कोभिड–१९ को कहर जारी छ । अलिअलि उठ्दै गरेको पेशा, व्यवसाय, उद्योग, पर्यटन, कृषि सबै क्षेत्रमा समस्या थपिएको छ । धेरैले रोजगारी गुमाउँदै गएका छन् । जसको रोजगारी गुमेको छैन । उनीहरूको पनि आम्दानी घटेको अवस्था छ । व्यवसायीलाई व्यवसाय टिकाउन हम्मे–हम्मे परेको छ । यस्तो बेलामा सबैभन्दा धेरै मारमा अहिलेको युवापुस्ता परेको छ । कुनै न कुनै पेशा व्यवसायको लय समातेर जीवनको ऊर्जाशील समय खर्चि सकेकाहरूले अब बाँकी जीवन सिकेको काम वा गरेको कामबाटै अलि अगाडि बढाउने र नयाँ पुस्तालाई अब तिम्रो पालो आयो, हाम्रो पालो सकियो भन्ने र जिम्मा लाउने हो । यसमा धेरै बहसको आवश्यकता नै छैन ।

अहिले पढाइ सकेर वा पढाइ बीचैमा छाडेर कामको खोजीमा श्रम बजारमा निस्किएको २० देखि ३० वर्ष उमेर समूहको पुस्तालाई कोरोनाको महामारीले कस्तो असर गरेको छ भन्ने बारेमा अलिकति विचार गरौं । यो पुस्ताका धेरै युवाहरूको दिगो पेशा वा व्यवसाय छैन भन्दा हुन्छ । केही भाग्यमानीले परिवारकै व्यवसायमा आपूmलाई लगाए, केही थोरैले नयाँ व्यवसाय शुरु गरेर व्यवसाय टिकाउन सङ्घर्ष गर्दैछन्, धेरैजसो वैदेशिक रोजगारीमा छन्, केही घरायसी काममा (विशेषगरी महिला) छन् । केही अस्थायी प्रकृतिको रोजगारीमा सामेल भएर भविष्य बनाउनभन्दा दैनिकी चलाउन सङ्घर्ष गर्दैछन् । केही थोरैले सरकारी र कर्पोरेट स्तरको जागिरमा आपूmलाई सामेल गर्न सफल भएका छन् ।

अस्थायी प्रकृतिको पेशा र रोजगारीमा भएका युवाको समस्या कस्तो छ भने ती कुनै एउटा काममा तन, मन लगाएर त्यसैमा भविष्य खोज्ने काम गरिरहेका छैनन् । केही महिना वा केही वर्ष एउटा काम गर्ने, त्यसमा अलि–अलि सिकेको हुन्छ तर पूरा ज्ञान र अनुभव हुन नपाउँदै फेरि अर्को काममा लाग्ने, त्यो पनि भएन भनेर फेरि अरू कामको खोजी गर्ने युवा धेरै छन् । यस्ता अस्थिर युवा सबैभन्दा धेरै समस्यामा हुन्छन् । अझ ऊर्जाशील समयको १० वर्ष जति यस्तो अस्थिर प्रकारको काम गरेर जीवन गुजार्नेहरूले भविष्यको स्थायी गोरेटो बनाउन धेरै नै मुस्किल पर्छ ।

कोभिड–१९ को प्रभाव र लकडाउन जारी रहेकै समयमा एनएमसी झापाले सञ्चालनमा ल्याएको र ल्याउने सहकारी पसलका लागि सबै पदमा गरेर करिब २०–२२ को सङ्ख्याका लागि सामाजिक सञ्जालमा विज्ञापन गरेको थियो । संस्थाले यति धेरै आवेदक आउलान् भनेर अनुमान नै गरेको थिएन । कारण यसको विज्ञापन संस्थाको फेसबुक पेजमा मात्रै गरिएको थियो । यो समयमा स्थानीय पत्रपत्रिकाको पहुँच नै छैन । त्यो पनि कोरोना काल र मध्य वर्षाको समय (साउन) । झण्डै ६ सय आवेदन परे । यति धेरै मानिसलाई जम्मा गरेर परीक्षा लिन मुस्किल थियो ।

७ फरक–फरक स्थानमा एकै दिन एकै समयमा लिखित परीक्षा लिने काम गरियो, प्रहरीको आँखा छलेर । किनकि २५ जनाभन्दा बढीको जमघटलाई सरकारले प्रतिबन्ध लगाएको छ । यीमध्ये करिब एक सय जनाको लिखित परीक्षामा नाम निस्कियो र मौखिक अन्तरवार्ताका लागि छानिए । म पनि यो अन्तरवार्ता लिनेमा सामेल भएर उनीहरूलाई नियाल्ने काममा लागेँ । केहीलाई छाडेर अधिकांश २० देखि ३० वर्ष उमेर समूहका छन् । उनीहरूमध्ये धेरै जना वैदेशिक रोजगारीमा गएर फर्किएका नै छन् । केही कुनै अनुभव नभएका फ्रेस अनुहार थिए र केही फरक–फरक कामको अनुभव भएकाहरू । संस्थाले यिनैमध्येबाट कामका लागि मानिसको छनौट गरेको छ ।

