विश्व जनसङ्ख्या चित्र र भविष्य

alt
  • असार २६, २०७७
  • रामचन्द्र वाग्ले

जनसङ्ख्या भनेको कुनै निश्चित स्थानमा निश्चित समयमा रहेका मानिसहरूको कुल सङ्ख्या हो । विश्वको जनसङ्ख्या पाँच अर्ब पुगेको दिन सन् १९८७ जुलाई ११ तारिखलाई मानिन्छ । त्यही दिनबाट प्रेरित भएर विश्व बैङ्कको माथिल्लो तहको डेमोग्राफर डा. के. आर. जचरियाहले विश्व जनसङ्ख्या दिवस मनाउने प्रस्ताव राखेका थिए । उनको उक्त प्रस्तावपछि सन् १९८९ सालमा संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रममा सरकारी परिषद्ले विश्व जनसङ्ख्या दिवस मनाउने निर्णय गर्यो । उक्त निर्णयपछि प्रत्येक वर्ष जुलाई ११ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

यो दिवस पारिवारिक योजना, लैङ्गिक समानता, गरिबी, मातृ स्वास्थ्य र मानव अधिकारको महत्व आदिका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाउन थालिएको हो । यस वर्षको विश्व जनसङ्ख्या दिवसको नारा ‘हालको कोरोना महामारीको अवस्थामा कसरी नारीको स्वास्थ्य र अधिकारको रक्षा गर्ने’ भन्ने निर्धारण गरिएको छ । यस वर्ष यौन र प्रजनन् स्वास्थ्यका लागि महिलाको आवश्यकताहरू र महामारीले महिलामाथि निम्त्याउन सक्ने खतराहरूबारे जनचेतना जगाउने उद्देश्यले विश्व जनसङ्ख्या दिवस मनाइँदै छ ।

अहिले कोरोना भाइरसले विश्वभर विभिन्न क्षेत्रहरूमा असर पुर्याइरहेको छ । अहिले थुप्रै नारीहरू स्वास्थ्यका क्षेत्रमा कार्यरत छन् । उनीहरूमा कोरोना सर्न सक्ने प्रबल सम्भावना छ । अहिले विश्वभर आन्तरिक र वाह्य उडान ठप्प छन् । यसले गर्दा गर्भनिरोधक साधनहरूको मागअनुसारको पूर्ति हुन सकेको छैन । यसले गर्दा अनावश्यक गर्भ रहन सक्ने खतरा बढेर गएको छ । यस्तो कोरोना महामारीको समयमा गर्भवती महिलालाई निकै चुनौतीहरूको सामना गर्नुपरिरहेको छ । यस्तो विषम परिस्थितिमा महिलाको स्वास्थ्य र अधिकारमाथि चारैतिरबाट खतरा हुने देखिएको छ ।

प्रजनन्का दृष्टिकोणले महिलाको स्वास्थ्य पुरुषको स्वास्थ्यभन्दा बढी महत्वपूर्ण हुन्छ । पुरुषको स्वास्थ्य प्रजनन्को प्रमुख चरणमा निकै महत्वपूर्ण भए पनि गर्भाधान भएपछि त्यति महत्व राख्दैन । तर महिलाको स्वास्थ्य भने प्रजनन्को प्रमुख चरणदेखि सन्तान प्राप्ति नहुँदासम्म उत्तिकै महŒवपूर्ण हुन्छ ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क वल्र्डोमिटर २०२० का अनुसार अहिले विश्वको जनसङ्ख्या सात अर्ब असी करोड छ । विगतमा हेर्दा विश्वको जनसङ्ख्या सन् १८०४ मा १ अर्ब, सन १९३० मा दुई अर्ब, सन् १९६० मा तीन अर्ब, सन् १९७४ मा चार अर्ब, सन् १९८७ मा पाँच अर्ब, सन् १९९९ मा ६ अर्ब र सन् २०११ मा सात अर्ब थियो । त्यसैगरी विश्वको जनसङ्ख्या सन् २०२३ मा आठ अर्ब, सन २०३७ मा नौ अर्ब र सन् २०५७ मा दश अर्ब पुग्ने अनुमान संयुक्त राष्ट्रसङ्घको वल्र्डोमिटरले गरेको छ ।

हाल विश्वको जनसङ्ख्या वृद्धिदर विगतका वर्षहरूको तुलनामा घटेर एक दशमलव शून्य पाँच प्रतिशत रहेको छ । अहिले विश्वको औषत जनसङ्ख्या वृद्धि आठ करोड दश लाख प्रतिवर्ष रहेको अनुमान गरिएको छ । सन् २०१९ सालको संयुक्त राष्ट्रसङ्घको जनसङ्ख्या विभागको तथ्याङ्क अनुसार विश्वमा तीन अर्ब उनान्नब्बे करोड (५०.४ प्रतिशत) पुरुष र तीन अर्ब बयासी करोड (४९.६ प्रतिशत) महिला रहेको अनुमान गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क वल्र्डोमिटर २०२० का अनुसार हाल सबैभन्दा बढी जनसङ्ख्या भएका २० मुलुकहरू क्रमशः चीन, भारत, अमेरिका, इण्डोनेशिया, पाकिस्तान, ब्राजिल, नाइजेरिया, बङ्गलादेश, रसिया, मेक्सिको, जापान, इथियोपिया, फिलिपिन्स, इजिप्ट, भियतनाम, डि. आर. कोङ्गो, टर्की, जर्मनी, इरान र थाइल्याण्ड रहेका छन् । चीनको जनसङ्ख्या सबैभन्दा बढी करिब एक अर्ब चौवालीस करोड छ । त्यस्तै भारतको जनसङ्ख्या एक अर्ब अठ्तीस करोड, अमेरिकाको जनसङ्ख्या तेत्तीस करोड दश लाख, इण्डोनेशियाको जनसङ्ख्या सत्ताईस करोड पैंतीस लाख र पाकिस्तानको जनसङ्ख्या बाईस करोड नौ लाख रहेको छ ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क वल्र्डोमिटर २०२० ले भनेको छ– सबैभन्दा बढी जनसङ्ख्या भएका तीन महादेशहरू एशिया, अफ्रिका र युरोप हुन् । एशिया महादेशमा मात्र चार अर्ब चौसठ्ठी करोड जनसङ्ख्या छ । त्यसपछि अफ्रिका महादेशमा एक अर्ब चौंतीस करोड र युरोपमा चौहत्तर करोड छ्यहत्तर लाख जनसङ्ख्या छ । सबैभन्दा कम जनसङ्ख्या भएको महादेश अष्ट्रेलिया हो । त्यहाँ करिब चार करोड सत्ताईस लाख मात्र जनसङ्ख्या छ ।

पिउ फोरमका अनुसार सन् २०१० मा दुई अर्ब सत्र करोड (३१ प्रतिशत) मानिसहरू क्रिश्चियन, एक अर्ब उनासी करोड (२३ प्रतिशत) मानिसहरू मुस्लिम, एक अर्ब तीन करोड (१५ प्रतिशत) मानिसहरू हिन्दु, अठ्चालीस करोड (७ प्रतिशत) मानिसहरू बौद्ध र बाँकी अन्य धर्म मनाउँथे भने एक अर्ब बाह्र करोड (१६ प्रतिशत) मानिसहरू कुनै पनि धर्ममा आबद्ध थिएनन् ।

वल्र्डोमिटर २०२० का अनुसार विश्वका मानिसहरूको औषत आयु ७३ वर्ष रहेको छ । महिलाको औषत आयु करिब ७६ वर्ष रहेको छ भने पुरुषको औषत आयु करिब ७१ वर्ष रहेको छ । हङ्कङमा बस्ने मानिसहरूको औषत आयु सबैभन्दा बढी (८५.२९ वर्ष) छ । त्यस्तै जापान, मकाउ, स्विटजरल्याण्ड, सिङ्गापुर र इटालीमा बस्ने मानिसहरूको औषत आयु अन्य देशको तुलनामा अधिक छ । तथ्याङ्कअनुसार ती देशमा बस्ने मानिसहरूको औषत आयु ८४ वर्षभन्दा बढी छ । विश्वमा प्रत्येक दिन आठ सय महिलाहरू बच्चा जन्माउने क्रममा मर्ने गरेको एक अनुसन्धानले देखाएको छ ।

सर्वोत्तम जनघनत्व पचासदेखि सय मानिस प्रतिवर्ग किलोमिटरलाई मानिन्छ । सबैभन्दा बढी जनघनत्व भएका प्रमुख पाँच देशहरू मकाउ, मोनाको, सिङ्गापुर, हङ्कङ र जिब्राल्टार हुन् भनेर हान्नाह रित्चीले आवर वल्र्ड इन डाटामा सार्वजनिक गरेका छन् । उक्त तथ्याङ्कअनुसार मकाउको जनघनत्व बीस हजार पाँच सय सतचालीस प्रतिवर्ग किलोमिटर छ भने मोनाकोको जनघनत्व उन्नाईस हजार तीन सय अठ्चालीस प्रतिवर्ग किलोमिटर छ ।

संयुक्त राष्ट्रसङ्घको आर्थिक र सामाजिक मामिला विभागको जनसङ्ख्या शाखा कण्ट्रिमिटर २०२० का अनुसार हाल नेपालको जनसङ्ख्या तीन करोड दुई लाख छ । यो लेख तयार पार्दासम्म नेपालको जनसङ्ख्या तीन करोड दुई लाख चालीस हजार सात सय छयालीस पुगेको थियो । यो विश्वको कुल जनसङ्ख्याको ०.३९ प्रतिशत मात्र हो । जनसङ्ख्याको आधारमा नेपाल विश्वको ४९ औं स्थानमा छ ।

हाल नेपालमा कुल जनसङ्ख्याको एक करोड उनन्चास लाख पन्चान्नब्बे हजार (४९.६ प्रतिशत) पुरुष र एक करोड बाउन्न लाख छत्तीस हजार (५०.४ प्रतिशत) महिला छन् । नेपालमा औषतमा प्रतिदिन एक हजार सात सय तीस र प्रत्येक घण्टा बहत्तर जना जन्मिन्छन् । त्यस्तै औषतमा प्रतिदिन पाँच सय पैंतीस र प्रत्येक घण्टा बाईस जना मर्ने गरेको पाइएको छ । नेपालमा औषतमा प्रतिदिन दुई सय बाईस र प्रत्येक घण्टा नौ जनाले वाह्य बसाइसराइ गर्ने गरेको पाइएको छ । त्यसैले नेपालको जनसङ्ख्या प्रत्येक दिन ९ सय ७४ जनाका दरले बढिरहेको छ ।

नेपालको जनघनत्व दुई सय पाँच प्रतिवर्ग किलोमिटर रहेको छ । विश्वको जनसङ्ख्या वृद्धिदर घटेको भए तापनि नेपालको जनसङ्ख्या वृद्धिदर बढेको छ । अहिले नेपालको जनसङ्ख्या वृद्धिदर १.८५ प्रतिशत रहेको छ । हाल नेपालको जनसङ्ख्या वृद्धि पाँच लाख अठ्ठाईस हजार प्रतिवर्ष रहेको छ ।

नेपालका करिब बैसठ्ठी लाख छब्बीस हजार (२१.४ प्रतिशत) मानिसहरू शहरमा बस्छन् । अहिले सबैभन्दा बढी मानिसहरू बसोबास गर्ने प्रमुख पाँच शहरहरू काठमाडौं, पोखरा, पाटन, विराटनगर र वीरगञ्ज हुन् । अहिले काठमाडौंमा एक करोड चवालीस लाख, पोखरामा दुई लाख, पाटनमा एक लाख त्रियासी हजार, विराटनगरमा एक लाख बयासी हजार र वीरगञ्जमा एक लाख तेत्तीस हजार मानिस बस्छन् । सबैभन्दा थोरै जनसङ्ख्या भएको शहर धुलिखेल हो । यहाँँ सोह्र हजार दुई सय त्रिसठ्ठी जना मात्र बसोबास गर्छन् ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क कण्ट्रिमिटर २०२० का अनुसार अहिले नेपालीहरूको औषत आयु करिब ६६ वर्ष रहेको छ । पुरुषको औषत आयु ६५ वर्ष र महिलाको औषत आयु ६७ वर्ष रहेको छ । हाल नेपालको कुल निर्भरता दर ६३.७ प्रतिशत छ । बाल निर्भरता दर ५६.६ प्रतिशत र वृद्ध निर्भरता दर ७.१ प्रतिशत रहेको छ । युनेस्कोको २०१६ को तथ्याङ्कअनुसार नेपालमा करिब एक करोड अठ्ठाईस लाख (६४.९ प्रतिशत) वयस्क (१५ वर्ष वा सोभन्दा माथिका) मानिसहरू शिक्षित छन् । एकहत्तर लाख पन्ध्र हजार (७५.५८ प्रतिशत) वयस्क पुरुषहरू र छपन्न लाख पचास हजार (५५.११ प्रतिशत) वयस्क महिलाहरू शिक्षित छन् ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क कण्ट्रिमिटर २०२० का अनुसार हाल नेपालमा एक करोड तीन लाख बयान्नब्बे हजार (३४.६ प्रतिशत) मानिसहरू पन्ध्र वर्षमुनिका रहेका छन् । त्यसमध्ये बाउन्न लाख पन्चान्नब्बे हजार केटा र पचास लाख सन्तानब्बे हजार केटी छन् । यसैगरी एक करोड त्रियासी लाख साठी हजार (६१.१ प्रतिशत) मानिसहरू पन्ध्र वर्षदेखि ६४ वर्षसम्मका छन् । त्यसमध्ये अठासी लाख तीन हजार मानिसहरू युवा र पन्चान्नब्बे सन्ताउन्न हजार युवती छन् । यसैगरी तेह्र लाख वृद्ध र ६ लाख सन्तान्नब्बे हजार वृद्धा छन् ।

