धनकुटा/ धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित धारापानी स्थायी घर भई वैदेशिक रोजगारीमा रहेका त्यहाँका युवाहरूले धारापानी गाउँका १ सय १० घरलाई खाद्यान्न सहयोग गरेका छन् । उनीहरूलाई साँगुरी–धारापानी समाज धरानले आइतबार धारापानी गाउँमा १ औपचारिक कार्यक्रमको आयोजना गरी राहत वितरण गरेका हुन् ।
धारापानी स्थायी बसोबास रही हाल रोजगारीको सिलसिलामा कतार, इजरायल, साउदी, दुबई, मलेसिया, हङ्कङ, जर्मन, बेलायत, दक्षिण कोरियालगायतका देशमा रहेका उनीहरूले २ लाख ३२ हजार ७ सय ८५ रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।
उनीहरूले नेपाल सरकारले कोभिड–१९ कोरोना भाइरस नियन्त्रणका लागि गरेको लकडाउनको मारमा परेका धनकुटाको धारापानी गाउँका १ सय १० घरपरिवारलाई खाद्यान्न सहयोग गरेको साँगुरी–धारापानी समाज धरानका अध्यक्ष नेत्रकुमारी राईले बताइन् । उनीहरूले प्रतिपरिवार २५ केजीको १ बोरा चामल, १ केजी नुन, दुई केजी दाल र १ लिटर खानेतेल सहयोग गरेका छन् ।
प्रवासमा रहे पनि यहाँका युवाहरूले यहाँका स्थानीयप्रति सदासयता देखाएको भन्दै कार्यक्रम आयोजक संस्थाका सदस्य सन्तोष राईले धन्यवाद दिए । वैदेशिक रोजगारमा रहेका २४ जना युवाहरूले सङ्कलन गरी पठाएको रकम साँगुरी–धारापानी समाज धरानले हस्तान्तरण गरेको समाजकी अध्यक्ष एवम् राहत वितरण कार्यक्रमका संयोजक नेत्रकुमारी राईले जनाकारी दिइन् ।