•  खेवाहाङ मेवाहाङ

सङ्खुवासभा / पाँच वर्षअगाडि अर्थात् २०७२ साल वैशाख १२ गते गएको भूकम्प सम्झिँदा सबैको आङ नै जिरिङ्ग हुन्छ । त्यो दिनको भूकम्प अनि त्यसपछिका विभिन्न पराकम्पका कारण धेरै धन जनको क्षति भएको थियो । कतिपय ठाउँमा चिरा पर्ने, घरहरू भत्किने तथा मान्छे तथा पशुपक्षीहरूसहितको ज्यान गएको दुःखद् घटनाले पिरोलिरहन्छ ।

भूकम्पले गाउँ नै चिरा–चिरा परेपछि गाउँमा दिन अनि रात कटाउन समस्या झेलिरहेका सिलिचोङ गाउँपालिका वडा नं. ३ ताम्कु साप्तेलका १३ परिवारले लालपुर्जा पाएका छन् । गाउँ नै चिरा–चिरा परेपछि हिउँदमा त जसो–तसो दिन बिताउन सकिए पनि वर्षायाममा डरैडरमा बस्नुपर्ने साप्तेलबासीको बाध्यता छ । उनीहरू अब एकीकृत बस्तीको रूपमा निर्माण गरिएको साविक वडा नं. ४ मानेडाँडामा बस्ने भएका हुन् । मानेडाँडामा बस्ती बसाउनको लागि निःशुल्क रूपमा उनीहरूले जग्गा पाएका छन् । जग्गाको लालपुर्जा पाएपछि उनीहरू खुसी हुँदै भूकम्पबाट बचेको ज्यान अब सुरक्षित हुनेमा आशावादी छन् ।

सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका वडा नं. ३ साविक ताम्कु–८ साप्तेल बस्तीका १३ परिवारले घर बनाउनको लागि मानेडाँडाको जग्गामा लालपुर्जा पाएका हुन् । भूकम्प गएपछि डरमर्दो दिनहरू बिताइरहेका उनीहरूको घर अब मानेडाँडामा बन्ने भएको हो । सिलिचोङ गाउँपालिकाकाको पहलमा जिल्ला आयोजना कार्यान्वयन एकाइले जग्गा खरिद गरेर लालपुर्जा वितरण गरिएको छ । भूकम्पबाट जग्गा–जमिन गुमाएका साप्तेलका १३ घरपरिवारलाई साढे १८ रोपनी जग्गा निःशुल्क प्रदान गरिएको हो । आत्मनिर्भर सेवा केन्द्र (दिगो समाधान) को प्राविधिक सहजीकरणमा जोखिमयुक्त बस्तीको रूपमा पहिचान भएको पहिरो र भूकम्प पीडितलाई सिलिचोङ–३ को मानेडाँडामा जग्गा व्यवस्थापन गरिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट जग्गा–जमिन गुमाएकालाई निःशुल्क जग्गा उपलब्ध गराएपछि पीडितहरू खुसी भएका छन् । १३ परिवारलाई एकीकृत बस्तीको रूपमा व्यवस्थापन गरेको छ । प्राधिकरणले ती परिवारका लागि सडक, पानी, बिजुली पनि उपलब्ध गराउने भएको छ ।

भूकम्प पीडित परिवारलाई दिइएको जग्गा १० वर्षसम्म बिक्री वितरण नहुने गरी मालपोत कार्यालयमा रोक्का राखिनेछ । साप्तेलका १३ परिवारले पाएको जग्गा धनीपुर्जा बुझ्दै गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले सिलिचोङका जोखिमयुक्त ठाउँमा भएका बस्तीहरूलाई सकेसम्म एकीकृत गर्दै जाने बताएका छन् । जोखिमयुक्त बस्ती पहिचान भएका लाभग्राहीलाई सुरक्षित स्थानमा जग्गा खरिद गर्न सरकारले प्रतिघर दुई लाख अनुदान दिँदै आएको छ ।

एकीकृत बस्तीमा जोड
सिलिचोङ गाउँपालिका वडा नं. ३ साप्तेलका १३ परिवार मानेडाँडामा आउने भएसँगै पुनर्वासको रूपमा एकीकृत बस्ती थपिएको छ । जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानमा बस्ती सार्ने साथै एकीकृत बस्ती विकासमा जोड दिइएको अध्यक्ष कुलुङले बताए । एकीकृत बस्ती निर्माण गर्दा विकास तथा सेवा सुविधाको हिसाबले पनि सहज हुने साथै जोखिम मोल्न नपर्ने उनको भनाइ छ ।

योभन्दा अगाडि मानेडाँडाको केही तल मानेटारमा बस्ती बसाइसकिएको छ । जुन बस्तीमा सिकिदिमका पहिरो पीडितलाई पुनर्वास गराइएको हो । एक दशकअघि सिलिचोङको सिकिदिम गाउँ नै पहिरोले बगाएपछि पुनस्र्थापना गरिएको मानेटार पुनर्वास हो । २०६६ साल साउन १२ गते तत्कालीन ताम्कु गाविस वडा नम्बर ९ सिकिदिम गाउँ नै पहिरोले बगाएपछि ६२ परिवारलाई साविक ताम्कु–४ मानेटारमा सारिएको थियो । अविरल वर्षाको कारण गाउँ नै बग्ने गरी पहिरो गएपछि १३ जना बेपत्ता भएका थिए भने ४ जना घाइते भएका थिए । यसरी पहिरोले विस्थापित बनाएपछि ताम्कुको मानेटारमा सारेर त्यहाँ एकीकृत नमूना बस्तीको रूपमा विकास गर्ने गाउँपालिका अध्यक्ष कुलुङले बताए । मानेटार र मानेडाँडा नाम फरक भए पनि दूरीको हिसाबले केही तल र केही माथि मात्रै पर्ने भएकोले अब दुवै बस्तीलाई एकीकृत नमूना बस्तीको रूपमा विकास गरिने उनको भनाइ छ ।

सिलिचोङ गाउँपालिकाको मानेटार र मानेडाँडा पर्यटकीय सम्भावनासमेत बोकेका क्षेत्र हुन् । यहाँ आकर्षक बस्ती निर्माण गरेर व्यावसायिक होम–स्टे सञ्चालन गर्नसकेमा आर्थिक तथा पर्यटन विकासमा टेवा पुग्ने देखिन्छ । मानेटारनजिकै चर्चित धार्मिकस्थल साल्पाधाम, लामपोखरी, सुर्के डाँडा र नागीटार रहेका कारण पनि पर्यटकीय सम्भावना बढी छ । जसको लागि स्थानीय तह तथा सरोकारवालाहरूले ध्यान दिन जरुरी छ ।