यासोक/ पाँचथरको कुम्मायक गाउँपालिकाका प्रकोप पीडित सात घरधुरीले राहत पाउने भएका छन् । गाउँपालिकाको विपद् व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले तत्कालको लागि सात घरधुरीलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । निरन्तरको वर्षाका कारण पहिरो पीडित ७ घरधुरीलाई प्रतिपरिवार १५ हजारको दरले १ लाख ५ हजार राहत उपलब्ध गराउन लागेको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।

राहत पाउने घरधुरीहरूमा कुम्मायक–१ का गणेशबहादुर समाल र तीर्थराज लावती, २ नम्बर वडाका होमबहादुर दङ्गाली, ३ का ओमबहादुर खड्का र गोपाल दङ्गाली रहेका छन् । त्यस्तै वडा नं. ४ का बिर्ख देवान र ललितबहादुर सम्बाहाम्फे गरी ७ घरधुरीले राहत पाउन लागेका हुन् । त्यस्तै बैठकले चार घरधुरीलाई स्थानान्तरण गर्ने निर्णय गरेको छ ।

पहिरोले यासोक स्वास्थ्य चौकी र कुम्मायक–२ को सिद्ध सरस्वती माविको भवन जोखिममा पारेको छ । जोखिममा परेका सरकारी भवन र अन्य घरधुरीको जोखिम कम गर्न पर्खाल निर्माण गर्ने विषयमा समेत निर्णय भएको कार्यालयले जनाएको छ ।

गाउँपालिका केन्द्र यासोक बजार र ग्रामीण बस्तीमा पहिरोले आंशिक र पूर्णरूपमा क्षति पु¥याएको स्थानमा आवश्यक पर्ने त्रिपाल कार्यालयले खरिद गरी वितरण गर्ने भएको छ । जोखिम क्षेत्रमा घर र विभिन्न संरचना निर्माण नगर्न जनचेतनामूलक होडिङ बोर्ड राख्ने गाउँपालिकाले जनाएको छ ।