धरान । रेबिज भएको कुकुर वा पाल्तु जनावरबाट सर्ने रेबिज रोग २८ वर्षीय एक युवामा भेटिएको छ ।
भोजपुर घर भई हाल धरान उपमहानगरपालिका १५ बस्दै आएका २८ वर्षीय प्रकाश मग्रातीलाई रेबिज भएको धरान १५ का वडाध्यक्ष नरेश इवारमले जानकारी दिए ।
घरमा रुने, कराउने जस्ता लक्षण देखिन थालेपछि बुधबार आफन्तले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेका थिए । उपचारको क्रममा जाँच गर्दा रेबिज भएको पुष्टि भएपछि प्रतिष्ठानले काठमाडौँस्थित टेकु अस्पतालमा रेफर गरेको वडाध्यक्ष इवारमले जानकारी दिए ।
तर, दैनिक रोजीरोटी गरेर खाने भएकाले टेकु अस्पताल लान सक्ने अवस्था नभएपछि हाल डेरा बसेको घरमै थुनेर राखिएको जनाइएको छ । यसका लागि मानव सेवा उद्धारका लागि पहल भइरहेको जनाइएको छ । अन्यलाई पनि रेबिज सर्न सक्ने भएकाले रेबिजको सुई हान्ने तयारी थालिएको छ ।