धरान । गत शनिबार सप्तकाेशी नदीमा फेला परेकाे युवतीकाे नाङ्गो शवकाे अहिलेसम्म पहिचान खुल्न सकेकाे छैन ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–९ धरहरा टपन स्थित सप्तकाेशी नदीमा शनिबार विहान करिब साढे सात बजे अन्दाजी १८-२० वर्ष उमेरको जस्तो देखिने मंगोलियन जस्तो अनुहार भएकी युवतीको शव भेटिएको थियाे । शव भेटिएपछि सञ्चार माध्यम र सामाजिक सञ्जालमा अनुहार देखिने फाेटाे सहित समाचार र सूचना सार्वजनिक हुँदा समेत पहिचान खुल्न नसकेकाे ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए । उनले भने,–समाचार पढेर भाेजपुर र संखुवासभाबाट केही मान्छेहरू शव हेर्न आए तर पहिचान हुन सकेन । ’
उनका अनुसार शव हेर्दा केही दिनअघि नै मृत्यु भएको र माथिबाट कोशीमा बग्दै आए जस्तो देखिन्छ । उनी भन्छन्, ‘शव सड्न थालिसकेको थियो । एउटा हात त माछाले हो कि के ले हो आधा खाईसकेको थियो । शव सुन्निएको भएर पनि पहिचानमा समस्या भएको छ ।’
शरिरमा कपडा नलगाएको, अन्दाजी ५ फिट उचाई भएको र कानमा सुन जस्तो धातुको कुण्डल लगाएको शव भेटिएकाे थियाे । शवकाे सनाखत हुन नसक्दा धरान स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ ।