विजयपुर । उदयपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

काठमाडौँबाट धरानतर्फ जाँदै गरेको यात्रुवाहक बस मदन भण्डारी लोकमार्गअन्तर्गत त्रियुगा नगरपालिका–७, सुर्खेमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख राजन चापागाईँका अनुसार दुर्घटनामा चौदण्डीगढी नगरपालिका–वासाहाका १८ वर्षीय सोनु बस्यालको मृत्यु भएको छ ।

बसमा ३५ जना यात्रु सवार रहेकोमा १६ जना घाइते भएका छन् । घाइतेमध्ये बसका सहचालक धनबहादुर जोगी गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।रासस