धरान । सामाजिक सञ्जालमार्फत् ठगी गरेको आरोपमा फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
लामो समयदेखि फरार रहेका सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का २० वर्षीय कुशेश्वर मेहतालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको हो । फेसबुकको म्यासेन्जरमार्फत् ‘भनिद सुवन’ नामबाट सम्पर्क गरी आफू थाइल्यान्डको साइम कमर्सियल बैङ्कका मेनेजर भनेर कुर्मराज शाहीलाई ठगी गरेका थिए ।
उनले फुइङ भनिद नाम प्रयोग गरी ठगी गर्ने नियतले झूठो विवरण पेश गरेको प्रहरीले जनाएको छ । उनले एलेन नार्वी नामको व्यक्तिको खातामा धेरै धनसम्पत्ति रहेको र निजको कोही उत्तराधिकारी नरहेकाले जात मिल्ने आधारमा सो सम्पत्ति शाहीको नाममा ल्याउन सकिने भन्दै झुटो आश्वासन दिएका थिए ।
उक्त झुटो विवरणको आश्वासनमा परी शाहीबाट विभिन्न मितिमा पटक–पटक गरी ६२ लाख ७५ हजार दुई सय रुपैयाँ विभिन्न बैङ्क खाताहरूमा स्थानान्तरण गराएका थिए । मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ विपरीत ठगी कसुरअन्तर्गत उनीविरुद्ध जाहेरी परेपछि प्रहरीले लामो समयदेखि खोजी गरेको थियो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको टोलीले उनलाई मङ्गलबार कोशी गाउँपालिका–८ स्थित भण्टाबारीबाट नियन्त्रणमा लिएको हो । प्रहरीले आरोपितलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटी, काठमाडौँ पठाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।