इटहरीको वास्तविकता
अहिलेको इटहरी अब पहिलेको जस्तो रहेन । अहिलको इटहरी धेरै सुखभोग गर्दै छ । अहिलेको इटहरी ठूलो सोच भएको फराकिलो र फरासिलो छ । यसको भूगोल बढेर आँकी नसक्नु भएको छ । पुरानो इटहरीसहित हाँसपोसा, खनार, एकम्बा र पकली जस्ता अस्तित्व बोकेका ठूला हस्तीयुक्त बस्तीहरु समाहित भएका छन् । तसर्थ अहिलेको इटहरी तराईको विशाल भू–भाग ओगटेको जानी नसकनु बुझी नसक्नुको भएको छ ।

इटहरी थारु समुदायका मान्छेले आवादीको श्री गणेश गरेको ठाउँ हो । इटहरीको माटोमा थारुहरुको श्रम छ । यहाँको माटोमा उनीहरुको इतिहास छ । यहाँका खेतका गरा–गरामा थारु समुदायको श्रम र सीप छ । तसर्थ, इटहरीलाई बसोबासयोग्य, उब्जाउयोग्य, व्यापार–व्यवसाययोग्य र औद्योगिक क्षेत्रयोग्य सम्झेर आएका व्यक्ति–व्यक्तित्वले यो यथार्थलाई आत्मसात गर्ने पर्छ । यसो भएन भने इटहरीवासी हुनुको सार्थकता रहँदैन ।

इटहरीको विकासक्रम
इटहरीको सामाजिक, सांस्कृतिक, राजनीतिक र परम्पराका कुरा गर्दा इटहरी–४ रेडक्रस चोक र तत्कालीन दरोगा टोल बस्ने जितुफनित चौधरीका घरमा वि.सं. १९३९ मा जन्मिएका वीरनरसिंह चौधरीको नाम लिनु आवश्यक छ । प्रतापी र व्युत्पन्न मतिका तिनलाई तत्कालीन शासक राणाहरुले यस क्षेत्रका हात्तीसारको दरोगा पद दिएका थिए । यिनी रङ्गेली उत्तर, कोशी पूर्व, महाभारत शृङ्खला दक्षिण र विराटनगर उत्तर मौजाको सुब्बा पद पनि प्राप्त व्यक्ति थिए ।

यिनको बैठक (थारुभाषामा बासघरा)मा इँटा ओछ्याएर त्योमाथि काठ बिछ्याएर बलियो बनाइएको ठिँगुरो थियो । थारु भाषामा ठिँगुरोलाई “हरि” भनिन्छ । तत्कालीन समयको प्रशासनिक जिम्मेवारीप्राप्त वीरनरसिंह सुब्बाले फटाहालाई सजाय दिन आफ्ना बासघरामा ‘इँटाको हरि’ बनाएको कुरा धेरै प्रगन्नामा प्रचार भएपछि यस ठाउँको नाम ‘इटहरी’ रहन गएको हो । इटहरीमा बसोबास गर्ने र इटहरीलाई मान्ने सबैले जान्नै पर्ने र मान्नै पर्ने सत्य हो यो ।

भाषाशास्त्रले के भन्छ भन्दै गरोस्, किंवदन्ती के के छन् ती पनि हुँदै गरुन् । धरातल नटेकी, ऐतिहासिक तथ्यलाई नकेलाई कसलाई के भन्न मनलाग्छ त्यो भन्न ऊ स्वतन्त्र छ । तर इटहरीको भौगोलिक र ऐतिहासिक सत्यतालाई नियाल्दा अहिलेको जुटविकासको गेटको पूर्वतिर सुब्बा नरसिंहले प्रयोग गर्ने गरेको इनार देख्नेहरु सम्भवतः अहिले पनि जीवित छन् ।

