• अनिल श्रेष्ठ

विराटनगर / विराटनगर–१२ दरैयाका ६७ वर्षीय श्यामप्रसाद क्षेत्रीलाई बिहीबार राति खोक्दा रगत आएपछि उनी ठीक १० बजे शुक्रबार विराटनगरस्थित गोल्डेन हस्पिटलमा चिकित्सकलाई देखाउन गए । क्षेत्री गोल्डेन अस्पतालका चिकित्सक श्याम रौनियारलाई देखाउन ओपीडीको पुर्जी काटेर लाइनमा बसे । चिकित्सक आउने समय भएपछि जब देखाउन अस्पतालको दोस्रो तल्लामा प्रवेश गर्न खोजे सुरक्षा गार्डले प्रवेशद्वारको मुख्य गेटमा रोके । अस्पतालले कोरोनाको आशङ्का गर्दै क्षेत्रीलाई कोशी अस्पताल लैजान सुझाव दिएर अन्यन्त्र पठाइदिए ।

यस्तै विराटनगर–१६ की अमृतादेवी मण्डलको छाती बेस्सरी दुखेपछि गोल्डेन अस्पतालमा गइन् । उनले विगत ६ वर्षदेखि गोल्डेन अस्पतालका चिकित्सकबाट उपचार गराउँदै आएकी थिइन् । शुक्रबार सहन नसक्ने गरी अमृताको छाती दुखेपछि उनलाई लिएर बुहारी सपना गोल्डने अस्पताल आएकी थिइन् । उनलाई पनि अस्पतालले अन्यन्त्र पठाइदियो । ‘आमा छाती र मुटु साह्रो दुख्यो भन्दै रुन थालेपछि हतारमा अस्पताल लिएर आएँ’ बिरामी अमृताकी बुहारी सपनाले भनिन्, ‘अहिले हस्पिटल आइपुग्दा कोरोना परीक्षण गरेको रिपोर्ट लिएर आए मात्र उपचार गर्ने भन्छ । आमा भने छाती दुख्यो भन्दै छट्पटाउनुहुन्छ, यो अस्पतालले मेरो आमाको कुनै दुःखेसो सुनेन । यस्तो बेला कहाँ गएर कोरोना परीक्षणको रिपोर्ट लिएर आउनु ?’

यसरी गोल्डेन अस्पतालको चिकित्सकलाई देखाउन आउने बिरामी श्यामप्रसाद र अमृतादेवी मात्र होइन, यहाँ शुक्रबार आएका एक दर्जन बिरामीलाई अस्पतालले कोरोनाको त्रासको कारणले अन्यन्त्र पठाएपछि उपचार नपाएर बिरामी बिचल्लीमा परेका छन् ।
सुनसरीको प्रकाशपुर नगरपालिकाका आक्षलाल उराउ पेटमा समस्या भएपछि छोरी–ज्वाइँलाई लिएर गोल्डेन अस्पताल आएका थिए । एक हप्ताअघि गोल्डेन अस्पतालका फिजिसियन डा. श्याम रौनियारलाई देखाएपछि उनी शुक्रबार अस्पतालमा फलोअपमा आएका हुन् । ‘चिकित्सकले शुक्रबार अस्पतालमा आउन बोलाएका थिए’ उनले चिकित्सकको पुर्जा देखाउँदै भने, ‘यहाँ आइपुग्दा अस्पतालभित्र प्रवेश गर्न दिँदैनन् । पेटमा समस्या भएर आएको थिएँ । चिकित्सकलाई देखाउन पाइनँ । यस्तो बिरामी शरीर लिएर अब कुन अस्पताल जानु ?’

अस्पताल पुगेका बिरामीलाई त्यहाँ नराखेर अन्यत्र पठाउनु अस्पतालले मानवता बिर्सेको बिरामी श्यामलाई लिएका आएका उनका भदा देशबन्धु ढकालले बताए । ‘६–७ वर्षदेखि डा. श्याम रौनियारलाई सानुबुवालाई देखाउँदै आउनुभएको छ,’ उनले भने, ‘अहिले बिरामी भएर अस्पताल आउँदा अन्यत्र लैजाऊ भन्दै पठाउनु अस्पतालले मानपता गुमायो हो ।’ सहज भएको बेलामा प्रचार विरामीलाई ल्याउन तँछाड मछाड गर्ने हस्पिटलले अहिले देश कोरोनाले गर्दा सङ्कटमा परेको बेलामा उपचार गर्दिन भन्ने हस्पिटललाई तुरून्त बन्द गर्नुपर्ने उनको भनाइ छ ।

यता हस्पिटलका प्रबन्धक महम्मद ज्याउल हकले दिन प्रतिदिन कोरोना सङ्क्रमण फैलिइरहेको अवस्थामा सावधानी अपनाएर हस्पिटलले सेवा प्रदान गर्दै आएको दाबी गरे । उनले ओपीडीमा आउने बिरामीको स्क्रिनिङ गरेर उपचार गर्न पठाउने गरेको बताए । ‘अहिले हाम्रो अस्पतालको आकस्मिक सेवा २४ घण्टै सञ्चालनमा छ’ उनले भने, ‘ओपीडीमा आएका बिरामीको हकमा मात्र हामीले सामाजिक दूरी कायम गरी स्क्रिनिङ गरेर अस्पतालका विशेषज्ञ चिकित्कसलाई देखाउन पठाउने गरेका छौं ।’

bimari-2 Chatri