भोजपुर/ भोजपुर नगरपालिकाको चरम लापरबाहीका कारण निर्माण सम्पन्न भएको एक महिना नपुग्दै बसपार्कको पर्खाल भत्किएको छ । प्राविधिक स्टिमेटअनुसारको गुणस्तरीय काम नहुँदा भोजपुर नगरपालिका–७ कोदारस्थित नयाँ बसपार्कको पर्खाल भत्किएको हो ।

पर्खाल निर्माणको काममा प्राविधिक स्टिमेट लापरबाही भएकाले पर्खाल महिना दिन पनि नटिकेको स्थानीयले गुनासो गरेका छन् । लाखौँको लगानीमा बनेको पर्खाल महिना दिन नपुग्दै भत्किएपछि बजेटको दुरुपयोग बढेको भन्दै स्थानीय बासिन्दा रुष्ट बनेका छन् ।

पहुँचका आधारमा मात्र मनोमानी ढङ्गमा काम सकेको स्थानीय स्थानीय गणेश श्रेष्ठले बताए । नगरपालिकाको गलत स्टिमेटका कारण पर्खालको काम दीर्घकालीन नभएको उनको भनाइ छ । श्रेष्ठले भने, ‘निर्माणका कामहरू पहुँचका आधारमा आफ्नालाई गरिखाने भाँडा बनाइयो, त्यसैले पर्खाल दीर्घकालीन टिकाउ भएन ।’

यता नगरपालिकाका मेयर कैलाशकुमार आलेले भने अविरल वर्षाका कारण बसपार्कको पर्खाल भत्किएको बताए । पुरुवा माटोमा निर्माण गरिएको पर्खाल निरन्तरको वर्षाले भत्काएको उनको दाबी छ । प्राविधिकसँग बुझ्दा स्टिमेटअनुसार नै काम सम्पन्न भएको जानकारी पाएको मेयर आलेले प्रतिक्रिया दिए । उनले भत्किएको पर्खालको पुनःनिर्माणका लागि अर्काे शीर्षकमा बजेट विनियोजन गर्नुबाहेक अर्काे विकल्प नरहेको बताए ।

यस्तै निर्माण समितिका अध्यक्ष टेक भण्डारीले प्राविधिक स्टिमेट गलत भएको बताए । भण्डारीका अनुसार पुरानो पर्खालमा नगरपालिकाका प्राविधिकले पर्खाल लगाउने स्टिमेट गरेकाले पर्खाल भत्किएको हो । पुरानो पर्खालमाथि नयाँ पर्खाल नलगाउन भने पनि नगरपालिकाका प्राविधिकले गलत स्टिमेट गरेपछि पर्खाल महिना दिन नपुग्दै भत्किएको भण्डारीले आरोप लगाएका छन् ।