त्यसपछि उनी हालको रेडक्रस चोक, पहिलेको दरोगा टोल, ढेडु टोलमा गएर बसेका र त्यहाँ इँटा भेटिएकाले पनि सुब्बा नरसिंहले इँटा बिछ्याएर माथि खोपेका काठ तेस्र्याएर अपराधीलाई ठिङ्गु¥याउने ठिँगुरो बनाएका थिए । यसर्थ इटहरीको नाम रहनुका पछाडि इँटाको प्रयोगको नाम जोडिएको पुष्टि हुन्छ । विराटनगरबाट धरान जाने बाटोको चारकोसे झाडी फाँडिएर मोटर चल्ने बाटोको रेखाङ्कन भएपछि इटहरीको आवाद बढेको हो । इटहरीबाट नै पूर्व–पश्चिम राजमार्गको रेखाङ्कन भएपछि इटहरी कसैले रोकेर नरोकिने छेकेर नछेकिने भएको हो ।

इटहरीको साहित्यिक ऐतिहासिकता
वि.सं. २०२३ सालमा इटहरीका केही युवाहरुको प्रयासबाट ‘जागृति क्लब’ नामक संस्था खुलेको थियो । पञ्चायतीकालमा स्थापित यो जागृति क्लबका अगाडि ‘राष्ट्रिय’ शब्द थपेर मात्र दर्ता भएको थियो । राष्ट्रिय जागृति क्लबको संयोजकत्वमा धेरै वर्षसम्म इटहरीमा सांस्कृतिक कार्यक्रम भएको पाइन्छ । इटहरीको एक मात्र साझा संस्था यो राष्ट्रिय जागृति क्लब पञ्चायततर्फ आकर्षित भएकाहरुको कब्जामा प¥यो । तत्कालीन व्यवस्थासँग असहमति जनाउने युवाहरुले वि.सं. २०२५ सालमा ‘पसिना वाचनालय’ नामक संस्था गठन गरेको इतिहास पाइन्छ ।

त्यो पसिना वाचनालयलाई त्यसै छोडेर २०२६ सालमा ‘इटहरी साहित्यिक पुस्तकालय तथा वाचनालय’ नामक अर्को संस्था गठन गरे । इटहरीको प्रथम प्रकाशनको ऐतिहासिक सौभाग्य बोक्न सफल ‘झुत्तो’ समसामयिक साहित्यिक सङ्कलन हो । यो झुत्तोको सम्पादनमा रमेशकुमार विष्ट, संरक्षकमा मधु रिमाल तथा व्यवस्थापक एवम् प्रकाशनमा वसन्त सुवेदी रहेको पाइन्छ । वि.सं. २०२७ सालमा त्यही पुस्तकालय तथा वाचनालयले ‘जनमुक्ति’ नामक अर्को साहित्यिक सामाजिक सङ्कलन प्रकाशन गरेको पाइन्छ । त्यसको सम्पादक पनि रमेशकुमार विष्ट नै हुनुुहुन्छ र त्यही पुस्तकालय वाचनालयको निमित्त प्रकाशनमा नारायणबहादुर श्रेष्ठको नाम पढ्न पाइन्छ ।

इटहरीको साहित्यिक प्रकाशनको इतिहासमा जनसांस्कृतिक परिवारको
प्रकाशन र राजकुमार कार्कीको सम्पादकत्वमा ‘काँचुली’ तीन अङ्कसम्म प्रकाशित भएको पनि पाइन्छ । इटहरीको साहित्यिक इतिहास हेर्दा वि.सं. २०३७ सम्म इटहरी साहित्यिक प्रारम्भिक चरणबाट गुज्रियो । वि.सं. २०३८ सालदेखि सप्तकोशी साप्ताहिक र २०३९ सालदेखि प्रगति पाक्षिक पत्रिका प्रकाशन हुन थालेपछि इटहरीमा साहित्यिक वातावरण फक्रिएको भेटिन्छ । तथापि साहित्यिक क्रियाकलाप गर्ने संस्थाको अभाव भने खड्किरहेको थियो । त्यही अभावलाई परिपूर्ति गर्न वि.सं. २०४३ साल मङ्सिर २८ गते इटहरी साहित्यिक समूह गठन भएको हो । यस संस्थाका संस्थापकहरुमा अध्यक्ष धरणीधर दाहाल, उपाध्यक्ष कृष्णविनोद लम्साल, सचिव लक्ष्मण निरौला, उपसचिव रामु सुनुवार, कोषाध्यक्ष भरत गैरपिप्ली तथा सदस्यमा कृष्ण अधिकारी र विष्णु डाँगी छानिनु भएको थियो ।

यो साहित्यिक समूह गठन भएलगत्तै २०४४ सालदेखि इटहरीमा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य, युवाकवि मोतिराम भट्ट र महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाउने प्रचलन बसेको हो । प्रतिवर्षको असार २९ गते भानुभक्तको फोटो अगाडि राखेर रामायण पाठसहित नगर परिक्रमा गर्ने प्रचलन धेरै वर्ष चल्यो । बाजागाजासहित नगर परिक्रमाको इटहरीमा अहिले पनि चर्चा गरिन्छ । तर, असारे झरी र अन्य विविध कठिनाइका कारण रामायण पाठसहित नगर परिक्रमा गर्ने प्रचलन अहिले विलय जस्तै हुन पुगेको छ । यो परम्परा यथावत् रहोस् भन्ने नगरवासीको आशयलाई इटहरी साहित्यिक समूहका वर्तमान पदाधिकारीहरुले सुन्नेछन् भन्नै पर्छ ।

इटहरी काव्य पुरस्कार
भानु जयन्ती मनाउने क्रममा एउटा दूरगामी भविष्य बोक्न सक्ने कार्य र विधालाई छनौट गर्ने सोच त्यस बखत आयो । छन्द विधामा साधनारत, नेपाली भाषासेवी वा छन्द विधामा कृति प्रकाशन गरेका एकजना छन्दोवादी स्रष्टालाई ‘इटहरी काव्य पुरस्कार’ ले सम्मानित र पुरस्कृत गर्ने सोच आयो । एकदशक पहिलेको इटहरी साहित्यिक समूहका पदाधिकारीको यो सोचले अहिले मूर्तरुप लिन थालेको छ । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीका अवसरमा छन्द विधामा कलम चलाउने स्रष्टालाई सम्मानित र पुरस्कृत गर्न इटहरी उपमहानगरपालिकाले सहयोग गरिदेओस् भन्ने प्रस्ताव गरेको थियो । स्थानीय निर्वाचन पूर्व तत्कालीन नगरप्रमुखको समेत अभिभारा सम्हालेका कार्यकारी अधिकृत गणेशप्रसाद दाहालले यो प्रस्तावलाई सहर्ष स्वीकार गर्नुभएको थियो । उहाँले पुरस्कार प्रदान गर्न र कार्यक्रम सञ्चालनका लागि तत्काल केही रकमको पनि जोहो गरिदिनुभएको थियो । त्यो पहल र प्रयत्नपछि इटहरीमा इटहरी काव्य पुरस्कारद्वारा छन्द विधाका स्रष्टालाई सम्मानित र पुरस्कृत गर्ने कार्य प्रारम्भ भएको हो ।

कार्यकारी अधिकृत गणेशप्रसाद दाहालले नगरपालिकाको नीति, कार्यक्रम तथा बजेटमा विधिवत् यो इटहरी काव्य पुरस्कारलाई प्रवेश गराउने र अक्षय कोषको स्थापना गरिदिने प्रतिबद्धता प्रकट गर्नुभएको थियो । तर, तत्कालीन अध्यक्षको नाताले म कृष्णविनोद लम्साल नगरपालिकामा प्रस्तुत गर्ने प्रयास अपुग भएको स्वीकार्दछु । कार्यकारी अधिकृतको वचनबद्धता कार्यान्वयन गराउन नसकिएको व्यहोरा अध्यक्षका नाताले मैले स्वीकार्नै पर्छ । स्थानीय निर्वाचन नहोउञ्जेल इटहरी नगरपालिकामा आएका सबैजसो कार्यकारी अधिकृतहरुबाट पुरस्कार राशिका लागि सहयोग हुँदै आएको हो ।

