- बसन्त लिम्बू
ताप्लेजुङ / गुड्दै गरेको मालबाहक ट्रकमा करेण्ट लागेर ताप्लेजुङमा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । आइतवार दिउँसो ३ बजे सामान पु¥याएर फर्कदै गरेको मालबाहक ट्रकमा फुङलिङ नगरपालिका वडा नं २ मा लत्रिएको विद्युतको तारले छुँदा करेण्ट लागेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।
मृत्यू हुनेमा पाथिभरा याङ्वरक गाउँपालिकाका जीप चालक विकास सुनुवार रहेका छन् भने ट्रकचालक अमृत श्रेष्ठ गम्भिर घाइते छन् ।
घाइते श्रेष्ठ पाँचथर भारपाको रहको बताइएको छ । डिएसपी श्रेष्ठका अनुसार दोभानमा सामान पु¥याएर फकँदै गरेको मे १ ख १८६५ नम्वरको मालबाहक ट्रकमा लत्रिएको नाङ्गो तारबाट करेण्ट प्रवाह भई ट्रक चालक श्रेष्ठ घाइते भएका थिए ।
‘सोही समयमा जिल्ला सदरमुकामबाट मेरिङ्देन गाउँपालिका तर्फ गइरहको मे १ च ३०११ नम्बरको यात्रुवाहक जीपका चालक सुनुवारले विचबाटोमा ट्रक रोकिएको देखेर के भएको रहेछ भनेर ट्रकका चालकलाई हेर्न जाँदा उनलाई पनि करेण्ट लागेको रहेछ ।’ डिएसपी श्रेष्ठले भने । जीप चालक सुनुवारको करेण्ट लागेर घटनास्थल मै ज्यान गएको थियो । गम्भिर घाइते ट्रकचालक श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको छ । घटनाका विषयमा थप अनुशन्धानका लागि प्रहरी टोली खटिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।