निजी विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीलाई परेको छ ।

कोरोनाको कहर सबैतिर व्याप्त छ । यसबाट अछुतो हुने कमै होलान् । देशको अर्थतन्त्रलाई यसले धरासायी पार्दैछ । देशका अन्य क्षेत्र केही मात्रामा चलायमान भए तापनि शिक्षा क्षेत्र भने धेरै स्थानमा चलायमान हुन सकेका छैनन् । होटेल रेष्टुरेण्टमा बसेर खाँदा कोरोना लाग्दैन तर, विद्यालय खोलेमा कोरोना लाग्छ । यातायातमा स्वास्थ्य मापदण्ड नअपनाई यात्रा गर्दा कोरोना निष्कृय हुन्छ ? लुकीछिपी सीमानाकामा आवत–जावत उस्तै छ । राजस्व वा महसुल बुझाउने ठाउ“मा भीडभाड गरी पैसा तिर्दा कोरोना लाग्दैन तर, स्कुल खोल्यो भने कोरोना लाग्छ ।

अहिले बजारमा जानुहोस् । किनमेल गर्नेको घुइँचो त्यत्तिकै मात्रामा छ । यसो गर्दा कोरोना लाग्दैन ? यी यावत् ठाउ“मा गएर आएका व्यक्तिहरूले आफ्ना नानीहरू वा ज्येष्ठ नागरिकलाई कोरोना सार्दैन, आफू पनि सङ्क्रमित हुँदैनन् भन्ने के ग्यारेण्टी छ र ? कोरोना बढ्नमा हामी उपभोक्ताहरूको गैरजिम्मेवारपन एउटा मुख्य कारण हो भने भीडभाड हुने सम्बन्धित ठाउँमा उचित सुरक्षा प्रबन्ध र भीडभाडको समुचित व्यवस्थापन सम्बन्धित कार्यालय, निकाय र पसलेले गर्न नसकेर कोभिड–१९ ले फैलिने मौका पाएको हो भन्न सकिन्छ ।

सरकारको निर्णयअनुसार साउन महिनामा धेरै विद्यालयले भर्चुअल कक्षा सञ्चालन गरे । असोज महिनामा आएर अनलाइन शिक्षा सञ्चालन गर्नू भन्ने आदेश आएपछि सोहीअनुसार अनलाइन शिक्षा सञ्चालन गरिएको छ । कतिपय विद्यालयले सरकारको आदेश बिनै वैशाखदेखि नै अनलाइन शिक्षा सञ्चालान गरे होलान् भने कतिपयले आर्थिक अभावका कारण यसलाई अहिलेसम्म सञ्चालन नै गरेका छैनन् । अन्य क्षेत्रभन्दा निजी शैक्षिक क्षेत्रलाई कोरोनाले नराम्ररी प्रभावित पारेको छ । निजी विद्यालयमा आश्रित प्रत्यक्षरूपमा शिक्षक शिक्षिका, कर्मचारी तथा अप्रत्यक्षरूपमा उनीहरूका परिवार, क्याण्टिनवाला, पसले अनि राजस्वमा पनि असर परेको छ ।

अनलाइन शिक्षा रहर होइन, बाध्यता हो । अनलाइन शिक्षाका लागि कतिपय विद्यालयले इन्टरनेट जोडेका छन्, आवश्यकीय उपकरणहरू खरिद गरेका छन् । थप व्ययभार उठाएका छन् । हुनेले सजिलै गरे होलान् नहुनेले ऋण लिएर गरे होलान् । अनलाइन शिक्षा गर्ने भन्दैमा हावाका भरमा अनलाइन शिक्षा हु“दैनन् । कतिपय विद्यालयले अनलाइन शिक्षाका निम्ति सफ्टवेयर किनेर पढाइरहेका पनि छन् । सबै विद्यार्थीहरू र अभिभावकहरूमा अनलाइनको पहु“च छैन । यो सोह्रै आना सही कुरा हो । तर, सरकारले नै यस्तै गर्नू भनेर आदेश दिएपछि निजी विद्यालयले सरकारको कुरालाई अनुसरण गर्र्नुपर्ने हुन्छ ।

अनलाइन शिक्षाबाट विद्यार्थीहरूस“ग शिक्षक शिक्षिका जोडिन मौका पाएका छन् । केही मात्रामा भए पनि पढाउन र पढ्न सक्ने भएका छन् । सवा पाँच महिनादेखि नपढी बसेका र पढ्न पनि बिर्सन थालेका विद्यार्थीहरूलाई अनलाइन शिक्षाले तिनीहरूको पढाइमा कत्ति पनि सुधार गरेको छैन भन्न सुहाउ“दैन । अनलाइन शिक्षा झारा टार्नका लागि होइन । कतिपय शिक्षक शिक्षिकाहरूका अति साधारण खालका मोबाइल थिए होलान् जसले नयाँ मोबाइल पनि किने होलान्, यही अनलाइन शिक्षाका लागि । मोबाइलको ब्याट्रीले नथाम्ने भएपछि कतिले नयाँ ब्याट्री लगाए होलान् । यी कुराहरू अभिभावकहरूमा पनि लागू हुन्छ ।

त्यस्तै यो आधुनिक प्रविधि भएकोले सबैको दिमागमा सहजै यसको प्रयोग गर्ने सीप भएन होला । त्यसका लागि अप्ठेरो नमानी तालिम लिएर आफूलाई सहज बनाएर अनलाइन कक्षा लिएका छन् । जहा“सम्म राम्रो आवाज सुनिँदैन, बुझिँदैन भन्ने छ, त्यो त इन्टरनेट तथा प्रविधिमा कहिलेकाहीँ आउने खराबी हुन् । भौतिक तथा प्रत्यक्ष रूपमा कक्षा लिए जस्तो अनलाइन शिक्षा हुनु त सपनाकै कुरा हुने भयो । तथापि आधुनिक प्रविधिमार्फत् प्रत्यक्षरूपमा को के गरिरहेछ भन्ने कुरा धेरै मात्रामा देख्न, सुन्न, बुझ्न, बुझाउन सकिन्छ ।

त्यस्तै यसमा दोहोरो संवाद गर्न पाइने भएकोले रेडियो, टिभीमा एकोहोरो पढाइएको भन्दा यस प्रविधिलाई अझै राम्रो मान्न सकिन्छ । अनलाइन शिक्षाका लागि शिक्षक शिक्षिका दुई घण्टा अघिदेखि तयार हुनुपर्छ । कुन पाठ पढाउने, आज के गराउने, भोलि के गराउने भन्ने तयारी गर्नुपर्ने हुन्छ । अझ कतिपय विद्यालयमा विद्यालय प्रशासन जानी नजानी अत्यन्त सुझबुझपूर्ण रुटिन बनाउन चुकेको हुन्छ । कसैलाई अत्यन्तै थोरै त कसैलाई अत्यन्त धेरै कक्षाहरू पढाउन लगाइन्छ ।

धेरै पढाउनु पर्नेलाई सास्ती र थोरै पढाउनु पर्नेलाई मस्ती हुने मौका दिइने भएकोले असमान व्यवहारको शिकार तिनै शिक्षक शिक्षिकाहरू पर्ने गर्दछन् । विद्यार्थी तथा अभिभावकहरूलाई कोरोनाबाट सुरक्षित राखेर आफू कोरोनाबाट सतर्क भई अनलाइन कक्षा पढाउन घरदेखि विद्यालय गएर एक्ला एक्लै एक–एकवटा कक्षामा बस्नु र पढाइसकेर घर फर्कनु चानचुने कुरा होइन । यसरी शिक्षक शिक्षिका, कर्मचारीहरू विद्यार्थीहरूका निम्ति खट्नु भनेको कोरोनारुपी युद्घमैदानमा सिपाही खटेसरह खटेको मान्न सकिन्छ । तिनीहरूको भूमिकालाई अतुलनीय मान्दा कुनै फरक पर्दैन ।

