धरान /  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुपति प्रा डा ज्ञानेन्द्र गिरीले प्रतिष्ठानको निर्माणाधीन मातृशिशु उपचार केन्द्र (एमसिएच) भवनको सम्पन्न गरेर चाडो संचालन गर्न लागी परेको बताएका छन् ।

उनले ह्दय रोग उपचपार केन्द्र (कार्डियोलोजी) र क्यान्सर उपचार केन्द्र (अंकोलोजी) स्थापनासंगै ट्रमा सेन्टर, अंग प्रत्यारोपण केन्द्रको स्थापना गर्न पनि पहल भइरहेको बताए ।

विहीबार उपुलपतिमा नियुक्ती भएका सयदिन पुगेको अवसरमा प्रतिष्ठानका अधुरा योजना र भावि योजना बारे जानकारी दिदै उपकुलपति प्रा डा गिरिले भने, ‘प्रतिष्ठानको आफ्नै औषधि उद्योगको स्थापना, विभिन्न शैक्षिक विभागहरुको विस्तारसहित भौतिक पूर्वाधार निर्माण र विकासको लक्ष्यमा गुरु योजनासहित प्रतिष्ठान अगाडी बढिरहेको छ ।’

उनले मोरङमा र काठमाण्डौमा रहेको प्रतिष्ठानको जग्गा र सम्पतिको संरक्षणसहित सार्वजनिक निजि साझेदारी अन्तर्गत ती ठाउहरुको विकास र स्वास्थ्य सहितको अन्य सेवा विस्तार गर्ने योजना प्रतिष्ठानले बनाएको बतए ।
आमा र बच्चाको उपचार गर्ने उदेश्यले चार बर्षअघि सूरु भएको अढाइ अर्व रुपैयाको एमसिएच भवन २५ प्रतिशत बनेर रोकिएको छ । त्यस्तै, ह्दय रोग उपचपार केन्द्र (कार्डियोलोजी) र क्यान्सर उपचार केन्द्र (अंकोलोजी)कालागि काम सुरु भएपनि पुर्व उपकुलपति डा राजकुमार रौनियारसहित ८ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा लगाएपछि अधुरो हुन पुगेको छ ।

उपकुलपति गिरीले प्रतिष्ठानमा ट्रमा सेन्टर स्थापना गर्न पनि पहल भइरहेको बताए । उनले भने, ‘अस्पतालको स्तरोन्नतिसंगै प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालयको रुपमा परिवर्तन गरी चिकित्साशास्त्रको उच्च शिक्षा, गुणस्तरीय र विशिष्ट उपचार सेवा र अनुसन्धानमा उत्कृष्ट केन्द्रका रुपमा पहिचान दिलाउन प्रयासरत छौं ।’

उनले अन्तराष्ट्रिय प्रतिष्पर्धामा खरो रुपमा उत्रन सक्ने दक्ष जनशक्ति प्रतिष्ठानबाट उत्पादन गर्न चिकित्साशास्त्रका विभिन्न तहका पाठ्यक्रमहरुलाई गुणस्तरीय, प्रतिष्पर्धी एवं जीवनपयोगी बनाउन प्रयास जारी रहेको बताए ।