काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक सङ्गठनका रूपमा विकास गर्न कानुनी सुधारको तयारी भइरहेको बताएका छन् ।

एकहत्तरौँ प्रहरी दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले प्रहरी सङ्गठनको सुधार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन नयाँ प्रहरी विधेयकमा काम भइरहेको जानकारी दिए । गृहमन्त्री गुरुङले प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न सरकारले पहल गरिरहेको बताए । उनका अनुसार प्रहरी कर्मचारीको आवास, स्वास्थ्यलगायतका सेवासुविधा तथा सरुवा–बढुवालाई व्यवस्थित बनाइनेछ ।

प्रहरीका सबै कार्यालयलाई डिजिटल बनाउने प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै उनले अवकाशप्राप्त सुरक्षाकर्मीको आत्मसम्मान अभिवृद्धि गर्नुका साथै उनीहरूको ज्ञान र सीपलाई उपयोग गर्ने नीति अघि सारिने बताए । अपराधले सीमाको परवाह नगर्ने भएकाले अन्तरदेशीय अपराध नियन्त्रण र अनुसन्धान गर्न सक्षम निकायका रूपमा नेपाल प्रहरीलाई स्थापित गर्नुपर्नेमा उनले जोड दिए । हालै भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठक तथा भारतीय समकक्षीसँगको वार्तामा सीमापार अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान र प्रविधिको उपयोगमा सहकार्य बढाउने विषयमा जोड दिएको उनको भनाइ छ ।

“क्षेत्रीय संयन्त्रबाट सिर्जना भएको अवसरलाई नेपालको आन्तरिक सुरक्षा बलियो बनाउन उपयोग गर्नुपर्छ,” उनले भने । राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने स्पष्ट पार्दै गृहमन्त्री गुरुङले सूचनाको संरक्षण र गोपनीयता कायम राख्न प्रहरी अधिकारीलाई निर्देशन दिए । उनले कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल फोरेन्सिक, साइबर तथा वित्तीय अपराध अनुसन्धान र डीएनए फोरेन्सिक एवं डीएनए प्रोफाइलिङजस्ता आधुनिक क्षेत्रमा प्रहरीको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

प्रहरीको बर्दी डर र त्रासको नभई आशा, भरोसा र नागरिक–प्रहरी सहकार्यको प्रतीक बन्नुपर्ने उनको भनाइ थियो । नयाँ पुस्ताले राज्यले आफ्नो भविष्य सुनिश्चित गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठाइरहेको उल्लेख गर्दै उनले प्रहरीको व्यवहार, निष्पक्ष अनुसन्धान तथा विपद्का समयमा गरिने उद्धारले नागरिकको राज्यप्रतिको विश्वास निर्धारण गर्ने बताए ।

विपद् उद्धारमा खटिने सुरक्षाकर्मीका लागि जोखिम भत्ता तथा खाजा खर्चको व्यवस्था भइसकेको जानकारी दिँदै उनले नेपाल प्रहरीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत दरबन्दी थप गर्न प्रस्ताव गरिएको पनि बताए । नेपाल प्रहरीका लागि आवश्यक पूर्वाधार र प्रविधिमा लगानी गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै गृहमन्त्री गुरुङले नयाँ सरकार नयाँ जोश, जाँगर र मानसिकताका साथ जनताको सेवामा जुटेको बताए ।

नागरिकका अपेक्षा पूरा गर्न प्रहरीलाई व्यावहारिक र व्यावसायिक रूपमा रूपान्तरण हुन आग्रह गर्दै उहाँले गुनासो तथा जाहेरी दर्तादेखि अनुसन्धानसम्मका सबै प्रक्रियामा नागरिकलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिए । प्रहरीको आचरण र कार्यशैली नागरिकमैत्री बनाउन तथा अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउनसमेत उनले जोड दिए ।

कार्यक्रममा गृहमन्त्री गुरुङले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका अमर प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरे । गत भदौ १० गते रसुवाको भोटेकोशी तथा त्यसपछि मनाङ, मुस्ताङ र बूढीगण्डकी क्षेत्रमा भएका बाढीलगायत विपद्का घटनामा सहकर्मी गुमाउँदासमेत अविचलित रही उद्धारमा खटिएका प्रहरीको साहसको उनले उच्च मूल्याङ्कन गरे । रासस