धरान । ‘प्रेममा कति शक्ति हुन्छ’ यो वाक्यसँग जानिफकार हुन नवाजुद्दीन सिद्धिकीको ‘माझी द माउन्टेन मेन’ हेर्नुपर्ने हुन्छ । जसले २२ वर्षमा एक्लो मेहनतले पहाडमा मोटर कुद्ने सडक बनाउन पुग्छन् ।

उनको सडक बनाउने सपना तब सुरु हुन्छ, जब उनको पत्नी फगुनी (राधिका अप्टे) को पहाडबाट खसेर मृत्यु हुन्छ । त्यसपछि सुरु हुन्छ, पहाडसँगको विद्रोह । शालीन विद्रोह । गरिब घरका दशरथ माझी (नवाजुद्दीन) ले आफ्नो प्राणभन्दा पनि प्यारी फगुनी गुमाउन पुगेपछि पहाडसँग उनको रोष सुरु हुन्छ ।

त्यही पहाड जसका कारण समयमा उपचारका लागि अस्पताल पु¥याउन सक्दैन । अस्पताल त पुग्छ । तर, ढिला भएका कारण मृत्यु भएको जानकारी चिकित्सकले दिन्छ । तब उसमा पहाडप्रतिको विद्रोह सुरु हुन्छ । पहाड फोड्न सुरु गर्दा एक स्थानीयले भनेको कुरा स्मरणीय छ, ‘ओइ दशरथ यो के गरिरहेको छस् । दशरथको उत्तर हुन्छ, ‘पहाड फुटाइरहेको छु ।’

‘के त पहाड फुटाइरहेको छस्, एक्लै । पागल भइस् । मर्छस् । टाउँकोमा भूत सवार भएको छ ?’–ती स्थानीय भन्छन् ।

दलित घरनाका उनी गाउँका मुखिया अर्थात् ठूला जातिबाट दलनको शिकारमा परेका छन् । गाउँका अधिकांश दलित मुखियाबाट कुनै न कुनै रूपमा शिकार भएका छन् ।

राम्री छोरीचेली, बुहारीमाथि मुखियाका छोराको ज्यादती उस्तै छ । कथा सन् १९६० तिरको हो । जतिखेर दशरथले पहाडसँग विद्रोह सुरु गरेको छ । कथा जसै अगाडि बढ्छ । दशरथले पहाडसँग निकै आक्रोस पोखेको छ । ढुंगा प्रहार गर्छ । त्यही ढुंगा प्रहारबाट गर्मीको तापमा आगलागी सुरु हुन्छ । गाउँलेले उनलाई ‘पागल’ को संज्ञा दिएका छन् । धेरैले उनलाई पागल नै भनेर बोलाउँछन् । यहाँसम्मकी बच्चाबच्चीले पनि उनीमाथि ढुंगा प्रहार गर्ने गर्छ ।

ऊ बोल्दैन । तर, पहाडसँगको शालीन विद्रोह गरिरहन्छ । दिन, महिना, वर्षहरू बित्छन् । पहाड फोड्ने काम छाडेको छैन । त्यहीँ बीचबीचमा फ्ल्यासब्याकमा फगुनी अाइरहन्छे । कसरी फगुनीलाई आफ्नो बनाउँछ । दलित परिवार भएकाले सानैमा दशरथ र फगुनीको बिहे भएको हुन्छ । तर, बुबाले मुखियाको ऋण तिर्न नसकेपछि उसैलाई ऋण तिर्नका लागि राख्ने प्रयास गर्दा ऊ फुत्केर भाग्छ । केही वर्ष सहरमा नोकरी गरेर गाउँ फर्किन्छ । जतिबेला फगुनीलाई उसले देख्छ ।

ऊप्रति मोहित बन्छ । तर, पछि थाहा पाउँछ कि फगुनी त उसकै श्रीमती हुन्छे । गाउँमा कमाइ गर्न नसक्ने भएपछि फगुनीको बुबाले दशरथलाई कुनै पनि हालतमा नदिने र सहरको एउटा केटालाई २ सय रुपैयाँ लिएर बिहे गरिदिने तयारीमा लागेको हुन्छ । दुहाला पनि आइपुग्छ । तर, त्यहीबेला नै फगुनीलाई भगाएर घरमा ल्याउँछ । दिनचर्या सुरु हुन्छ । एक छोरा र एक छोरीको जायजन्म हुन्छ । तर, एक दिन दशरथ काम गरिरहेको समयमा खाजा पु¥याउन जाँदा फगुनीको पहाडबाट लडेर गम्भीर घाइते बन्न पुग्छिन् । उनलाई तत्काल उपचारको लागि लिएर गइन्छ । तर, पनि उनी बाँच्दिनन् ।

त्यसपछि सुरु हुन्छ, पहाडसँगको संघर्ष । यो विद्रोह पहाडसँग मात्रै छ्रैन, मुखियासँग पनि छ, राजनीतिक दलसँग पनि छ । तर, पहाडसँग जति विद्रोह छ, त्यति मुखियासँग छैन, राजनीति दलसँग छैन । त्यो समयमा इन्दिरा गान्धीले आफ्नो सत्ता हात पारेकी छ । दशरथसँग एकपटक राजनीतिक कार्यक्रममा गान्धीको भेट भएको छ । पत्रकारले फोटोसमेत खिचेर समाचार बनाएको छ । तर, त्यही दशरथले वर्षौै लगाएर पहाड फाेडेबापत आएको २५ लाख रुपैयाँ मुखिया र कर्मचारीले कसरी खाइदिन्छ । 

यस्ता अनेकौ विद्रोहको कथा हो, माझी माउन्टेन मेन । तर, समग्रमा फिल्मको कथा हेर्नका लागि फिल्म नै हेर्नुपर्ने हुन्छ । फिल्म एउटा गज्जबको साहित्य जस्तै लाग्छ, पढिरहु लाग्ने । पहाडसँगको विद्रोहमा दशरथको जीवन कसरी समाप्त हुन्छ त्यो हेर्नका लागि भने युट्युब नै खोल्नुपर्ने हुन सक्छ । फिल्मको निर्देशन केतन मेहताले गरेका हुन् ।

फिल्म पूरा हेर्न यहाँ क्लिक गर्नुस्