१. परिचय
‘हाम्लाक्वा’ भन्नाले कारुणिक रुवाइको आवाज हो । यसको स्थायी भाव शोक हुन्छ । लिम्बुनीहरु आफ्ना प्रियजनहरुको मरणमा विलाप गर्र्दै रुन्छन् । जब हृदयबाटै रुन्छन् र मुखबाट लयबद्ध रुपमा आवाज निस्किन्छ । प्रकृति प्रदत्त हो, या त मीठो संयोग मात्र हुन पनि सक्छ । लिम्बुनीहरु रुँदा आफ से आफ छन्दमा रुन्छन् । महिलाहरु रुँदा सीमित शब्द, लय र भाकामा रुन्छन् । उनीहरुको रुवाइ अत्यन्तै मार्मिक र हृदयविदारक किसिमको हुन्छ ।

कसैको मृत्युमा वा अशुभ खबर सुनेपछि कुनै एकजना लिम्बुनी स्वर तानेर रुन थाल्छिन्, त्यसपछि अन्य महिलाहरु पनि स्वरबद्ध रुपमा रुन थाल्छन् । पुरुषहरु भने यसरी कहिले पनि रुँदैनन् । पुुरुषहरु यसरी रुँदा असुहाउँदिलो मात्र होइन, अस्वभाविक पनि देखिन्छ । लिम्बुनी महिलाहरुको यस्तो रुवाइलाई खास किसिमको प्राकृतिक लिम्बू साहित्य भन्ने गरिन्छ । यसलाई ‘हाम्लाक्वा पेन्युक’ को रुपमा नामकरण गरिएको छ । याक्थुङ (लिम्बू) समुदायमा प्राचीनकालदेखि नै लिम्बुनीहरु स्वरबद्ध रुँदै आएका हुन् । लिम्बुवानको गाउँबस्तीमा गएर सुन्यो भने आफन्तको मरणमा लिम्बुनीहरु यसरी नै स्वरबद्ध रुपमा रोइरहेका हुन्छन् । र, आफूलाई थाम्न नसकेर जो कोही पनि सँगै बसेर रुन थाल्छन् ।

२. मुन्धुममा हाम्लाक्वाको आख्यान
हाम्लाक्वाको बारेमा विभिन्न विद्वानहरुले आ–आफ्नो धारणाहरु व्यक्त गरेका छन् । यहाँनेर केही विद्वानका मतहरु प्रस्तुत गरेर वास्तविक निचोड निकाल्ने प्रयत्न गरिएको छ ।
लछामी शेर्मा पापो (‘याक्थुङ पेन्युक्हा’ २०५८ पाना नं. ८९–९१ मा) ले ‘अघि खाप्पुना मरङ्ना’ नाम गरेकी मनुष्यको ‘केसामी’ र ‘नामसामी’ नामका जुम्ल्याहा छोराहरु थिए । उनीहरु बालक छँदा मिलेर सिकार खेल्थे तथा औधी मिलेर खेल्ने गर्थे । अलिक हुर्केपछि टाढा–टाढा सिकार खेल्न जान थाले । जहाँ जानु परे पनि सँगै जाने आउने गर्दथे । तर वयस्क अवस्थामा पुगेपछि दाइ केसामीले भाइ नामसामीलाई तँलाई खान्छु भन्न थालेछ ।

भाइ नामसामीलाई ज्यान जोगाउन गाह्रो भयो र आमालाई सुनायो । आमाले यो कुरा थाहा पाएपछि ‘अब सँगै नहिँड्नु तँ पूर्व गएको बखत दाइलाई पश्चिम पठाउँछु, त्यस्तै पश्चिम गइस् भने दक्षिण, दक्षिण गइस् भने उत्तर यस रुपले जोगाउँछु’ भनेर नामसामीलाई आमाले भनिन् । यो क्रम धेरै कालसम्म रहन सकेन । भाइ कहाँ गयो भनी केसामी सोध्ने गथ्र्यो । नामसामी पूर्वतर्फ गएको छ भने तेरो भाइ पश्चिम फलाना ठाउँमा गएको छ भनी खाप्पुना मरङ्नाले देखाउँथिन् । एवम् रीतले केही समय बित्यो तर कतै पनि भाइलाई नभेटिएको हुँदा आमाले मलाई ढाँट्दैछिन् भन्ने कुरा केसामीलाई थाहा भयो । त्यसपछि एकदिन आमालाई ‘आमा मलाई भाइलाई देखाउनुपर्छ नभए म आमालाई नै खानेछु’ भनेर भन्यो ।

त्यसर्थ अब आमालाई समेत खाने सम्भावना भएकोले खापुना मरङ्नाले नामसामीसालाई अब म जोगाउन सक्दिन, आफ्नै तजबिजले दाजुसँग जुझ्ने कोशिस गर भनिन् । केसामी दाजुको हठ मूर्खतादेखि वाक्क लागेर बाध्य भई नामसामीले सातवटा धनु र वाण तयार पारी युद्धस्थलमा ठूलो सिमलको रुखमा नौ तला खोपेर नौ तलामाथि आफू बस्ने चाङ बनायो । अनि युद्धको लागि सम्पूर्ण व्यवस्था सकिएपछि आमालाई आज केसामीसँग मेरो युद्ध हुनेछ तथा दाजुभाइ लडाइँ गर्नेछौं । मैले युद्ध सामग्री जुटाइसकेको छु । अब दाजुलाई ‘पङ्वादेन’ भन्ने ठाउँमा पठाउनू भनेर नामसामी युद्धस्थलतर्फ हिँड्यो ।

युद्धस्थलमा धनुवाण लिई सिमलको रुखमा नौ तलामाथि चाङमा नामसामी सङ्ग्रामको लागि तयारी अवस्थामा बस्यो । बाघ भएकोले खाप्पुना मरङ्नाले केसामीलाई तेरो भाइ पङ्वादेन भन्ने ठाउँमा पुग्यो । सो ठाउँमा केसामी र नाम्सामीको जम्काभेटपश्चात् ठूलो सङ्ग्राम प¥यो । केसामी भाइलाई नखाई नछाड्ने नै भयो । तसर्थ नौ तलामाथि चाङबाट ल दाजु केसामी मलाई खाने नै हो भने यो चाङमाथि आउनू र मलाई खानू भनी नामसामीले दाइलाई भन्यो । केसामी जति तला उक्लन्थ्यो, उति उति नामसामीले बाण छोड्थ्यो । तर ६ तलासम्म उक्लँदा पनि नामसामीको बाणले केसामीलाई लागेन । अब केवल एउटै खुँँडे (चोइटिएको) बाण मात्र नामसामीको हातमा रह्यो । केसामीको विजय हुने परिस्थिति देखा पर्दै गयो ।

यता फुङ्सेन भन्ने ठाउँमा जन्मदाताका माता खाप्पुना मरङ्नाले केसामीको नाममा ‘अन्दङफूङ’ (बाबरीको फूल) र नामसामीको नाममा सेक्मुरी फूल (सेल्लरी फूल) विजय र पराजय तथा मरण र जीवनको पहिचान फूङ्सेन राखिन् । कसको विजय हुँदैछ, भन्नको लागि तान बुन्दै सो फूङ्सेन पहिचान फूल हेर्दे बसिन् । अन्दङ फूल जग्मगाएर आयो । सेक्मुरी फूल ओइलाएर गयो । नाम्सामी हारेछ, केसामीको विजय हुँदैरहेछ । केसामी नाम्सामीको आमा यसरी तान बुन्दै फूलहरु हेर्दे सोच्दै रहिन । पङ्वादेन सङ्ग्रामस्थलमा नामसामी मायामारी भयो । उसको हातमा केवल चोइटिएको वाण मात्र एक टुक्रा रहेकोले मायामारी हियामारी र दाजु केसामी, अब दाजुको विजय भयो । मलाई खानु हुने नै भयो ।

त्यसैले आँखा चिम्म पारेर मुख आँ गर्नू, म आफै दाजुको मुखमा उफ्रेर पस्नेछु, र मलाई खानू भनी नामसामीले केसामीलाई भन्यो । भाइको भनाइअनुसार नै केसामीले सातौं तला उक्लिई आँखा चिम्म गुरेर मुख आँ ग¥यो । यस अवस्थामा केसामी सिमलको रुखमाथि सात तला आइसकेकाले एकदमै आमने सामने रहेका छन् । अब नामसामीको हातमा रहेका टुक्रे बाणले केसामीलाई लागेन भने केसामीले नाम्सामीलाई निश्चित खाने अवस्थामा छ । नामसामीले मुखमा ताकेर मायामारी तवरले टुक्रे बाण छोड्यो । त्यो टुक्रे बाण बिजुली झैं झिमिक्क निमेषमा केसामीको काल बनेर मुखभित्र छि¥यो र केसामी सात तलामाथिबाट गल्र्याम्म लडिझ¥यो । यसरी अन्त्यमा नाम्सामीको विजय भयो र केसामीको हार भयो । केसामीको प्राणवायु अलप भयो । यता केसामी नाम्सामीको आश्रमस्थल फूङ्सेनमा एक्कासि अन्दङ्फूल ओइलियो र सेक्मुरी जगजग जग्मगायो । तसर्थ अहिले केसामीको हार हुँदैरहेछ भन्दै आमा मनमनै सोच्दै रहिन् ।

केसामीको प्राणवायु उडेपछि नामसामीले केसामीको छाला काढ्यो । उक्त छाला नाम्सामीले जताततै सुकाउँदै लग्यो तर कहीँ पनि सुकेन । अन्तमा एक ठाउँ पहाडमा सुकाउँदा सुक्यो र आजपर्यन्त सो ठाउँलाई सेहो?नाम्लाङ (छालासुकुवा डाँडा) भन्दछन् । केसामीको छाला सुकेपछि नामसामीले आश्रयस्थल खाप्पुना मरङ्ना आमा रहेको ठाउँ फुङ्सेनमा उक्त छाला लिएर आयो र आमा मेरो विजय भयो दाइ केसामीको हार भयो साथै उनको प्राणवायु पनि छुट्यो भनी बिन्ती ग¥यो । आमाले मरण र वाचन तथा विजय हारको प्रतीक चिन्ह अन्दङ्फूङ् र सेक्मुरी फूङ् राखेकोमा यतिका दिनसम्ममा पनि अन्दङ्फूङ् ओइलिएको ओइलिएकै रहेकोले एक प्रकार केसामीलाई माया मारेकै थिइन् । तथापि नाम्सामीको बिन्ती सुनेपछि केसामी अब यो धरतीमा छैन भन्ने पक्का भयो ।

तत्पश्चात् केसामी र नामसामी तिमीहरु दुवै मेरा छोरा हौ । अब केसामी कहिल्यै फर्केर आउने छैन । उसको स्वभाव जस्तो भए पनि अब यो संसारमा केसामी छैन भनी आमा ‘हामलाक्वा थक्हेक्ता’ रुन थालिन् । कारुणिक रुवाइको आवाज गुञ्जायमान गर्न थालिन् । तसर्थ यसरी प्राचीनकालदेखि नै मान्छे मर्दा हामलाक्वा गर्ने चलन शुरु भयो भन्ने मुन्धुममा वर्णित जनश्रुति अर्थात् आख्यान छ । खाप्पुना मरङ्नाले त्यस बखत नुनछाक पनि बारिन् तथा ‘नेत युक्मा’ र अन्त्येष्टि ‘काज कृया’ गर्ने संस्कार पनि बसालिन् भन्ने अर्को प्रसङ्गगत आख्यान पनि आउँछ । तथापि खाप्पुना मोरङ्नाले कारुणिक हाम्लाक्वा (रुवाइको आवाज) सँग सँगै लिम्बू साहित्यिक वाङ्मयमा लोकछन्द स्थापित भइआयो भनेका छन् । मूलतः ‘मुन्धुम’ लिम्बू जातिको सामाजिक इतिहास पनि हो । यसमा पात्र, स्थान र आख्यानको मेल हुनुपर्छ । माथिको खापुना मरङ्ना मुन्धुम इतिहाससङ्गत भएको पुष्टि हुन्छ । किनभने केसामीको छाला सुकाएको सेहो?नाम्लाङ (छालासुकुवा) भन्ने ठाउँ हाल पाँचथरको फाल्गुनन्द गाउँपालिका र मिक्लाजुङ गा.पा.को सिमानामा पर्छ । र, त्यहाँ नाम्सामीले केसामीको छाला सुकाएको अनौठो खालको ढुङ्गा पनि यथावत् छ ।

अन्दङ्फूङ र सेक्मारी फूङ राखेको फूङ्सेन भन्ने ठाउँ पनि मिक्लाजुङ् गा.पा. १ मा अवस्थित छ । केसामी र नाम्सामीको सङ्ग्रामस्थल पनि नजिकै यासक र आङ्सराङको सीमावर्ती ‘छ्यागु’ भन्ने स्थान छ । नाम्सामीले केसामीलाई नौतला माथिबाट बाणले हानेर झार्दा सिमलको एकापट्टिको हाँगा लाछिएर झरेकोले अझैसम्म सिमलको रुखमा एकापट्टि हाँगा नै हुँदैन भन्ने भनाइ पनि छ । यी माथिका प्रमाणहरुले हाम्लाक्वाको प्रारम्भ खाप्पुना मरङ्नाको कारुणिक रुवाइबाट नै भएको हो भन्ने कुरा प्रमाणित भए पनि यो पंक्तिकारको यस प्रकारको फरक विचार छ । सृष्टिको प्रथम मानव मुजिङ्ना खेयङ्ना हुन् भने उनको वायुपुत्र सुसुवेन लालावेन हुन् । मुन्धुममा सुसुवेन लालावेनको चार जना श्रीमती भेटिन्छन् । सुसुवेन लालावेन सिकार गर्न जानलाई आफ्नी श्रीमती चुङ?गुलुङ्मालाई खाजासामल मागिन् तर चुङ?गुलुङ्माले ‘मसँग खाजासामल छैन, तिम्रो बूढी मुक्कुमलुमालाई माग’ भनिन् ।

फेरि मुक्कुमलुङ्मालाई खाजासामल माग्दा ‘मसँग छैन, तिम्रो बूढी चुङ?गुलुङ्मालाई माग’ भनिन् । यसरी सौता–सौताबीच ईष्र्या भयो । फत्तेलुङ्मा सादिल्लिहाङ्माले पनि बाटाको लागि केही खाजासामल दिइनन् । सुसुवेन लालावेन भोकभोकै जङ्गलमा गई शिकार खेल्यो । जङ्गलमा शिकार खेल्दै हिँड्दा नु?वेतेनमा पुग्दा काक्लिसो चरा कराउन थाल्यो । युक्फुङ्केम्बा, तिमीलाई तिम्रा श्रीमतीहरुले आँखीडाही उठाई मार्न भनेर ढुङ्गाको पासो थापेका छन् होसियार होऊ भन्यो । युक्पुङकेम्बा सोलापासोबाट तर्किएर हिँड्न थाल्यो । एक्थुक्नामाले काँक्रो, फर्सी, खुर्सानी, तरुल, लसुन अदुवा रोपेकी थिइन् । एक्थुक्नामाको बगैंचा रुङ्ने फङ्तुरा इङेक्तिम्मा मन्द गतिमा हावा चल्दा निदाएकी थिइन् । भोकाएको युक्पुङकेम्बाले एक्थुक्नामाको अदुवा, लसुन, खुर्सानी चोरेर खायो ।

इङेक्तिम्मा ब्युँझिएर हेर्दा बगैंचामा खुर्सानी नभएको देखी पहिल्याउन थाल्दा युक्फुङ्केम्बाको पाइला मात्र भेटिन् । उनले सावा युक्फुङ्केम्बाले सारा चिज चोरेको भनेर एक्थुक्नामालाई सुनाइन् । एक्थुक्नामा त युक्फुङ्केम्बालाई ‘म माइती बेगरको एक्ली, लोग्ने बेगरको बेसहारा, आइमाइको खुर्सानी चोरेर खाने, तिमी युक्फुङ्केम्बा अदुवाको पाना जस्तै छुट्टिएर, लसुनको पोटी जस्तै उखेलिएर, सुन–चाँदी जस्तै बिलाएर तिम्रो मृत्यु होस् भनेर कपाल भूईंमा पछारेर गालीश्राप दिइन् । गालीश्रापले पिरोलिएर थोक्पुन तेम्बेमा धनुकाँड रोपेर सावा युक्फुङ्केम्बाले प्राण त्याग ग¥यो । उनका कुकुरहरुले मालिक भरे पो ब्युँझिन्छ कि भोलि पो ब्युँझिन्छ कि भन्दै आठ–नौ दिनसम्म कुरेर बसे । तर, आफ्नो मालिकको मृत्यु भएको चाल पाएर कुकुरहरुले पनि साथ छाडिदिए । छोरा सुसुवेन लालावेनको मृत्यु भएको खबर जब आमा मुजिङ्ना खेयङ्नाले सुनिन् ।

मुजिङ्ना खेयङ्नामा त डोको बोकेर थोक्चिरी थोक्पेन (इखाबु ताप्लेजुङ) तेम्बेमा पुगिन् । अनि शोक गर्न लागिन् । मेरो छोरा, तिम्रो बाबु पनि थिएनन् । दाजुभाइ पनि थिएनन् । तिम्रो चेली पनि थिएनन् । उत्तरतिर नजाऊ । तिमीलाई तरुणीहरुले भूल्याउँछन् । शिकार खेल्न नजाऊ भनेको थिएँ । यसरी उपदेश दिएको थिएँ । तर सुनेनौ । शिकार मात्र खेल्दै हिँड्नाले, स्वास्नी मात्र खोज्दै हिँड्नाले, सौताको डाहाले, शिकार भेटेनौ । खानेकुरा पनि पाएनौ र तिम्रो मृत्यु भयो भन्दै रोइन् । यसरी आफ्नो वायुपुत्र सुसुवेन लालावेनको मृत्युमा आमा मुजिङ्ना खेयङ्नाको कारुणिक रुवाइबाट नै हाम्लाक्वा शुरु भएको हो । शेर्मा २०५८ को खाप्पुना मरङ्नामाको कथाभन्दा यो घटना निक्कै अगाडिको हो ।

मानव सृष्टिको पहिलो मानव मुजिङ्ना खेयङ्ना हुन् भने उनको एकमात्र वायुपुत्र सुसुवेन लालावेन हुन् । त्यसैले यो आख्यानभन्दा अगाडि कुनै हाम्लाक्वाको कथा जोडिँदैन । र अरु आख्यानहरु पनि छन् तर यो आख्यानभन्दा निकै पुस्तापछिका आख्यानहरु मात्र हुन् । आमा मुजिङ्ना खेयङ्ना आफ्नो प्राणभन्दा प्यारो सुपुत्र सुसुवेन लालावेनको मृत्युमा रोइन् भन्ने कुरा पनि विश्वासयोग्य हुन्छ, किनभने कुनै पनि आमा आफ्नो सन्तानको मृत्युमा रुन्छन् भन्ने कुरा विश्वजनिन कुरा हो । त्यसैले समय, पात्र, कथा र परिवेश हेर्दा प्रथम मानव वायुपुत्र सुसुवेन लालावेनको मृत्युमा आमा मुजिङ्ना खेयङ्नाको रुवाइलाई नै पहिलो हाम्लाक्वा हो र शुरुवात पनि यहीँबाट भएको हो भन्न सकिन्छ । त्यसपछि क्रमशः आजसम्म नै याक्थुङ समुदायमा हाम्लाक्वा रुने गर्छन् ।

मुन्धुममा यस्ता मिल्दाजुल्दा थुपै्र कथा कथुङ्ग्रीहरु पाइन्छन् । मुन्धुममा आफूले चारैतिरबाट खोजेर छरेका बिउहरु घामले चर्केर सुकी नउम्रिँदा पोरोक्मी याम्भामीबाको आँखाबाट आँशु बरर झरे । झरेका आँशुले केही विजन भिजेर उम्रियो । यसरी उम्रिनेमा सिस्नुको बोट थियो । जून सृष्टिको पहिलो रुख हो भन्ने किंवदन्ति पनि छ । तर हाम्लाक्वा भनेको आफ्ना आफन्तको वियोगमा रुने कारुणिक रुवाइ भएकोले हाम्लाक्वाको उत्पत्तिको आख्यानमा भने यसलाई लिन मिल्दैन ।

३. विभिन्न आख्यानहरुमा हाम्लाक्वा
उपर्युक्त खाप्पुना मरङ्नाको ‘मिक्वा साङ्मा मुन्धुम’ आख्यानबाहेक अन्यान्य सन्दर्भमा पनि हाम्लाक्वाको कथा आउँछ । यसैगरी मानिसको मृत्युपछि सामसामा मुन्धुममा पनि हाम्लाक्वाको मार्मिक कथा छ । जब फेदाङ्माले मृत आत्मालााई मुक्ति दिँदा मुन्धुमद्वारा साथमा लिएर गाउँघर छाडेर खोला–नाला, भञ्ज्याङ, चौतारी, नागी र डाँडाहरु पार गराउँदै मृत्युलोकमा पु¥याउँछ ।

वैकुण्ठ लोकमा मृतकको सातो पुर्खाहरुको काखमा राखिकन फर्किनुपर्छ । फर्कदाखेरी मानी पुजील्याएका माङ (देवता) हरुसँग फर्किनुपर्छ । छुट्ने बेलामा मृतकको सातोलाई अबदेखि तिमी यतै बस्नू है, हामी फर्कन्छौं है भन्दै हाम्लाक्वा गाउँछ । यो बेलाको हाम्लाक्वा पनि अत्यन्तै दुःखान्त र मार्मिक किसिमको हुन्छ । अहिले पनि याक्थुङ समुदायमा सामसामा विधि जीवित अवस्थामा छ । यति मात्र होइन, गाउँमा कुनै मान्छेको मृत्यु हुनु छ भने सुनसान जङ्गल र चिहानघारीहरुमा मानिसको सातो (हाम्लाक्वा) सुनिन्छ, भन्छन् । हाम्लाक्वाको यस्ता थुपै्र आख्यानहरु जोडिएर आएका छन् । स्वभाविक रुपमा कथाले विकसित रुप लिँदै जाँदा मानवीय जीवनको विभिन्न घटना र सन्दर्भसँग जोडिँदै जान्छ नै ।

४. हाम्लाक्वाको संरचना
लिम्बू साहित्यमा हाम्लाक्वालाई खास साहित्यको रुपमा लिइन्छ । हाम्लाक्वा आफ से आफ कारुणिक रसयुक्त बाह्र अक्षरले स्वतःस्फूर्त बनेको हुन्छ । कोमल शब्द चयन र सरल भाषाशैलीको प्रयोगले अत्यन्तै मिठास र लालित्यपूर्ण हुन्छ । यहाँ, उदाहरणस्वरुप पान्थर साराङडाँडास्थित नास?वा भन्ने गाउँमा महाप्रसाद तावाहाङ नाम गरेका व्यक्ति किशोर अवस्थामा परलोक हुँदा उनकी आमाले रोएको कारुणिक हाम्लाक्वा बिना सम्पादन यहाँ प्रस्तुत गरिएको छ ।

आसा बाबै बाबै आतान्ने केबेबे ए...ए...ए...
केबामा केएमा किजिखु केदेरु ए...ए...ए...
आइन्नाङ्धो किजिङ्सिङ् केमासिङ् केबेरो ए...ए...ए...
आतान्धिक् आदुम्सी आतान्धिक् आबात्छी ए...ए...ए...
केबेरो केबेरो बा अख्खे केबेरो ए...ए...ए...
केरेक्क् पाक् केधआङ् खेनेरक् केबेरो ए...ए...ए...
आखेनु वाआबे आखेधिक् चोकाबे ए...ए...ए...
आसा बाबै बाबै बाअख्खेरक्पाबी ए...ए...ए...
केबामा नुबाहा किजिखु केदेरु ए...ए...ए...
कन्ध्याक्के आर आ आसेन्दाबारो ए...ए...ए...
किनिङ्वा तोन्दोनाङ पेगेओ बाबै ए...ए...ए...( शेर्मा उही)

नेपाली भावानुवादः
छोरा बाबू बाबू कहाँ पो गयौ ए...ए...ए...
हाँसो बोली लुकाई लग्यौ ए...ए..ए...
आजदेखि लुकेर मरेर गयौ है ए...ए...ए...
कहाँ पो भेट्नु र कहाँ पो बोल्नु र ए...ए...ए...
गयौ है गयौ है यसरी नै गयौ है ए...ए...ए...
सबै सबै छोडेर तिमी मात्र गयौ है ए...ए...ए...
कसरी बाँचुँ म कसो पो गरुँ म ए...ए...ए...
छोरा बाबै बाबै बा यस्तै मात्र हो ए...ए...ए...
मीठो बोलीचाली लुकाई लग्यौ ए...ए...ए...
यतिकैमा अब हामी छुट्टियौंै है ए...ए...ए...
मन सिधा पारेर राम्ररी जाऊ है बाबू ए...ए...ए...

याक्थुङ समुदायमा अझै पनि यसरी नै स्वरबद्ध रुपमा रुने गर्छन् । यो पंक्तिकारको पूजनीय पिता ऐतराज केरुङको २०६७ सालमा असामयिक निधन भएको हो । उतिबेला पिताको मृत्युमा आमा विष्णुमाया केरुङ र आफ्ना आफन्तहरु पनि यसरी नै रोएका थिए । अझै पनि यो पंक्तिकारको कानमा त्यो रुवाइ गुञ्जिरहेको छ । यो प्रमाणले पनि अझै यस लेखलाई थप सत्य सावित गरेको छ । उपर्युक्त हाम्लाक्वा बाहेक विषय र समय अनुसार अन्य विभिन्न किसिमका हाम्लाक्वाहरु हुन्छन् । धनहाङ सुब्बा, (२०७४) ले आफ्नो पुस्तकमा ओमुवाबा हाम्लाक्वा, सेम्मुई हाम्लाक्वा, मेरिङ्गेन हाम्लाक्वा, साःगु सक्मा पेःक्मा हाम्लाक्वा, सिमेरिङ हाम्लाक्वा, निङ्वासो हाम्लाक्वा भनेर ६ किसिमका हाम्लाक्वा हुने कुरा उल्लेख गरेका छन् । तर, हाम्लाक्वाको खास चुरो कुरो भनेको नै आफ्ना आफन्तको मृत्युमा कारुणिक एवम् स्वरबद्ध रूपमा रोइने रुवाइ हो । अन्यान्य रुवाइहरुलाई भने उति महत्वकासाथ हेरिनु आवश्यक छैन ।

६. निष्कर्ष
हाम्लाक्वा आफ्ना आफन्तको मृत्युमा रोइने कारुणिक रुवाइ हो । यसको मुन्धुमी आख्यान मुजिङ्ना खेयङ्नामाको वायुपुत्र सुसुवेन लालावेनको मृत्युसँग जोडिएको छ । अन्यान्य विभिन्न कथाहरुमा पनि हाम्लाक्वा रुने गरिन्छ । अहिले याक्थुङ लोकसाहित्यमा यसलाई हाम्लाक्वा पेन्युक नामकरण गरिएको छ । यसको प्राकृतिक संरचना बाह्र अक्षरले निर्मित भएको हुन्छ । हाम्लाक्वा दुःखान्त र मार्मिक कथा भएकोले यो रुवाइ हृदयविदारक खालको हुन्छ । अन्य लिम्बू लोक साहित्यहरु जस्तै हाम्लाक्वा पनि विलोपको अवस्थामा पुगेको छ ।

यसको प्रमुख कारकतत्वको रुपमा भाषिक अज्ञानतालाई नै लिनुपर्ने हुन्छ । लिम्बू भाषा नै नजानेपछि अङ्ग्रेजी र हिन्दी भाषामा रुने कुरै भएन । त्यसैले अहिलेबूढी लिम्बुनी आमाहरुबाहेक अधिक नयाँ पुस्ताहरु हाम्लाक्वा रुँदैनन् । शायद सपना पनि कोरियन र जापानिज भाषामा देख्न थाले होलान् । अब, यस्तो हाम्लाक्वा बचाउने डाक्टर भनेको अहिलेका लिम्बू युवतीहरु नै हुन् । विश्वको कुनै महान् डाक्टरले पनि बचाउन सक्दैन । याक्थुङ्माहरुले आफ्नो मातृभाषा सिकेर बालबच्चाहरुलाई पनि बोलाउन सिकाउन थालेको खण्डमा हाम्लाक्वा बचाउन सक्छन् । अन्यथा कुनै पनि उपायले यसलाई बचमउन सकिने छैन । हाम्लाक्वा जस्तो मौलिक लिम्बू लोकसाहित्य लोप भएर जाँदा हाम्लाक्वा रुवाइसँगै जोडिएका मुन्धुम, दर्शन र सुन्दर मिथकहरु पनि हराएर जानेछन् । चेतना भयारो सङ्वामासे ।
फिदिम, पान्थर सेवारो ।