पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा पछिल्लो पटक नगर अस्पतालका स्वास्थ्यकर्मी, जनप्रतिनिधि र नगर कर्मचारीमा सहित ९ जनामा कोरोना भाइरस देखिएको छ ।

कोभिड अस्पताल विराटनगरमा क्वारेन्टिनका ३ गरी ३६ जनाको स्वाब पठाएकोमध्ये २ महिला सहित ९ जनामा कोरोना देखिएको रिपोर्ट आज आएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाए । जसमा, जनस्वास्थ्य निरीक्षक आचार्य सहित नगर अस्पतालका २ स्वास्थ्यकर्मी, नगरका एक कर्मचारी र एक जनप्रतिनिधि समेत परेका छन् ।

यसैबीच, नगर अस्पतालका स्वास्थ्यकर्मीमा समेत कोरोना देखा परेपछि अस्पताल व्यवस्थापन समितिको आजको आकस्मिक बैठकले अस्पतालका सम्पूर्णको कन्ट्याक ट्रेसिङका आधारमा पीसीआर जाँच गरी रिपोर्ट नआएसम्म अस्पतालले सेवा प्रवाह रोकिने निर्णय गरेको छ । पीसीआर रिपोर्ट नआएसम्म विरामीहरुमा पनि थप जोखिम हुनसक्ने कुरालाई मध्यनजर गरी अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीलाई होम क्वारेन्टाइनमा बसाई रिपोर्टको अवस्था अनुरुप अस्पताल सञ्चालनको व्यवस्थापन गरिने भएको हो ।

विश्वमै कोरोनाको कहर भएको अवस्थामा नगरमा समेत बढेको कोरोना विरामीको अवस्थालाई हेरेर वाध्य भएर यसखाले निर्णय गर्नुपर्दा सेवाग्राहीमा पर्नजाने असुविधाप्रति अस्पताल क्षमाप्रार्थी रहेको व्यवस्थापन समिति अध्यक्ष यामप्रसाद गुरागार्ईंले बताए । असोज १३ देखि १६ गतेसम्म नगर अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आएका सेवाग्राहीलाई घरमा स्वास्थ्य सतर्कता अपनाएर बस्न र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न समेत सूचित गरिएको छ ।

नगरमा कोरोना संक्रमित बढेको अवस्थामा भोली विहान नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको बैठक बस्ने भएको छ । सो बैठकले कोरोनाका विरामी बढेपछि नगरपालिका कार्यालय सहित नगरमा कस्तो सावधानी अपनाउने भन्ने बारे निर्णय गर्नेछ । नगर प्रमुख एवम् समन्वय समितिका संयोजक दिलीपकुमार राईले नगरवासीलाई कोरोनाबाट बच्न भौतिक दूरी कायम गर्न, मास्क लगाउन, साबुनपानीले हात धुन वा सेनिटाइजर प्रयोग गरी अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन अपिल गरेका छन् । हालसम्म नगरमा ४१ जनामा कोरोना देखिएको छ । जसमध्ये ३२ जना निको भएर घर फर्किसकेका छन् ।