अनलाइन शिक्षामार्फत् विद्यार्थीहरूले आफ्नै घरमा बसी सुरक्षित किसिमले पढ्न पाएका छन् । उनीहरू कोरोनाको त्रासबाट मुक्त छन् । कोरोनाले चुनौती र अवसर दुवै ल्याएको छ । शिक्षक शिक्षिकाहरूका साथै अभिभावक तथा विद्यार्थीहरूले पनि नयाँ प्रविधिको स्वाद लिने मौका पाएका छन् । घरकै लुगा लगाएर कतै नगई घरमै बसेर अनलाइन शिक्षा लिन पाउने मौका पाएका छन् । अभिभावकहरूले पनि कुन शिक्षकले कति र कस्तो शिक्षा प्रदान गर्दै छ, भन्ने कुरा जान्ने बुझ्ने मौका पाइरहेका छन् । त्यस्तै आफ्ना विद्यार्थीको स्तरीय अनलाइन शिक्षाका निम्ति कुन स्कुलले सफ्टवेयर किनेर पढाइरहेका छन् वा निःशुल्क रूपमा पाइने जुम एप्लिकेसनको मात्र प्रयोग गरेर पढाइरहेका छन् भन्ने बुझ्ने अवसर पनि पाएका छन् । विदेशमा सुरुङभित्र समेत वाईफाई टिप्ने, नेट चल्ने प्रविधि भए तापनि नेपालमा त्यस्तो अवस्था छैन । तैपनि प्रविधिको विकासक्रम, पहु“च, सर्वसुलभतालाई हेर्दा आगामी दश वर्षपछि मात्र योग्य हुन सक्ने अनलाइन शिक्षा हालसालैदेखि इन्टरनेट प्रविधिबाट हामी सबैले उपभोग गर्न पाएका छौं । अवश्य पनि सबै विद्यार्थीहरूमा विविध कारणले गर्दा अनलाइन शिक्षाको पहु“च छैन ।

यसै अवस्थामा एकातिर सम्भव भए त्यस्ता विद्यार्थीहरूका लागि अनिवार्य स्वास्थ्य सतर्कता अपनाई सामाजिक दूरी कायम गरेर आवश्यक समूह बनाई शिक्षा दिन सकिन्छ भने अर्कातिर स्वास्थ्य मापदण्ड अपनाएर आफूलाई सहज पर्ने साथीहरूसँग संयुक्तरूपमा अनलाइन शिक्षा लिन लगाउन पनि सकिन्छ । कहिलेकाहीँ प्रविधिमा आउने खराबी, अत्यधिक मोबाइलको प्रयोग गर्दा बालबालिकालगायत शिक्षक शिक्षिकामा समेत आ“खामा पर्न सक्ने खराबी यसका नकारात्मक पक्ष हुन् । त्यसैले त हालका लागि मुख्य मुख्य विषयहरूको मात्र पढाइ सीमित समयका लागि गरिँदै आएको छ ।

थोरै निजी विद्यालयहरूले निकै कमाएका छन् । थोरै निजी विद्यालयका आफ्नै भवन छन् । थोरैैले कमाए भन्दैमा सबै निजी विद्यालयलाई एउटै तराजुमा राख्नु उपयुक्त नहोला । धेरै निजी विद्यालयहरूले भवन भाडामा लिएर विद्यालय चलाएका छन् । कतिले बैङ्कबाट ऋण लिएर विद्यालय सञ्चालन गरेका छन् । सबै विद्यालयको अवस्था एकनासको छैन । कतिपय विद्यालयले भएका कमाइ लगानीका रूपमा सोही विद्यालयमा अझै खन्याएका पनि हुन्छन् । कतिले बैङ्कका किस्ता तिर्दै गरेका पनि हुन्छन् । सक्षम विद्यालयले आर्थिक समस्या आफै सहजै हल गर्न सक्ने हुन्छन् । यही महामारीका बीच शिक्षकहरूलाई तलब खुवाउन सहुलियत दरमा केही निश्चित समयका लागि सरकारस“ग ऋण मागिएका पनि थिए तर, त्यो सुनुवाइ हुन सकेन ।

कतिपय निजी विद्यालयहरूले नाफा धेरै कमाएर शिक्षक शिक्षिकाहरूलाई थोरै तलब दिने गरेका पनि होलान् । कतिपय विद्यालयले वैशाखदेखि अनलाइन कक्षा चलाई मासिक शुल्क यथेष्ट उठाएर कम तलब दिने वा दिँदै नदिने गरेका पनि होलान् । कतिपय विद्यालयले गत शैक्षिक सत्रकै तलब नदिएका होलान् । यदि यस्ता क्रियाकलाप गरिएको छ भने यो अत्यन्त निन्दनीय छ । यस्ता विद्यालयका शिक्षक, शिक्षिकाले पहिले यथार्थ कुरा बुझ्ने, विद्यालयस“ग समस्या समाधान गराइ ाग्ने, नभए सम्बन्धित निकायमा खबर गर्नु पर्दछ । शिक्षक शिक्षिका भनेका त्यस विद्यालयका खम्बा हुन् । तिनीहरूको मिहिनेतको सम्मान सबैले गर्नुपर्दछ । त्यस्तै कतिपय अभिभावकहरूले गतवर्षकै आफूले बुझाउनु पर्ने बक्यौता रकम तिरेका छैनन् होला । अन्य आयस्रोत नभएको निजी विद्यालय विद्यार्थीकै शुल्कबाट सञ्चालित हुने तथ्य घाम जत्तिकै छर्लङ्ग छ ।

यो समय भनेको अत्यन्त कठिन समय हो । एक किसिमले भन्ने हो भने सबैका लागि अग्नि परीक्षाको समय हो । कोरोनाले गर्दा कतिपय अभिभावकहरूको जागिर खोसिएको छ, आम्दानीको स्रोत घटेको छ । उहाँहरूको घरको रुखमा पैसा अवश्य फल्दैन । उहा“हरूको आर्थिक अवस्था नाजुक भएको छ । यस्तै अवस्था निजी विद्यालय र सोसँग सम्बन्धित सबैको रहेको छ । यो अवस्था भनेको आफू पनि बा“च्ने र अरूलाई पनि बचाउने हो । विद्यालय तथा विद्यालयसँग सम्बन्धित सबैको अवस्था के कस्तो रहेको छ भन्ने कुरा अभिभावकको नजरबाट बच्न सक्दैन ।

अनलाइन शिक्षामा जोडिए पैसा तिर्नु पर्ला भनेर जोडिन नै नखोज्ने धनाढ्य अभिभावकलाई यहाँ भन्नु केही छैन । त्यस्तै गरी विद्यालयले पनि कुन अभिभावकको अवस्था कस्तो छ भन्ने कुरा अवश्य जानेको होला । सबैले आ—आफ्नै अडान लिइरहे अनलाइन शिक्षा र शुल्क विवाद समस्याको समाधान निस्कन्न । अरूले के गर्छ हेरौं भन्नु र अर्काको मुख ताकेर समस्याको समाधान हु“दैन । यसैले यस सम्बन्धमा अभिभावक तथा सम्बन्धित विद्यालयले एकापसमा अन्तरक्रिया गर्नै पर्छ । वार्षिक शुल्क तथा मासिक शुल्कको विषयमा एक–अर्कामा छलफल हुनुपर्छ । वार्षिक शुल्क तथा मासिक शुल्क के कति तिर्ने भन्ने कुरा यी कुराहरूको हेक्का राखे सजिलै समाधानको उपाय निस्कन सक्छ । अभिभावकले कुन विद्यालयले सफ्टवेयर किनेर अनलाइन शिक्षा चलाउँदैछ कि निःशुल्क पाइने जुम वा म्यासेञ्जरबाट ग्रुप बनाएर पढाइरहेको छ, बुझ्नु पर्दछ ।

यसका साथै कुन विद्यालयले यथेष्ट मात्रामा कक्षा कार्य, गृहकार्य गराउँदैछ, दिइएका कार्यहरूको चेक गर्ने काम सबै कक्षाको हु“दैछ कि छैनन्, हेर्नु पर्दछ । कुनै विद्यालयको शिक्षक शिक्षिकाले पाठहरू अगाडि बढाएका छन् कि छैनन्, प्रशस्त अभ्यासहरू गर्न दिएका छन् कि छैनन् भन्ने कुरा आफै छुट्याउन सकिन्छ । अनलाइन शिक्षा चल्नुअघि सवा पा“च महिनाअगाडि आफ्ना नानीहरू कस्ता थिए, अहिले अनलाइन शिक्षा चलेपछि कस्ता भए ? अलिकति पनि बदलाव आएको छ कि छैन ? त्यो पनि हेर्न सकिन्छ । अभिभावकहरूले सकारात्मक रूपले यी सबै कुराको गहन रूपले अध्ययन गरेमा निश्चय पनि शुल्क विवादको समाधान फटाफट निस्किन्छ ।

हो, पक्कै पनि सफ्टवेयर किनेर, विद्यार्थीहरूका लागि भनेर अहोरात्र खट्ने शिक्षक शिक्षिकाहरू भएको विद्यालयहरूमा अभिभावकले चाहे शतप्रतिशत नै शुल्क तिर्न सक्छन् । हुनेले लागेका जति सबै तिरौं, थोरै हुनेले केही तिरौं, नहुनेले यति दिनभित्रमा तिर्छु भनी अठोट गरौं, तिरौं पनि । सरकार, सङ्घ–संस्थाले सबै शुल्क मिनाहा गरिदिन्छ, मेरो नानी अर्को साल कक्षा चढिहाल्छ भनेर सोच्ने हो भने त्यो गलत सोचाइ हुनसक्छ । त्यस्तै अहिले शुल्क तिर्दा पछि अर्को सालमा पनि शुल्क तिर्नु पर्ला भन्ने सोचाइ रहेको छ भने त्यो पनि गलत हुन पुग्छ । किनकि एउटै कक्षामा दुई साल फेल हुने र दोहो¥याउने अवस्थामा बाहेक बस्नु पर्दैन र एउटै कक्षामा दुई साल बस्दा शुल्क दोहोरो तिर्नु पर्दैन । अरू कसैको पर्खाइमा बस्नुभन्दा आफ्नो विद्यालयमा जाऔं, शुल्कसम्बन्धी छलफल गरौं, विद्यालयको अवस्था अनि विद्यालयको सक्रियतालाई बुझौं, आपसी समझदारी कायम गरौं । विद्यालयले पनि सहज अवस्थामा जस्तो यत्ति उति तिर्नै पर्छ भनेर अडान नलिऔं ।

अभिभावकहरू पनि यस पटक मारमा परेका छन् । उनीहरूको समस्यालाई पनि बुझ्ने कोशिस गरौं । गतवर्षको भन्दा कसैलाई पनि शुल्कमा एक पैसा पनि बढाउने काम नगरौं । सकिन्छ र मिल्छ भने विद्यमान शुल्कमा अवस्था हेरी केही सहुलियत अभिभावकहरूलाई दिऔं । उनीहरूको अवस्था हेरी आपसी समझदारीमा शुल्क विवादको समाधान निकालौं । यसको लागि सम्बन्धित अभिभावक र विद्यालयबीच छलफल गरौं । अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड अपनाएर शुल्क विवाद समाधानार्थ अभिभावकलाई विद्यालयमा बोलाउन र अभिभावक विद्यालयमा जान अप्ठेरो नमानौं । विद्यालयमा कार्यरत शिक्षक शिक्षिका तथा कर्मचारीहरूले पनि गतवर्षको झैं यस वर्ष पनि पूरै तलब चाहिन्छ भनेर अड्डी नकसौं । आफूले समय, परिस्थिति, यथार्थलाई बुझौं । अहिलेको परिस्थितिमा कसरी बा“च्ने, विद्यालयलाई डुब्नबाट कसरी बचाउने, शिक्षक कर्मचारी, अभिभावकलाई कसरी सम्बोधन गर्ने भन्ने हो । कोरोनाबाट बच्दै आफ्ना नानीहरू पढ्ने विद्यालयलाई जोगाउने र अभिभावकहरूका पनि विश्वास, भरोसालाई साथमा लिएर हि“ड्नु आजको आवश्यकता हो ।