विजयपुर । धरान–२० विष्णुपादुकामा सखुवाको रुख काटिएको घटनामा भालढुङ्गा सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष भीम बस्नेत पक्राउ परेका छन् ।
रुख काटेको आरोपमा पक्राउ परेका चार मध्ये २ जनाले कोषाध्यक्ष बस्नेतको निर्देशनमा रुख काटेको वयान दिएपछि वन कार्यालयले सो बारे बुझ्न बस्नेतलाई उपस्थित हुन पत्राचार गरेको थियो । आज आइतबार उनी सव डिभिजन वन कार्यालय उपस्थित भएपछि उनलाई पक्राउ गरिएको सव डिभिजन वन कार्यालय विष्णुपादुकाका प्रमुख तथा यो घटनाका अनुसन्धान अधिकृत राजेन्द्रप्रसाद यादवले बताए ।
पक्राउ परेका बस्नेतलाई आइतबारै तरहरा स्थित वन कार्यालयको हिरासतमा पठाएर अनुसन्धान गरिने यादवले बताए ।
रुख काट्नमा संलग्न रहेका धरान–८ का शेरबहादुर तामाङ, धरान–१९ का गजेन्द्र लिम्बू, रामबहादुर तामाङ र रामप्रसाद मगरलाई पक्राउ गरिएको थियाे । उनीहरू मध्ये २ जनाले रूख काट्ने काममा संलग्न नभएकाे वयान दिएका थिए भने २ जनाले काेषाध्यक्ष बस्नेतकाे निर्देशनमा काटेकाे बयान दिएका थिए । उनीहरूकै वयानका अाधारमा बस्नेतलाइ वन कायार्लय बाेलाइएकाे थियाे ।
वन समूहका अध्यक्ष बुद्धिमान तामाङले भदाै १३ गते शनिबारका दिन धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईको निर्देशनमा समूहका कोषाध्यक्ष भीम बस्नेतको रोहवरमा रुख काटिएको आरोप लगाउँदै आएका थिए । तर वन समूहका बहुमत पदाधिकारीले रूख कसले काट्न लगाएकाे भन्ने स्पष्ट नभएकाे वताएपछि अध्यक्ष तामाङ एक्लिएका थिए ।
रूख कटान घटनापछि नेकपाले अध्यक्ष तामाङ र काङ्गेसले काेषाध्यक्ष बस्नेतकाे पक्ष लिंदै अाएका छन्र ।