तर, स्थानीय निर्वाचन भएर इटहरीमा चुनिएर आएका प्रमुख, उपप्रमुखलाई इटहरीको साहित्यिक सांस्कृतिक गतिविधि र ‘इटहरी काव्य पुरस्कार’ बारे यथेष्ट जानकारी गराउन अथवा ब्रिफिङ गर्न नपाउँदा केही मनमुटावको अवस्था आएको हो । त्यसो त इटहरी उप–महानगरपालिकाको हाताभित्र बनेको सांस्कृतिक भवनको यथार्थ नकेलाई त्यो भवनलाई नगरपालिकाको प्रशासनिक भवनमा रुपान्तरण गर्यो । पुस्तकालय क्षतविक्षत पारेर मर्नु न बाँच्नुको दोधारमा पुर्याएको कुरा इटहरीका साहित्यकार बिर्सन मान्दैनन् । इटहरी नगरका प्रमुख, उपप्रमुख र इटहरीका साहित्यकारहरु बीचको कालो पर्दा अझ राम्ररी उघ्रिन सकेको छैन । इटहरीको जागरणमा पुस्तकालयको महŒव र यहाँको साहित्यिक सांस्कृतिक पक्षको इतिहासको हेक्का प्रमुख, उपप्रमुखले नराखिदिँदा यस्तो भएको हो भन्दा लाञ्छना लगाएको नठहर्ला ।

तर, इटहरी उपमहानगरपालिकाको सातौं नगरसभामा भाषा, साहित्य, कला र इटहरी क्षेत्रमा सम्पत्तिको रुपमा रहेको भाषा, कला र साहित्यको सर्वाङ्गीण विकासलाई सुदृढ गर्न नगरस्तरमा नगरप्रमुख संरक्षक र उपप्रमुख सह–संरक्षक रहने गरी आगामी आ.व.मा इटहरी भाषा, कला र साहित्य सिर्जना परिषद्, प्रतिष्ठान गठन गरिनेछ । इटहरी क्षेत्रमा विभिन्न विधामा उत्कृष्ट योगदान गर्ने सर्जकलाई पुरस्कार र सम्मान प्रदान गर्ने कार्यको थालनी गरिनेछ भन्ने नीति कार्यक्रम र बजेट वक्तव्यले आशाको टुसो पलाएको छ । इटहरी काव्य पुरस्कारबाट अहिलेसम्म अमृत आचार्य, प्रह्लाद पहरेदार, मान बज्राचार्य, कविराज पोखरेल, सोमराज ‘अभय’, डम्बरुवल्लभ भण्डारी, रोहित पराई, मेनुका चापागाईं र छवि वैरागी घिमिरे पुरस्कृत सम्मानित भइसक्नुभएको छ ।

इटहरीमा प्रदान गरिने पुरस्कार र सम्मानका कुरा गर्दा इटहरीका यातायात व्यवसायी कृष्ण प्रधानको सडक दुर्घटनामा मृत्यु भएको हुँदा उहाँका नाममा ‘कृष्ण प्रधान सिर्जना पुरस्कार’ वितरण गरियो । उहाँकी श्रीमती राधा प्रधान र तत्कालीन इटहरीका बस मजदुरहरुले खोलेको संस्थाबाट समेत अक्षयकोष स्थापना गर्न यस संस्थाको खातामा रकम जम्मा भएको छ । यसैगरी इटहरी साहित्यिक समूहका संस्थापक अध्यक्ष धरणीधर दाहालको स्मृतिमा उहाँका छोराछोरीका तर्फबाट खर्च व्यवस्थापन तथा इटहरी साहित्यिक समूहको आयोजनामा धरणीधर दाहालको जन्मदिवसमा प्रत्येक फागुन ५ गतेका दिन ‘धरणीधर स्मृति पुरस्कार’ का नामबाट वितरण हुँदै आएको छ । यो पुरस्कार २०७१ साल फागुन ५ गतेदेखि प्रारम्भ भएको हो ।