पथरीशनिश्चरे/ कला साहित्यको क्षेत्रमा प्रदेश १ मा सक्रिय मोरङको पथरीशनिश्चरेमा ०७६ को एसइइ परीक्षामा सामेलहरुका लागि सम्पन्न प्रदेश १ स्तरीय अनलाइन चित्रकला प्रतियोगितामा पुरस्कृतहरुलाई पुरस्कार वितरण गरिएको छ ।

पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण सम्पन्न भयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सरोजा खड्गी, प्राज्ञ पवन राजवंशी, कला साहित्य प्रवद्र्धन समितिका अध्यक्ष वीरध्वज शिवा सहितले पुरस्कार वितरण गरेका छन् ।

‘लकडाउनमा भइरहेका सकारात्मक पक्ष र कामहरु’ शिर्षकमा चित्र तयार गर्न तोकिएको थियो । जसबाट प्रथम, द्वितीय, र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

नगरपालिकाको उपसमितिका रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिको आयोजना र एभरेष्ट आर्ट फ्यूजनको सहयोगमा कोरोना भाइरसका कारण जारी बन्दाबन्दी (लकडाउन) को सदुपयोग गर्दै आयोजित प्रतियोगितामा पथरीशनिश्चरे ५ स्थित सुगाहाट माविकी पथरीशनिश्चरे ५ की सन्ध्या मगर प्रथम भएकी थिइन् ।

पब्लिक हाइस्कुल धरानका रुपक राई द्वितीय र पथरीशनिश्चरे १ को सुनाखरी माविकी इक्सा केरुङ तृतीय हुन पुगे । तीन जना बाहेक उत्कृष्ठ बनेका विर्तामोडकी प्रकृति राजवंशी, पथरीशनिश्चरकी अञ्जना राई र निरोज राईलाई स्थानीय पञ्चायत माविमा सञ्चालन हुने फाइन आर्ट कलेजमा अध्ययनका लागि ५० प्रतिशत छात्रबृत्ती प्राप्त गर्नेछन् ।

प्रतियोगिताको निर्णायकमा चित्रकारहरु अनुराधा थापा, प्रनोद दत्त र छितेन शेर्पा रहेका थिए । उनीहरुलाई अनलाइनमार्फत पठाइएको प्रतियोगि चित्रमा निर्णय गरी अनलाइनमार्फत आयोजकलाई पठाएका थिए ।

एभरेष्ट आर्टले यसअघि नगरका २ स्थानको कालोपत्रे सडकमा कोरोना सचेतनाको पेन्टिङ तयार गरेर आफ्नो बार्षिकोत्सव फरक तरिकाले मनाएको थियो ।