धरान । धरान–१६ स्थित रङ्गशालामा भएको प्रथम मदन भण्डारी स्मृति महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा धरान लेडिज फुटबल क्लबले फेयर फुटबल क्लबलाई २–० को अन्तरले हराउँदै उपाधि जितेको छ ।
धरान लेडिज फुटबल क्लबका तर्फबाट सुनिता राईले एक्लै दुई गोल गर्दै क्लबलाई उपाधि दिलाइन् । खेलको म्यान अफ द म्याच र सर्वाधिक गोलकर्ता पनि सुनिता नै बनिन् । उनले जम्मा ६ गोल गरेकी थिइन् । विजयी हुने टिमले नगद ५० हजार र उपविजेता हुने टिमले नगद २५ हजारसहित ट्रफी हात पारेका छन् ।
फाइनल खेलको उत्कृष्ट खेलाडी धरान लेडिज फुटबल क्लबकी प्रतिक्षा राई घोषित भइन् । यसैगरी उत्कृष्ट गोलकर्ता धरान लेडिज फुटबल क्लबकै विनु राई बन्न सफल भइन ्। बेस्ट डिफेन्डर सोही क्लबकी आयुषा राई, बेस्ट मिडफिल्डर कुस्मा राई घोषित हुँदै नगद २ हजार प्राप्त गरे । यस्तै बेस्ट स्ट्राइकर फेयर फुटबल क्लबकी प्रसन्न राई, बेस्ट कोच धरान लेडिज फुटबल क्लबका अर्जुन राई घोषित हँुदै नगद २ हजार प्राप्त गरेका छन् ।
यसैगरी प्रतियोगिताभरि ६ गोल गरी सर्वाेत्कृष्ट गोलकर्ताको उपाधि धरान लेडिज फुटबल क्लबकी सुनिता राई, धरान फेयर फुटबल क्लबकी इजिनसा लिम्बू घोषित हुँदै नगद २ हजार प्राप्त गरेका छन् । त्यस्तै पटनाली फुटबल क्लब उत्कृष्ट टिम बन्दै नगद ३ हजार प्राप्त गरेको छ ।
प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई कोशी प्रदेशकी सांसद् यशोदा कायस्थ, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का मानार्थ उपाध्यक्ष किशोर राई, धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङलगायतले पुरस्कार वितरण गरेका थिए । नकआउटको आधारमा खेलाइएको सो प्रतियोगितामा धरानका आठ क्लबले प्रतिस्पर्धा गरेका थिए ।