द ग्लोबल रिलिजियस ल्याण्डस्केप २०२० का अनुसार हाल नेपालमा दुई करोड चवालीस लाख (८०.७ प्रतिशत) मानिसहरू हिन्दु, एकतीस लाख तेह्र हजार (१०.३ प्रतिशत) मानिसहरू बौद्ध, तेह्र लाख नब्बे हजार (४.६ प्रतिशत) मानिसहरू इस्लाम धर्म मान्छन् ।

गरिबी, अज्ञानता, अशिक्षा, न्यून मृत्युदर, प्रभावकारी स्वास्थ्य सुविधा, परिवार नियोजनका साधनहरूको कम प्रयोग, आन्तरिक बसाइसराइ, अधिक जन्मदर, न्यून जनचेतनामूलक कार्यक्रम आदि कारणहरूले गर्दा जनसङ्ख्या दिनानु दिन बढिरहेको छ ।

जनसङ्ख्या र वातावरणका बीच घनिष्ठ सम्बन्ध हुन्छ । जनसङ्ख्या सन्तुलित तथा व्यवस्थित भएमा वातावरण र अन्य स्रोत र साधनहरू पनि सन्तुलित हुन्छन् । जनसङ्ख्या असन्तुलित तथा अत्यधिक भयो भने वातावरण र अन्य स्रोत साधनहरू पनि असन्तुलित हुन्छन् ।

कुनै पनि देशको जनसङ्ख्या त्यस देशको क्षेत्रफलसँग प्रत्यक्षरूपमा सम्बन्धित हुन्छ । कुनै देशको क्षेत्रफल ठूलो छ भने त्यस देशको जनसङ्ख्या धेरै हुँदैमा खासै असर पर्दैन तर सानो देशको जनसङ्ख्या धेरै भयो भने त्यसले निकै प्रभाव पार्छ ।

जनसङ्ख्या वृद्धि अधिक भएमा नकारात्मक असरहरू देखा पर्दछन् । जनसङ्ख्या वृद्धिले वातावरण र यसका विभिन्न पक्षहरूमा असर पार्छ । जनसङ्ख्याको अत्यधिक वृद्धिले आर्थिक मन्दी निम्त्याउँछ । मानिसहरूलाई खान, बस्न, पालन–पोषण गर्न, लत्ताकपडा लगाउन समस्या पर्छ । बेरोजगारी बढेर जान्छ । यसले गर्दा प्रतिव्यक्ति आय घटेर जान्छ । यसले गरिबी र अनिकाल निम्त्याउँछ ।

सार्वजनिक सम्पत्ति, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत तहमा मानिसहरूको पहुँच घटेर जान्छ । जनसङ्ख्या वृद्धिले गर्दा सामानहरूको माग वृद्धि, पूर्ति कम र मूल्य वृद्धि हुन्छ । यसले गर्दा विश्वको अर्थतन्त्र घट्छ । जनसङ्ख्या वृद्धिले गर्दा स्रोत र साधनहरूको अत्यधिक प्रयोग हुन थाल्छ । शहरीकरण बढ्छ । उर्वराभूमि, वनजङ्गल, पशुपक्षी आदि मासिँदै जान्छन् । हावापानी तीव्र गतिले परिवर्तन हुन थाल्छ । मानिसहरूको आयु घट्छ । पानीका सतहहरू घटेर पानीको अभाव सिर्जना हुन्छ ।

प्रभावकारी स्वास्थ्य शिक्षा, परिवार नियोजनका साधनहरूको सहज पहुँच, विशाल र प्रभावकारी जनचेतना अभिवृद्धि कार्यक्रम, ऐन र कानूनको निर्माण र लागू आदि कार्यहरू गरेर जनसङ्ख्या वृद्धि घटाउन अथवा व्यवस्थापन गर्न सकिन्छ ।

(लेखकः स्नातकोत्तर क्याम्पस विराटनगरमा एमएस्सीका शोधार्थी हुनुहुन्छ ।)

मिर्गौला पीडित श्रीम ...

ब्लाष्टखबर । दुबै मृगैला फेल भएकी २५ वर्षीय श्रीमती बचा ...

हालसम्म ९९ संक्रमितक ...

ब्लाष्टखबर ।  नेपालमा आज थप ५ सय ९५ जनामा कोरोना स ...

हर्क साम्पाङको रिहाई ...

ब्लाष्टखबर । धरानकाे खानेपानीकाे मुहानमा पाईप तोडफोड गर ...

मोरङको रंगेलीमा २८ स ...

विराटनगर / मोरङको रंगेली नगरपालिका भित्र शुक्रबार २८ जन ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved