सांस्कृतिक रूपान्तरणमा स्रष्टाको भूमिका

alt तस्बिर गुगल
  • आश्विन २१, २०७७
  • प्रा.डा.बद्रीविशाल पोखरेल

विषय प्रवेश
स्रष्टाहरू सिर्जनाका मूल आधार हुन् । यिनीहरू संस्कृतिका संवाहक पनि हुन् । थोरैले धेरैलाई प्रभावित पर्ने क्षमताका लेखक, बुद्धिजीवी, गायक विभिन्न विधाका कलाकारहरू समाजका अगुवा हुन् । आम पाठक तथा श्रोता समाजलाई मर्मस्पर्शी, हृदय संवेद्य तथा रागात्मक गहिरो प्रभाव पार्ने महान् क्षमता सर्जकहरूमा हुन्छ । त्यसैले नेताका हजार भाषणभन्दा एक कलात्मक कविता, गीत, सङ्गीत तथा संक्षिप्त सिर्जनामा जनमनलाई आकर्षित र प्रभावित गर्ने महानतम् क्षमता हुन्छ । प्राप्त उपलब्धिको सिर्जनात्मक रूपमा जगेर्ना गर्ने समतामूलक तथा न्याययुक्त समाज निर्माण गर्ने मूल ध्येय र उद्धेश्य लिएका स्रष्टाहरूको सांस्कृतिक रूपान्तरणमा अग्रणी भूमिका हुन्छ । नेपालको संविधान अनुसार सांस्कृतिक रूपान्तरण गर्ने सवालमा स्रष्टाहरूको अहम् भूमिका रहेको देखिन्छ ।

संविधानमा सांस्कृतिक रूपान्तरण
नेपालको संविधान (२०७२) सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संस्कृति सम्बन्धी दूरगामी महŒवको ऐतिहासिक अभिलेख हो । संविधानमा धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी समतामूलक स्वस्थ, सभ्य र भव्य समाजको निर्माण गर्ने दूरगामी महŒवको विषय उल्लेख गरिएको छ ।
राष्ट्रिय सम्पदाको रूपमा रहेका कला, साहित्य र सङ्गीतको विकासमा जोड दिने, देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवं सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला, चलचित्र र सम्पदाको संरक्षण र विकास गर्ने भनिएको छ । त्यसैले आत्मिक संस्कृतिका क्षेत्रमा हालसम्म विद्यमान सबैखालका धार्मिक सांस्कृतिक विभेद, असमानता र अन्यायहरूलाई रूपान्तरित गर्नु नै संविधान अनुसार रूपान्तरणको अन्तर्य वा सार हो ।

पश्चिमाहरूले धर्म निरपेक्षका नाममा राष्ट्रको प्रमुख वा प्रधानमन्त्री बन्नका लागि क्रिश्चियन धर्मावलम्बी हुनै पर्ने र उसले पदबहाली गर्दा बाइबल ग्रन्थमा हात राखेर कसम खानै पर्ने खालको प्रावधान राखे तर, नेपालको संविधान २०७२ मा सनातनदेखि चलिआएको धर्म र संस्कृतिको संरक्षणलगायत धार्मिक सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ भनेर धर्म निरपेक्षको नेपाली मौलिक व्याख्या गरेको छ । संविधानले गाईलाई राष्ट्रिय जनावर घोषित गर्दै यसको बध अवैध तथा दण्डनीय करार गरेको छ । यस खालका मौलिक व्याख्यालाई सुपाच्य रूपमा उल्लेख गरेर यस क्षेत्रमा छर्न खोजिएका तमाम भ्रमजाललाई नेतृत्व एवम् यस क्षेत्रका अगुवाहरूले निस्तेज गर्न सक्नुपर्छ । संविधानले तमाम नेपालीका बीच सहभाव, सद्भाव, समानता, पारस्परिक सहयोग तथा एकतापूर्ण भावनालाई नै धर्म र संस्कृतिको सारका रूपमा उल्लेख गरेको देखिन्छ ।

गणतन्त्रको जगमा सामन्तवादी जरा
यो संविधान समाजवाद उन्मुख नेपालको सांस्कृतिक आधार पनि हो । अहिलेको परिवर्तित राजनैतिक परिस्थिति मात्रात्मक मात्र हो । अहिले प्राप्त यस उपलब्धिलाई आधेय अर्थात् उपरिढाँचा वा सतहमा मात्र भएको परिवर्तन भनिन्छ । तर, यस प्रणालीको जग, जरा र आधारमा सामन्तवादी अपसंस्कृति जब्बर रहेको छ र यसमा अन्तर्निहित तमाम खाले अन्धविश्वासी तथा रुढीवादी सारतŒवलाई कलात्मक हस्तक्षेप मार्फत् रूपान्तरित गरेर मात्र प्राप्त राजनैतिक उपलब्धिलाई स्थिर, सबल र दिगो बनाउन सकिन्छ । किनभने सबैखालका अन्धविश्वास र रुढीवादको केन्द्रीय विषय र सार सामन्तवादको प्रबल संरक्षक राजालाई देवताको अवतार घोषित गर्नु, त्यही सत्ता र सरकारबाट चरम शोषित पीडित हुँदा पनि उही सत्ताका विरुद्ध जागृत हुनुभन्दा आफ्नै कर्म, भाग्य र पुर्पुरोलाई सराप्ने मनोविज्ञान स्थापित, सुदृढ र विकसित गरिएको छ ।

धर्म र संस्कृतिको पुनः परिभाषा अपरिहार्य
मानव समाजको हित, सेवा र उपकारका खातिर निःस्वार्थ रूपमा सक्रिय प्रकृति तथा प्राकृतिक सम्पदाको धर्म वा गुणका आधारमा आदि मानवले धर्म र संस्कृतिको पुनर्निमाण, पुनः सिर्जन र प्रवद्र्धन गरेको देखिन्छ । हुन पनि उन्नत तथा उदात्त चेतना र विवेकी मानवले आफूलाई सामान्य पेटु प्राणीभन्दा पर्याप्त पृथक् पहिचान बनाउन सामाजिक सेवालाई धर्मका रूपमा अवलम्बन ग¥यो । व्यासले अठार पुराणको सार परोपकार पुण्य हो र परपीडन पाप वा अधर्म हो भन्ने निचोड र निष्कर्ष हो भनेका छन् । तर, पनि यस क्षेत्रमा समय क्रममा चरम भेदभाव, असमानता तथा अन्धविश्वासलाई सामन्तवादले सत्ता र सरकार मार्फत् सुदृढ र सबल बनायो । यसो गर्दा सामन्तवादका नायक राजालाई देवताको अवतार सिद्ध गरेर जनविरोधी सत्तालाई दीर्घजीवी बनाउनु एक मात्र उद्धेश्य रहेको देखिन्छ ।

धार्मिक तथा पौराणिक लिखित सामग्रीहरूमा देवत्वकरण गरी आस्थाका रूपमा उपस्थापित पात्र, प्रस्तुति र प्रस्तावहरू मानव सभ्यताका महŒवपूर्ण प्रामाणिक आदि सामग्री हुन् । हेर्दाहेर्दै २५ सय वर्षअघिका विश्वशान्तिका अग्रदूत सिद्धार्थ गौतमलाई आज हामी देवताका रूपमा पूजा गर्दैछौँ भने यसबाट ब्रह्मा, विष्णु, राम, कृष्ण, दुर्गा, युमा र सुम्निमा आदि पूजनीय मानेका व्यक्तित्वहरू त्यस कालखण्डका चर्चित विशिष्ट व्यक्तित्व हुन् । अब यसरी पनि धर्म र संस्कृतिमा अन्तर्निहित यस्ता अनेक जीवनोपयोगी पक्षहरू उजागर गर्नु पर्ने विषय हुन् ।

सांस्कृतिक रूपान्तरणका जटिलता
धार्मिक तथा सांस्कृतिक रुढीहरू सबै धर्म र सम्प्रदायमा विद्यमान रहेको पाइन्छ । तर, संविधान, नियम र कानूनमा लेखेकै भरमा सांस्कृतिक रूपान्तरण हुँदैन । यसका लागि बहुआयामिक रूपमा आम जनमानसमा जमेर रहेको अन्धविश्वास र रुढीग्रस्त सोच, समझ, सिर्जनाजस्ता पक्षहरूमा कलात्मक हस्तक्षेप गरेर तिनलाई विस्थापित गर्ने कोशिस हजारबार गर्नुपर्छ । कानूनी रूपले छुवाछूत र जातिप्रथा उन्मूलन भएको ५५ वर्ष भइसके पनि त्यसमा प्रभावकारी कलात्मक तथा बहुआयामिक हस्तक्षेप नहुँदा तमाम सामन्तवादी चरम धार्मिक, सांस्कृतिक रुढीवादी भेदभाव र असमानता अद्यापि व्याप्त रहन गएको हो । सामन्तवादले लामो समयदेखि आफ्नो वर्ग सत्ता र स्वार्थ अनुकूलको अन्धविश्वासी तथा रुढीवादी शिक्षा, दीक्षा, संस्कार संस्कृति, आचार, विचार तथा नीतिद्वारा राजकीय सत्ता मार्फत् सुसङ्गठित रूपमा लामो समयदेखि प्रशिक्षित गरेको छ ।

यसैका प्रभावले आम जनताले आ–आफ्ना घर–घरमा उपर्युक्त खालको संस्कार, संस्कृति र रीति लामो समयदेखि लागू गर्दै आएका छन् । यसका लागि सामन्तवादले व्यापक रूपमा धार्मिक, सांस्कृतिक पण्डित, पुरोहित तथा पौराणिक ग्रन्थहरूको प्रभावकारी उपयोग गरेको छ । त्यतिले पनि नपुगेर सुमधुर गीत, सङ्गीत र स्वरमा जनविरोधी सारतŒव निहित मनमोहक धार्मिक सांस्कृतिक भजनको अहोरात्र श्रवण गराएर गहिरो प्रभाव पारेको देखिन्छ । यसरी गोयबल्स शैलीमा धर्म र संस्कृतिका नाममा सबै खालका अन्धविश्वासी कुरूप पक्षहरूलाई हजारबार प्रचार गरेर असत्यलाई सत्य सावित गर्न सफल भएको देखिन्छ । यसरी आम जनतालाई स्वेच्छिक रूपमा सामन्तवादी अपसंस्कृतिको पक्षपोषक, पृष्ठपोषक तथा कट्टर समर्थक बनाइएको पाइन्छ । त्यसैले सांस्कृतिक रूपान्तरण त्यति सहज विषय होइन ।

कलात्मक हस्तक्षेपको अर्थ
वैदिक सनातनलगायत सबै धर्म र संस्कृतिभित्र विद्यमान मानतावादी र जीवनोपयोगी अनेक स्वस्थ धार्मिक तथा सांस्कृतिक पक्षहरूलाई ओझेल पारेर आम जनतालाई भ्रमित पारिएको छ । अहिले पनि धार्मिक कार्यक्रमका नाममा उपर्युक्त खालका सन्देश, प्रवचन र भजन कीर्तन अलिकति पनि समयसापेक्ष सुधार नगरी बारबार सञ्चार माध्यमबाट प्रसारण गरिएको देखिन्छ ।
यसका प्रभावले आम सर्वसाधारण जनता जीवन, जगत्सम्बन्धी तमाम खाले सामन्तवादी धार्मिक, सांस्कृतिक अन्ध विश्वासमा दृढ विश्वस्त भएका हुन् । त्यसैले उनीहरू जहाँ पनि डटेर अन्धविश्वासको पक्षपोषण गर्छन् ।

यसरी सामन्तवादले होसियारी, चलाख तथा बठ्याइँपूर्वक वर्गीय स्वार्थ अनुकूलको धर्म र संस्कृतिका नाममा अपसंस्कृतिको सञ्जाल फिँजाएको छ । जननेता मदन भण्डारीले भन्ने गरेको कलात्मक हस्तक्षेपको अर्थ पनि आम जनतालाई बहुआयामिक रूपमा प्रशिक्षित गरी तिनलाई सचेत, सजग, सबल तथा सङ्गठित बनाई उनीहरूलाई नै परम्परागत धर्म, संस्कार र संस्कृतिको सुधारात्मक महाअभियानमा सक्रिय तथा नेतृत्वदायी भूमिकामा उभ्याउनु हो । यसरी मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग र जरा बलियो बनाउन सकिन्छ । अहिले दिवङ्गत व्यक्तित्वप्रति मात्र औपचारिकताका लागि समवेदना व्यक्त गर्ने लहर चलेको देखिन्छ । तर, यसैलाई अलिकति सिर्जनात्मक बनाएर संस्कार विधिहरू र विशेषतः मृत्यु संस्कारसम्बन्धी महत्व र यसमा बेला–बेलामा भएका परिवर्तनको उल्लेख गरेर चेतना अभिवृद्धि गर्न सकिन्छ र अहिले अझ सरल संस्कार विधिको आवश्यकताको औचित्य प्रवाह गर्न सकिन्छ ।

त्यसैले माक्र्सवादी सैद्धान्तिक सतही ज्ञानले मात्र कुनै पनि नेता शुद्धबुद्ध हुन सक्दैन । तनको मैलो साबुनले धोएर जान्छ तर, मन र मस्तिष्कमा वर्षौंदेखि कट्कटिएर जमेर बसेको धार्मिक तथा सांस्कृतिक पश्चगामी मयल सफा गर्न अनवरत अध्ययन, मनन्, चिन्तन, मन्थन, विचार, विमर्श अपरिहार्य हुन्छ । दर्शन ढुङ्गासरह जब्बर बनेको यो मयल एक प्रहारले होइन, हजार प्रहारबाट मात्र घट्न र हट्न सक्छ ।

स्रष्टा समाजमा विद्यमान सामन्ती संस्कृति
प्रगतिशील क्षेत्रका वरिष्ठ लेखक, बुद्धिजीवी तथा चिन्तकहरूमा जीवन जगत्सम्बन्धी सामन्तवादी धार्मिक सांस्कृतिक अवशेष टिठलाग्दो रूपमा देखिन्छ । मृतात्माको चिरशान्तिको कामना गर्नु, सतीले सरापेको मान्यता राख्नु, भाग्यवाद र पुर्पुरोवादमा विश्वास गर्नु, सामन्तवादी अहम् र आग्रह पाल्नु, सकार नकार छुट्याएर जुनसुकै काम र कुराको मूल्याङ्कन नगर्नु जस्ता कमजोरी लेखकहरूमा देखिन्छ । उपर्युक्त प्रवृत्तिहरू लेखनमा पनि परोक्ष वा प्रत्यक्ष रूपमा प्रकट भएको पाइन्छ ।

माओत्से तुङ, पुष्पलाल, हृदयचन्द्र सिंह प्रधान, मोदनाथ प्रश्रित आदि वैचारिक बौद्धिक विद्वान्हरूले सामन्तवादी समाजका सकारात्मक पक्षहरूलाई सकारेको देखिन्छ । त्यसैले प्रगतिशील स्रष्टाहरू सत्ता र सरकारका सदा विरोधी वा प्रतिपक्षी होइनन् । यी सकारात्मक वा सिर्जनात्मक प्रतिपक्षी हुन् भन्ने बेलैमा बुझ्नु जाती हुन्छ । निरपेक्ष मूल्याङ्कन गरेर आफ्नै उपलब्धि र प्राप्तिलाई कसैले खिज्याउनु हुँदैन ।

उपसंहार
उहिल्यै कार्ल माक्र्सले परिवर्तित राजनैतिक अवस्थाको लामो समय पुरानै शासक तथा शासन व्यवस्थाको विचार र संस्कृति नेता, बुद्धिजीवी तथा स्रष्टाहरूमा हाबी हुने हुनाले यसमा समयमै गम्भीर हुन आग्रह गरेका थिए । नभन्दै कतिपय उपल्ला तहका स्रष्टा, लेखक र नेताहरू पश्चगामी विचार र संस्कृति हाबी भएको देखिन्छ । अग्रगमन वा समृद्धि सबैभन्दा पहिले मानवका मन मस्तिष्कमा नै आउन जरुरी हुन्छ । तब मात्र हामीले गर्ने सबै कामहरू तदनुकूल हुन सक्छन् ।

निषेधको निषेध नियमअनुसार सांस्कृतिक रूपान्तरणको ठोस तथा व्यवहारिक विकल्प प्रदान गर्ने कुरामा खासै ध्यान नदिई बौद्धिक, वैचारिक तथा साहित्यिक विलासमा मात्र अझै लेखक सङ्घ तथा जनसांस्कृतिक सङ्घ केन्द्रित भएर बेलाको बोली र मौकाको काम गर्न सकिन्न । मौकाको काम नगरी पछि पछुताउनु जाती हुँदैन । त्यसैले परम्परागत धर्म र संस्कृतिका तमाम जनमुखी तथा जीवनोपयोगी पक्षहरू उजागर गरी प्राप्त उपलब्धिको जगेर्ना गर्न ध्यान दिनुपर्छ । संविधानले निर्देश गरेअनुसार परिवर्तित परिस्थितिअनुसार सांस्कृतिक रूपान्तरणको विषयमा स्रष्टा समाजमा व्यापक छलफल, अन्तरक्रिया, अध्ययन तथा यसका ठोस विकल्पसमेत प्रस्तावित गर्न सकियो भने मात्र प्राप्त उपलब्धिलाई संरक्षण गर्न सकिन्छ ।
(स्रष्टा समाज, बेलबारीद्वारा २०७७ असोज १० आयोजित कार्यक्रममा प्रस्तुत विषय पत्रको सम्पादित अंश)

दोहोरो नागरिकता लिने ...

ब्लाष्टखबर । किर्ते गरि दोहोरो नागरिकता लिएका सुनसरी इन ...

धरानका युवा घरमा लु ...

धरान । धरान उपमहानगरपालिका–१५ गणतन्त्र मार्गबाट प ...

प्रदेश १ मा ३७२ संक् ...

विराटनगर । प्रदेश १ मा आज ३७२ जना कोरोना संक्रमित थपिएक ...

सुन्दरहरैचामा आइतबार ...

बेलबारी । सुन्दरहरैचा नगरपालिका क्षेत्रका सार्वजनि ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved