म जाँच दिन बसेको थिएँ । सबैजना भन्दै थिए, यो कोरोना विरुद्धको जाँच हो । पास भइयो भने कसैले पनि क्वारेण्टिनमा बस्नु पर्दैन । एउटा सिट बराबर एक जना बसेका थियौँ । हामी सबैको हातमा कलम र कापी थियो । खुसीको कुरा त हामी बालक थियौँ । त्यहाँ मेरो बाल्यकालको अति मिल्ने एक जना तामाङ साथी पनि थियो । जोसँग म सानैमा स्कुल जाँदा टोपी साटेर लाउँथेँ । ऊ मेरो अगाडिको सिटमा परतिरपट्टि नबोली बसेको थियो । हामी सबै मनले उत्तिकै त्रसित र भयभित थियौँ । यो जाँच कसरी पास गर्ने होला ? पास नगरे हामी पास नगर्ने जतिलाई कोरोना लागेको ठहर्नेछ । कोरोना पुष्टि नभए पनि त्यससँगसँगै हामीले १४–१५ दिनसम्म चुपचाप नाइँनास्ती नगरी क्वारेण्टिनमा बस्नु पर्नेछ । आश्चर्यको कुरा कसो–कसो मेरा आँखा भुइँतिर ओर्लिए । हामी भर्खर जोतेको बाँझो जमिनमाथि बसेका थियौँ । त्यहाँ पाखुराजस्ता सखरखण्ड माथिबाटै लडिरहेका थिए । हामी ती सखरखण्ड टिपेर त्यही माटोमुनि लुकाउँदै थियौँ । भोक लागेको बेला खान हुन्छ भनेर मनमनै सोच्दै पनि थियौँ । अर्को आश्चर्यको कुरा हामी त्यो जाँच दिन आउँदाजाँदा नै रेलमा चढेका थियौँ । त्यो ठाउँ यसो विचार गर्दा नेपालजस्तो लाग्दैनथ्यो । कताकता त्यो इण्डियाको कुनै ठाउँजस्तो लाग्थ्यो ।
रेलमा पनि हामी एउटा सिटमा एकजना मात्र बसेका थियौँ । सिट एउटा–एउटा सिङ्गल नै थिए । हामी चढेको रेल जति–जति छिटो दौडन्थ्यो । उति–उति घुम्दै ठूला–ठूला रूख हाम्रो अगाडि आउँथे । हामी आङ सिरिङ्ग्ग पाथ्र्यौं । सिधै हामीसँग ठोक्किन आए झैँ लाग्थ्यो हामीलाई ती रूख तर नजिक आएपछि रेल आफै तर्किन्थ्यो र हामी बाँच्थ्यौँ । पहाड जस्तो पनि थियो त्यो ठाउँ । जङ्गल पनि थियो त्यहाँ । अरे ! यस्तो पहाडको जङ्गल बीच पनि रेल कुदेको ! हामी मनमनै आश्चर्यचकित भएका थियौँ । बाटो पनि बाँङ्गोटिङ्गो थियो । सायद रेलको लिक पनि घुमेकै थियो । कस्तो कठिन यात्रा हो यो ! बीचमा कोही बाल्दैनथ्यो । म सोच्दै थिएँ । अब हामीले कहिल्यै यसरी यस्तो कोरोना विरुद्धको जाँच दिन आउनु पर्ने छैन ।
यो नै हाम्रो पहिलो र अन्तिम जाँच हो । यदि मलाई कोरोना लागेको रहेछ भने मैले के गर्ने होला ! मेरो एउटा सानो ३ वर्षको छोरो छ । मैले उसलाई आफू र अरूहरूलाई पनि कोरोनाबाट बचाउनु छ । यो कस्तो जाँच हो । यो कोरोना विरुद्धको जाँच पास गरियो भने क्वारेण्टिनमा बस्नु नपर्ने ! कस्तो आश्चर्यको कुरा । प्रश्नहरू पनि मलाई राम्रोसँग याद छैन । केही याद भएका प्रश्नहरू कोरोनाबाट बच्न के गर्नु पर्छ ? यसका मुख्य लक्षणहरू के के हुन् ? यो कस्तो रोग हो ? यो कसरी एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ ? यो रोग लागिसकेपछि तपाइँ के गर्नुहुन्छ ? यस्तै–यस्तै थिए । मलाई यी सब प्रश्नको उत्तर दिन कुनै गाह्रो थिएन । यद्यपि म कोरोनाबाट त्रसित थिएँ । म सोच्दै थिएँ । यदि मलाई कोरोना लागेको रहेछ भने पनि मेरो छोरालाई नलागोस् । मेरो परिवारलाई नलागोस् । मेरा छर–छिमेक र आफ्ना–आफन्त कसैलाई पनि नलागोस् । कसैलाई नलागोस् भन्दाभन्दै पनि नेपालमा सङ्क्रमितको सङ्ख्या ६,२०० पुग्दा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको थियो भने विश्वमा सङ्क्रमितको सङ्ख्या ८१,००००० भन्दा बढी । मर्नेको सङ्ख्या पनि ४,३९,००० नाघ्यो ।
भरखरै क्वारेण्टिनमा बसेकी एक महिलामाथि भएको बलात्कारको घटनाले रातभरि निद्रा लागेन । मुख्य कुरा सुरक्षाको हो । क्वारेण्टिनभित्रै लुटिनु भनेको सामान्य कुरा होइन । किन घट्छन् यस्ता अस्वभाविक र असामान्य घटना ! त्यो पनि सार्वजनिकस्थलभित्रै । एउटा पीडामाथि अर्को पीडा किन थपिन्छ ? पर्तिर भेला भएका दुई–चार जनामध्येबाट कड्किँदै थिइन् एक महिला । न्यायका निम्ति पीडितका तर्फबाट अरूहरू होमा हो सही थप्दै थिए । एउटा विचारलाई दुबो जस्तो जताबाट पलाउन खोज्छ, त्यतै–त्यतै ढुङ्गो सारी–सारीकन किन किचिन्छ ! देश कोरोनाको त्रासले आक्रान्त छ । कति लागुन् सरकार विरोधी नारा । कति लागुन् जातीय विभेद विरुद्धका नारा । कति लागुन् महिला हिंसा विरुद्धका नारा ।
कति लागुन् भ्रष्टाचार विरोधी नारा यो दुःखको घडीमा । देशमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनमा दुईगुना रातमा चारगुणाले बढिरहेको छ । मानिसहरू रोग र भोक दुवैले आक्रान्त हुन लागे । मानिसको घरमा चुलो जल्न छोड्यो । ढुङ्गामाटो खान हुने भए खान थाल्थे । हामीलाई पो उति गाह्रो भा’छैन त । जेनतेन अहिलेसम्म थेगिएको छ । यहाँ मान्छेको खान नपाएर विजोग हुन लागिसक्यो । अब त सपनीमा पनि रोग र भोककै भूतले तर्साउन थाल्यो । नसम्झौं एकछिन भान्सामा हुँदा त भन्यो सम्झिहालिन्छ । सम्झिँदा–सम्झिँदै टोलाउन थालिँदो रहेछ क्यार । कहिले तताउन बसाएको दूध उम्लेर जान्छ । कहिले भात–तिहुन नै डढेर भुसुक्कै हुन्छ । अस्ति एक दिन त पानी तताउन बसाएर कता हिँडेछु । भरे सम्झेर आउँदा त पानी सुकेर भाँडोमै आगो उठ्न आँटेको रहेछ । कति दिनलाई खाना पकाउन पुग्ने ग्यास चट् । अब त आफैदेखि आफैलाई अचम्म लागेर आउन थालिसक्यो ।
एउटा छोरो विदेशमा थियो । अस्तिसम्म त फोन गर्दै थियो । अहिले त सम्पर्कमै छैन । त्यो पनि भन्दै थियो । काम पनि छैन । दाम पनि छैन । घर फर्कने उपाय पनि छैन । खान नपाएकै कति दिन भइसक्यो । १५ दिनपछि हिजो रुँदै फोन गरेथ्यो । घर फर्कन पैसा छैन । उसैले कमाएर पठाएको २–४ पैसाले घरमा भात खाइँदै थियो । हिँजोदेखि सरकारले दिएको राहत पनि सकियो । म बूढी मान्छे अहिले दाग्दरमा जाने हो भने १५ ओटा जति होलान् रोग । खुट्टा टेक्न सकेकी छैन । अस्ति एक रात त तातो पानी मात्रै पिएर काट्यौँ ।
पानीले पखालेजस्तो भा’छ घर । कति छाक चिउरा र बिस्कुटले टारेँ । म बूढी त खाए पनि नखाए पनि बिहान बेलुका रोएर नाति–नातिनाले घर उचाल्छन् । घरै छोडेर कता जानु जस्तो बनाउँछन् । यो कोरोनाले पनि गर्नुसम्म ग¥यो । बनीबुतो गरेर भए पनि दुई छाक भात त खाइँदै थियो । कति दिन अर्कासँग हात थापेर खानु । दिनेले पनि कति दिउन् ! ऐँचोपैँचो भनेको पनि कहिलेकाहीँ पो हुन्छ त । सधैँ दिइरहने कुरा आउँदैन । ऐँचोपैँचो चलाउने ठाउँ पनि बाँकी छैन अब त । ऋण काढ्न पनि पत्याउन छोडे । यस्तो बेला ऋण पनि कसले दिने ? सर–सापट पनि दिने र पाइने ठाउँमा चलाइसकियो । यहाँ पो म मात्रै छु त यस्तो अप्ठ्यारोमा । म जस्तो समस्यामा परेका यो देशमा अन्त कति छन् कति । ठूलो चाहिँ नाति स्कुल कहिलेदेखि लाग्छ ? भनेर खुरुन्दार गरिराको छ । अब लकडाउन खुलेपछि भनेर टारिरछु । म बूढीलाई के थाहा ! जाँच कहिले हुन्छ ? भनेर खे¥याखे¥यै गर्छ । कहिले भन्नु ? त्यो पनि लकडाउन खुलेर स्कुल लाग्न थालेपछि भन्द्याछु । के भन्नु ।
आज २ असार २०७७ अब यो ११ गते लकडाउन भएको ठ्याक्कै ३ महिना पूरा भएर ४ महिना लाग्छ । त्यो चाहिँ बिर्सेकी छैन । अभाव र दुःख–कष्टका दिन गन्ती हुन् यी । के गर्नु जिन्दगीमा जे–जे आइपर्छ त्यो भोग्नै पर्दाेरहेछ । नभोगी सुख छैन । जीवनमा यस्तै अभाव, दुःख–कष्ट र पीडाका दिनहरू गन्दै चाउरी परेको हो यो ज्यानको छाला । संसार के रहेछ र ! न जन्मदा कोही थियो । न मर्दा कोही हुन्छ ! अघिपछि भएर मात्र पो हामी छौँ त ! यतिका मान्छे मरे । कोरोना–कोरोना भन्छन् सबै खै काँबाट आइलाग्यो, आइलाग्यो यो दशा । यतिका वर्षकी भएँ म बूढी खै यस्तो त जानेको थिएन ।