यति धेरै मानिसबाट छानिएका, अब्बल ठानिएका, कामका लागि तयार भएका यी युवा कस्ता छन् ? यिनले कसरी र कस्तो काम गर्छन् ? यो सवाल महŒवपूर्ण छ । यो पुस्ता जुन परिवेशमा हुर्के र जे सिके त्यसको आधारमा भन्दा यी काम गर्न योग्य भइसकेका छैनन् । यीमध्ये जो वैदेशिक रोजगारीमा गएर फर्किए, तिनमा काम नगरी धर पाइँदैन भन्ने परेको छ । तर जोसँग कतै काम गरेको अनुभव छैन, तिनले कामलाई हल्का रूपमा लिएका हुन्छन् । वास्तवमा ती काम गर्न होइन, जागिर खान चाहन्छन् । यिनमा प्रमाण–पत्रको घमण्ड चाहिनेभन्दा अलि बढ्तै हुन्छ । जागिर अर्थात् यस्तो काम जहाँ गयो लाए अह्राएको काम ग¥यो, हल्लियो, ज्यान जोगायो, तलब पकायो ।

हेर्दा यस्तो लाग्छ, कतिपय मानिसलाई कामको एकदमै आवश्यकता छ । परिवार धान्न काम नगरी हुँदै भएको छैन । यस्ता मानिस अलि–अलि साह्रोगाह्रो सहेर पनि काम गर्छन् । काममा बानी परेपछि टिक्छन् तर घरको अवस्था ठीकै भएका, कामको बानी नपरेका, सुकिलो जागिरको कल्पना गरेका मानिसलाई काम गर्न र गराउन दुवै निकै गाह्रो हुन्छ । यस्ता मानिसको कारण संस्थाभित्र काम गर्ने संस्कार बसाउन समस्या हुन्छ । काम गर्नेहरू पनि उसले नगरे पनि वा थोरै गरे पनि भएको छ । मैले मात्रै किन धेरै काम गर्ने भन्ने मनमा पर्छ । यो प्रवृत्तिलाई बेलैमा नियन्त्रण नगर्दा काम गर्नेहरू पनि अल्छी बन्ने गर्छन् ।

किन गाह्रो हुन्छ काम गर्न र गराउन ?
समाजले विशेषगरी प्लस टु को जेनेरेसन कसरी हुर्कायो, कसरी हुर्किए, के सिके, के सिकाइयो ? कस्तो परिवेश थियो ? भन्ने कुराले अर्थ राखेको छ भन्ने मेरो बुझाइ छ । शहरिया र अर्ध शहरिया परिवेशमा हुर्केका किशोर किशोरीले शारीरिक परिश्रम गर्नै परेन, गर्दै गरेनन्, गर्न लगाइएन । गाउँबाट आएकाहरूले पनि आठापाँजा अलि–अलि काम गरे पनि अभिभावकले खासै काम लगाएनन् । कामको बोझ सबै आफैले लिए र पढ है, ठूलो मानिस बन्नुपर्छ भनेर बारम्बार सुनाए । हामीले बिर्सिएको अथवा वास्ता नगरेको विषय भनेको पढेपछि पनि काम गर्नुपर्छ, काम गर्नका लागि पढ्दै छौं, पढाउँदै छौं भन्ने ख्यालै भएन ।

नर्स, डाक्टर, वकिल, इञ्जिनियर, ओभरसियर, सिए, एकाउण्टेण्ट, व्यवस्थापक, पाइलट, शिक्षक, कर्मचारी, प्रहरी, व्यापारी, सञ्चारकर्मी, कलाकार, गलाकार, खेलाडी, कृषक आदि आदि । जे भए पनि काम गर्न हुने हो । काम गर्न अल्छी गर्नेले यीमध्ये कुनै जिम्मेवारी प्राप्त गरे पनि जीवनमा खासै अर्थ राख्दैन । काम नगर्नेहरू यी जिम्मेवारी पाए पनि मूल्यवान् ठहरिँदैनन् । काम नगर्ने मानिसले जीवनमा सफलता पाउँदैन । पढाइ भनेको सिकाइ हो । सिकाइ व्यवहारबाट, अभ्यासबाट विकसित र परिस्किृत हँुदै जान्छ ।

तर हाम्रो नयाँ पुस्तामा पढाइलाई सिकाइका लागिभन्दा सर्टिफिकेट प्राप्त गर्नका लागि भन्ने बुझाइ भयो । जसरी पनि पास गर्नुपर्छ, उच्च अङ्क प्राप्त गर्नु पर्छ भन्ने बोध गराइयो । रिजल्ट हेरेर मेरा छोराछोरीले यति नम्बर ल्याए, यो डिभिजन ल्याए भनेर अभिभावक मख्ख प¥यौं । हामीले कहिल्यै यो विचार गरेनौं कि हाम्रा सन्तानले के के सिके र त्यो जीवन उपयोगी छ कि छैन ?

जुनसुकै पेशा वा व्यवसाय गरे पनि जीवनका पाइला–पाइलामा आवश्यक पर्ने ज्ञान, सीप जस्तै खाना पकाउने, लुगा धुने, सरसफाइ गर्ने, स्रोत र साधनको सदुपयोग गर्ने, आपूmसँग भएका सामान मिलाएर राख्ने, स्वास्थ्यका आधारभूत कुरा, परिवार र समाजमा कसरी प्रस्तुत हुने, साथीसङ्गी र आफन्तसँग कसरी व्यवहार गर्ने, अरूका सुख–दुखःको अनुभूति गर्ने, जीवनमा सधँै सहज मात्रै हुँदैन, असहज र अप्ठ्यारो पर्दा कसरी समाधान गर्ने, पुलिस, अस्पताल, समाज, प्राकृतिक स्रोत आदिको महŒव के छ भनेर जानकारी लिने दिने जस्ता कुरा आजको पुस्तालाई कसले कुन विद्यालयमा सिकाएको छ ? यी र यस्ता साना मसिना लाग्ने कुरा जीवन चलाउन पाइला–पाइलामा आवश्यक छ ।

आजको समाजले प्रशिक्षित गरेको कुनै किशोर उमेरका छोराछोरीले अलि–अलि सिक्न पाएका छन् ? घरमा एक्लै एक हप्ता जति बस्नुपर्ने अवस्था आयो भने उसले के गर्ला । सोचेका छौं यस्तो ? उसले या त एक हप्तालाई पुग्ने चाउचाउ किनेर घरमा राख्ने छ या त कुनै साथीको घरमा पुग्नेछ । उसले हप्ताभरिमा एक दिन पनि घर सफा गर्ने छैन, सुतेको ओछ्यान मिलाउने छैन, घर बढार्ने छैन, जूठा भएका भाँडा सफा गर्ने छैन, घरमा जडान भएका बत्ती, पङ्खा अफ गर्ने छैन, घरमा आउने मानिसलाई शिष्ट भाषामा बोलेर स्वागत गर्ने छैन, साथीसँग बोले जस्तै टर्रो स्वरमा ‘के काम थियो ? किन आउनुभयो ? कसलाई खोजेको ?’ भन्नेछ ।

भान्साको काम गरिहालेछन् भने नुन, चिनी, चिया जस्ता सामान राख्ने बट्टाको बिर्को खोले पनि लगाउने छैनन् । राति १२ बजेसम्म असरल्ल परेको कोठा र ओछ्यानमा पल्टिनेछन्, मोबाइलको संसारमा रमाउनेछन् र बिहान झण्डै ९ बजेसम्म सुत्नेछन् । हो, यो पुस्तासँग स्कुल कलेजले दिएको राम्रै नम्बर प्राप्त गरेको प्रमाण–पत्र भने हुन सक्छ ।

आर्थिक रूपमा अलि कमजोर परिवारबाट आएका र सरकारी विद्यालयमा पढेर पास गरेका किशोरकिशोरी तुलनात्मक रूपमा काम गर्ने संस्कारका हुन्छन् । यिनलाई कामको आवश्यकता पनि हुन्छ । काममा यस्ता मानिस टिकाउ हुने सम्भावना बढी हुन्छ । अलि सुखसयलमा हुर्किएका, मध्यम् परिवारका युवा जागिर खानेगरी कतै पुगेछन् भने उनीहरूले जागिरमा लाग्नुभन्दा पहिला गरेको कल्पना र जागिरे जिन्दगी भोगाइमा निकै फरक हुन्छ ।

जागिरमा होस् वा निजी व्यवसायमा यो समूहको प्रवेश हुन्छ नै । यिनले त्यहाँ आफ्नो काम अनुसारको चरित्र बनाएर श्रम गर्न सके, धैर्य गरे, सीप सिके, मेहनत गरेभने सफल हुन्छन्, नत्र आफ्नो काम अप्ठ्यारो, अरूको काम सजिलो देख्ने रोग लाग्छ र छिटोछिटो काम फेर्ने गर्छन् । यस्ता मानिस झन् बढी जोखिममा हुन्छन् । जागिर जोगाउने गरी अल्छी–अल्छी गर्दै काम गर्ने, आफ्नो व्यवसायमा पनि यस्तै चाला देखाउनेहरूले जसोतसो जीवन चलाए पनि प्रगति गर्दैनन्, गर्न सक्दैनन् ।

मैले यति कुरा किन भनिरहेको छु भने हामीले अहिले हुर्कंदै गरेको किशोरकिशोरीको पुस्तालाई श्रमबाट अलग गरेर, पढाइ नै सबैकुरा हो, प्रमाण–पत्र भए पुग्छ भनेर बढ्तै माया गरेर व्यवहारिक सिकाइको अभावमा जसरी हुर्काउँदै छौं । यो उनीहरूका लागि पछि गएर समस्या निम्त्याउने कारण बन्दै गएको छ ।